ad ad

कला


चलचित्र विकास बोर्डको अध्यक्ष बन्न दिनेशदेखि करिष्मासम्म आकांक्षी

दिनेश डीसी भन्छन्- मेरो सिफारिस भइसक्यो
चलचित्र विकास बोर्डको अध्यक्ष बन्न दिनेशदेखि करिष्मासम्म आकांक्षी

लक्ष्मी बलायर
साउन १३, २०८१ आइतबार १३:५७, काठमाडौँ

अभिनेता भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्ष पदबाट बिदा भइसकेका छन्। २ वर्षे कार्यकाल सकिएपछि बिहीबार मात्रै बोर्डबाट उनलाई बिदाइ गरिएको हो। उनी बिदा भएपछि अध्यक्षको खाली कुर्सीमा को आउला त? सिनेवृत्तका लागि अहिले यो चासोको विषय बनेको छ। 

केसीको कार्यकाल सकिएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यसै साता बोर्डको नयाँ नेतृत्वको लागि प्रक्रिया अगाडि बढाउँदै छ।मन्त्रालयका अनुसार, करिब डेढ महिनाभित्रै बोर्डको नयाँ अध्यक्ष चयन गरिनेछ।

चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ तथा यसै ऐनअन्तर्गत बनेको नियमावलीमा बोर्ड अध्यक्षको योग्यता तोकिएको छैन। तर, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति तथा मनोनयनसम्बन्धी मापदण्ड, २०७३ मा भने चलचित्र विकास बोर्डका अध्यक्ष बन्नका लागि केही मापदण्ड राखिएका छन्।

उक्त मापदण्डमा चलचित्र विकास बोर्डको अध्यक्ष बन्न ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको व्यक्तिले दरखास्त दिन पाउने उल्लेख छ।

कुनै विषयमा स्नातक तह उत्तीर्ण गरेको भए नेपाली फिल्म उद्योगको स्थापना, विकास, संरक्षण, संवर्धन तथा प्रवर्धनमा निरन्तर रूपमा कम्तीमा १० वर्ष कार्य गरेको हुनुपर्ने मापदण्ड छ। 

प्रवीणता प्रमाणपत्र वा सो सरह उत्तीर्ण गरेको भए यस क्षेत्रमा कम्तीमा २० वर्ष कार्य गरेको हुनुपर्ने लेखिएको छ।

औपचारिकताको लागि आवेदन माग गरे पनि अन्तिममा सरकारले राजनीतिक निकटताका आधारमा नियुक्त गर्ने यसअघिको प्रचलन छ।

यसअघि भुवन केसी कांग्रेसमा प्रवेश गरेपछि कांग्रेस नेतृत्वको सरकारले अध्यक्ष बनाएको थियो। निवर्तमान अध्यक्ष केसीले अब उमेर हदका कारण आवेदन दिन पाउने छैनन्।

यसपटक नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकार भए पनि प्रधानमन्त्री र सञ्चार मन्त्रालयको नेतृत्वमा एमाले रहेका कारण एमालेबाटै नियुक्ति हुने सम्भावना बढी छ।

अध्यक्ष पदको लागि सत्तारुढ एमालेनिकट चलचित्रकर्मीहरूले दौडधुप पनि सुरू गरिसकेका छन्।

अहिले चलचित्र विकास बोर्डको अध्यक्ष बन्ने दौडमा निर्देशक दिनेश डीसी, अभिनेत्री करिष्मा मानन्धर, निर्देशक दयाराम दाहाल, निर्माता अर्जुनकुमार डंगोल, निर्माता तथा हल सञ्चालक नरेन्द्र महर्जन रहेका छन्। 

डीसी एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलनिकट मानिन्छन्। उनी पोखरेलमार्फत् अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसम्म पहुँचका लागि प्रयासरत छन्।

यसअघि पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री छँदा नै एमालेले डीसीका लागि जोडबल गरेको थियो।

स्वयं डीसी पनि एमालेनिकट जनसांस्कृतिक महासंघले पार्टीमा आफ्नो नाम सिफारिस गरिसकेको बताउँछन्। नेपालखबरसँगको कुराकानीमा उनले भने, ‘मेरो नाम सिफारिस भइसकेको छ। सञ्चार मन्त्रालयले सूचना प्रकाशित गरेपछि आवश्यक प्रक्रिया पूरा गर्ला। मन्त्रिपरिषद्बाट नियुक्ति हुन्छ।’

सञ्चारकर्मी तथा कलाकारसमेत रहेका डीसीले दाइको ससुराली, सावधान, मायाज बार, फूलैफूलको मौसम तिमीलाई, छ एकान छ जस्ता फिल्म निर्देशन गरेका छन्।   

त्यसैगरी, अर्जुनकुमार डंगोल एमाले नेता विष्णु रिमालनिकट मान्छिन्। दुवैको गृहजिल्ला नुवाकोट हो। रिमाल प्रधानमन्त्री ओलीका मुख्य सल्लाकार हुन्। 

भुवन केसीभन्दा अगाडि निर्देशक दयाराम दाहाल एमालेकै सिफारिसमा बोर्ड अध्यक्ष बनेका थिए। उनको कार्यकालताका कोरोना महामारी भएकाले धेरै काम गर्न नपाएको उनको भनाइ छ। त्यही कारण एकपटक फेरि अध्यक्ष बन्ने चाहना रहेको भन्दै उनले पनि लबिइङ गरिरहेको पाइन्छ।

अभिनेतृ करिष्मा मानन्धर प्रधानमन्त्री ओलीनिकट छिन्। २०७८ चैत ताका एमालेमा प्रवेश गरेकी उनी पनि चलचित्र विकास बोर्डको अध्यक्षका लागि आकांक्षी रहेको उनीनिकट कलाकारहरू बताउँछन्। यसबारे बुझ्न खोज्दा मानन्धरले प्रतिक्रिया दिन चाहिनन्। 

२०४२ सालमा सन्तान चलचित्रबाट अभिनयमा प्रवेश गरेकी उनले त्यसयता दर्जनौँ फिल्म खेलिसकेकी छन्। एक समयकी ‘हिट’ नायिका मानन्धर ५ वर्षभन्दा बढी अमेरिका प्रवासनमा रहिन्। फर्केर आएपछि पनि उनी चलचित्रसँगै राजनीतिमा पनि सक्रिय छिन्। एमालेमा प्रवेश गर्नुअघि उनी बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा पनि केही समय क्रियाशील रहेकी थिइन्।

अमेरिकाबाट फर्केर आएपछि नै उनले एसईई र प्लस टु अध्ययन गरिसकेकी छन्। त्यसैले चलचित्र विकास बोर्डको अध्यक्षका लागि उनको योग्यता पनि पुग्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .