ad ad

समाज


सिधाकुराको ‘फेक’ अडिओ प्रकरणमा ३ जनाविरुद्ध थप २ कसुरमा मुद्दा दर्ता

सिधाकुराको ‘फेक’ अडिओ प्रकरणमा ३ जनाविरुद्ध थप २ कसुरमा मुद्दा दर्ता

नेपालखबर
असार १४, २०८१ शुक्रबार १५:७, काठमाडौँ

सिधाकुरा डटकम अनलाइनका अध्यक्ष र कार्यकारी सम्पादकसहित तीनजनाविरुद्ध अर्को मुद्दा दर्ता भएको छ। 

ललितपुरको गोदावरी नगरपालिका-७, देवीचौर घर भई भक्तपुरको मध्यपुर थिमी बस्ने राजकुमार तिमल्सिना, बाग्लुङको काठेखोला गाउँपालिका-६ घर भई काठमाडौँ बस्ने सिधाकुरा डटकमका अध्यक्ष युवराज कँडेल र धादिङको नीलकण्ठ नगरपालिका-५ घर भई काठमाडौँ बस्ने सिधाकुरा डटकमका कार्यकारी सम्पादक नवीन ढुंगानाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको हो। 

उनीहरूविरुद्ध विद्युतीय कारोबार ऐन (साइबर क्राइम) र अपमानजनक व्यवहारसम्बन्धी कसुरमा मुद्दा दायर गरिएको छ। तीनै जनालाई फरार सूचीमा राखेर अदालतमा मुद्दा बुझाइएको हो। 

सर्वोच्च अदालतको आदेशपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सिधाकुराले डार्क फाइल नाम दिएर प्रसारण गरेको अडिओ (श्रव्य सामग्री) को अनुसन्धान गरेको थियो। उक्त अडिओ कृत्रिम रहेको निष्कर्षसहित प्रहरीले प्रतिवेदन बुझाएको थियो।

‘चार सय बढी भ्रष्टाचारका मुद्दा डिसमिस गराउने सर्वोच्च अदालतका न्यायाधीश सहभागी बैठकको स्टिङ अपरेसन’ शीर्षकमा प्रसारण गरेको अडिओ फेक रहेको अनुसन्धानको निष्कर्ष छ। यी तीन प्रतिवादीले सर्वोच्च अदालत र न्यायाधीशको मान प्रतिष्ठामा आँच पुर्‍याई अदालतप्रति नै भ्रम उत्पन्न गराई घृणा वा द्वेष फैलाउने कार्य गरेको अभियोगपत्रमा दाबी छ। 

यस्ता कार्य गरी विद्युतीय कारोबार ऐन, अन्तर्गतको कसुर गरेको, सर्वोच्च अदालत तथा न्यायाधीश र अन्य संलग्न भनिएका व्यक्तिलाई फैसलासँग जोडी गलत भिडिओ क्लिप तयार पारी प्रसारण गरेर अपमानजनक कार्य समेतको कसुर गरेको निष्कर्ष अभियोग पत्रमा छ। 

साइबर ब्युरोका प्रमुख नवीन्द अर्याल संयोजकत्वको छानबिन समितिले अडिओ क्लिपमा राजकुमार तिमल्सिना र उनले बताएका अधिवक्ता किशोरकुमार विष्टको सहायक भनी बताएको किशोर विष्टबीच नै अधिकांश संवाद भएको देखिएको थियो। 

तर अधिवक्ता किशोरकुमार विष्टले किशोर विष्ट नामको आफ्नो सहायक नभएको प्रहरीसमक्ष बताएका छन्। राजकुमार तिमल्सिनाले भनेजस्तो विष्ट त्यहाँ उपस्थितिको औचित्य पनि पुष्टि हुने आधार नदेखिएको अनुसन्धानको निष्कर्ष छ।

अडिओ क्लिप रेकर्ड गर्दा त्यहाँ उपस्थित भनिएका प्रमुख पात्रहरूको कुनै पनि संवाद नरहेको तथा उक्त अडिओ क्लिप रेकर्डकर्ता राजकुमार तिमल्सिनाको अडिओमा गरिएको संवादले विचाराधीन मुद्दाहरूमा के कसरी प्रभाव पार्न सक्छ भन्ने कुनै पनि वस्तुनिष्ठ आधार नदेखिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ। तिमल्सिनाले भनेको मितिमा समेत उक्त अडिओ रेकर्ड नभएको परीक्षणबाट पुष्टि भएको प्रहरीको दाबी छ। 

तिमल्सिनाले रेकर्ड गरेको दुई दिनपछि झापास्थित मोबाइल पसलमा अडिओ डाउनलोड गरेको बयान दिएका थिए। तर प्रहरीले झापाका सबै मोबाइल पसलमा सोधपुछ गर्दा कसैले पनि तिमल्सिनालाई नचिनेकोले उनले झुटा विवरण लेखाएको दाबी प्रहरीले गरेको छ। 

तिमल्सिनाको मोबाइलमा रहेको अडिओ वैशाख ५ गते बिहान ६ः१३ बजे उनकै मोबाइलमा रेकर्ड गरेको पाइएको छ। उक्त अडिओ २०८१ वैशाख ५ गते साँझ साढे ७ बजे डाउनलोड गरेको देखिएको छ। बिहान रेकर्ड गरेको अडिओ त्यसै दिन बेलुका सम्पादन गरेको फरेन्सिक ल्याबको रिपोर्टले पुष्टि गरेको छ। 

प्राविधिक रिपोर्टले तिमल्सिनाले घटना विवरण कागजमा खुलाएको कुरा झुटा भएको पुष्टि भएकाले तिमल्सिनालाई सजाय हुनुपर्ने माग गरिएको छ। 

यस्ता सामग्री प्रसारण गरेर सिधाकुराका अध्यक्ष कँडेल र कार्यकारी सम्पादक ढुंगानाको पनि कसुर पुष्टि हुने दाबी गरिएको छ।

विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ। यस्तै पीडितलाई उचित क्षतिपूर्ति भराइदिनुपर्ने पनि माग छ। 

अर्को, अपमानजनक वा अमानवीय व्यवहार गर्न नहुने कसुरमा ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था कानुनमा छ। कसुर गर्न प्रयोग गरिएका सम्पूर्ण सामग्री पनि जफत गर्न माग गरिएको छ। 

यी तीन प्रतिवादीविरुद्ध सर्वोच्चमा अदालतको अवहेलना मुद्दा विचाराधीन छ। उक्त मुद्दा अब ९ न्यायाधीशको इजलासमा पेस हुने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .