कला


भृकुटी मण्डपमा नेपथ्य साँझ

भृकुटी मण्डपमा नेपथ्य साँझ

नेपालखबर
फागुन १८, २०७६ आइतबार ७:१३,

शनिबार बेलुकीको ठीक पाँच बजेदेखि मञ्चको पृष्ठ भागमा घडीको संकेत देखिन सुरुभएको थियो। त्यतिबेलै बाहिर प्रदर्शनीमार्गमा दर्शकहरुको चहलपहल बढ्दै गएको देखिन्थ्यो।

केहि अन्तरालपछि भृकुटी मण्डपको बगैँचामा काठमाडौंका दर्शकहरुसँग साक्षात्कार गर्न उभिएको लोक रक ब्याण्ड नेपथ्यले निर्धारित समय अनुसारै ठीक छ बज्नेबित्तिकै मञ्चमा पाइला राख्यो। सुरुको प्रस्तुती ब्याण्डकै पहिलो रेकर्डेड गीत थियो –

‘आँगनै भरि हिउँ नै झरे
आरु फूल है टिपि राखे है’

नेपथ्यका स्थापनाकालीन सदस्यहरु र ब्याण्डकै प्रारम्भिक दिनहरुको झल्को तस्बिरहरुमा देखाउँदै प्रस्तुत भएको उक्त गीतसँगै मुख्य गायक तथा अगुवा अमृत गुरुङले एकपछि अर्को सर्वकालीक हिट गीतहरु सुनाउँदै गए।

‘भुकम्पले भत्काइदिएको दोलखाको सरकारी स्कुल पुननिर्माणका निम्ति आयोजना भएको यो कार्यक्रममा तपाइँहरुको मनकारी सहभागीताको निम्ति नेपथ्यको तर्फबाट हार्दिक धन्यवाद ब्यक्त गर्दछु,’ अमृतले भने, ‘देसका धेरै वालवालिकाहरु अहिले पनि शिक्षाबाट बन्चित छन्। हामी सबै मिलेर सबैलाई शिक्षित बनाउन हातेमालो गरम् है।’

अमृतले उनको परिचित शैलीमै पछिल्लो ‘है’लाई लेघ्रो तानेर चिच्याउँदा भृकुटी मण्डपको बगैँचामा उपस्थित हजारौं दर्शकले पनि उसैगरि उनलाई साथ दिएका थिए।

कन्सर्टमा काठमाडौंका दर्शकहरुलाई अमृतले पहिलोपटक ब्याण्डको ‘नैना ताल’ गीत सुनाएका थिए।

nepathya2

लडाइका निम्ति विदेशिएका लाहुरेहरुले रमाइलो गर्ने बेलामा गाउँदै आएको यो गीत अमृतले उनको मामाबाट सुनेका थिए। त्यसैलाई परिमार्जनसहित नेपथ्यले आफ्नो पछिल्लो अल्बममा समावेश गरेको छ। गीतको बोलले भन्छ–

‘नैना ताल नैना ताल
घुमिआयो रेल
आँखामा लाउने कालो गाजल
बुलबुलेमा तेल
नैनाताल’

झमझमी नाच्ने भाकामा तयार भएको यो गीत सुनाएपछि अमृत केहिबेर मुलुकको परिस्थितीलाई लिएर राजधानीका दर्शकहरुसँग बात मार्न इच्छुक देखिए।

‘हाम्रा अगुवाहरुलाई धेरै गरेँ झैँ लाग्छ होला तर देसको हालत सबैतिर लथालिंग देखिन्छ है,’ फुर्सदको समय प्रायः मुलुकका विभिन्न भाग पैदलै डुलिहिँड्ने उनले थपे, ‘हामी सबैले गाउँ, सहर, टोलका नेतृत्व वर्गलाई सच्चिने सुझाव दिउँ है। नसच्चिए समय र सचेत जनताले कसैलाई पनि छुट दिनेछैन। सबै मिलेर जिम्मेवारहरुलाई सच्चिनुहोस् भनम् ह...ई।’

त्यसपछि फेरि ब्याण्डका नयाँ पुराना गीतहरुको श्रृंखला चलेको थियो। सँधै झैँ यसपाला पनि ‘छेक्यो छेक्यो’, ‘रेश्शम’, ‘भेँडाको ऊनजस्तो’, ‘जोमसोमे बजार’, ‘उडायो रेलै ले’ हुँदै पछिल्लो समय जताततै बज्दै आएको ‘तालको पानी’ सम्म गाएर सुनाइएको थियो।

कार्यक्रममा अमृतले पैदल यात्राका क्रममा फेलापरेका तथा तयार पारिएका कतिपय गीत पनि गाएर सुनाएका थिए। त्यसैबेला उनले दर्शकहरुलाई नेपाल घुम्ने सुझाव पनि दिए।

‘तपाईलाई नेपालको माया लाग्छ भने सबैतिर प्रेम फैलाउँदै आफ्नो देस घुम्न नछाड्नु होला,’ उनले भने, ‘अहिले धेरैतिर बाटो, पुल बनेका छन् त्यसैले घुम्न पहिलेजस्तो गाह्रो छैन।’

तराइमा पहेलैँ तोरी, उत्तरमा सेतै हिमाललाई पहिले नेपालीहरु आफैँले घुमेर चर्चा गर्ने हो भने बल्ल संसारभरबाट अरु पनि घुम्न आउने जानकारी उनले दर्शकलाई दिए।भूकम्पले भत्किएपछि अहिलेसम्मै निर्माणाधिन अवस्थामा रहेको दोलखाको भिमेश्वर नगरपालिका–२ स्थित राजकुलेश्वर निम्न माध्यमिक विद्यालयको सहयोगार्थ ‘हेल्प नेपाल नेटवर्क’सँग मिलेर यो कन्सर्ट आयोजना गरिएको थियो। उद्देश्य अनुसारै कन्सर्टलाई ‘शिक्षाको लागि संगीत’ नाम दिइएको थियो।

२०७२ सालको विनाशकारी महाभुकम्पका बेला नेपथ्य ब्याण्डले प्रधानमन्त्री राहतकोषमा दुईपटक गरेर सोझै दस लाख रुपैयाँ र विदेशका केहि कन्सर्टहरुबाट उठेको रकमसमेत उतैबाट समर्पित गरेर झण्डै चालिस लाख रुपैयाँको योगदान दिएको थियो। त्यसैको निरन्तरता यो कन्सर्ट पनि भएको जानकारी ब्याण्डको व्यवस्थापन गर्दैआएका किरणकृष्ण श्रेष्ठले दिएका छन्।

ब्याण्डले भुकम्पलगत्तै अष्ट्रेलियाको मेलबर्न, जापानको टोकियो र संयुक्त अरब इमिरेट्सको दुबइमा आयोजित कन्सर्टबाट उठेको रकमलाई भुकम्प पीडितहरुकै सहयोगार्थ समर्पित गरेको थियो।

‘यो कन्सर्टबाट उठेको रकमले अब दोलखाका स साना स्कुले नानीहरुले पढ्ने ठाउँमा छानो पाउने भएका छन्,’ हेल्प नेपाल नेटवर्कका निर्देशक रोशेन्द्रध्वज खड्काले भने, ‘संगीतलाई यसरी लोक कल्याणकारी कार्यसँग जोड्न पाएकोमा असाध्यै खुशी लागेको छ।’

nepathya3

पूर्णतया स्वयंसेवाको भावले चलेको ‘हेल्प नेपाल नेटवर्क’ नेपालकै वृहद्मध्येको परोपकारी संस्था हो। मुलुकको ग्रामीण भेगमा स्वास्थ्य, शिक्षा र दैवीप्रकोपका क्षेत्रमा यस संस्थाले आफूलाई संलग्न गराउँदै आएको छ।

दोलखाको त्यस सरकारी स्कुल पुनःनिर्माण कार्यको २०७३ चैत १५ गते नै औपचारिक उद्घाटन भएता पनि यो अझै निर्माणाधिन अवस्थामा छ। स्वीकृति प्राप्त डिजाइन मुताबिक यो स्कुल भवन बनेपछि यसबाट तीनसय जना विद्यार्थीले भूकम्प प्रतिरोधी भवनमा पढ्ने अवसर पाउने छन्। आधारभूत सुविधाहरुले युक्त यो भवन परम्परागत नेपाली ढाँचामा बन्दैछ।

‘नेपथ्यले आफूलाई मनोरन्जनमा मात्र सीमित नराखेर सामाजिक दायित्वका क्षेत्रमा पनि धेरै अघिदेखि अग्रस्थानमा उभ्याउँदै आएको छ,’ ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङले भने, ‘दोलखाका स–साना नानीहरुमा समर्पित यो कन्सर्टले त्यसै उद्देश्यलाई निरन्तरता दिएको हो।’

मञ्चमा अमृतलाई सँधैझै ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad