नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको ७ औँ संस्करण सुरु भएको छ।
एएफआई सिल्भर थिएटर हलमा नवीन सुब्बा निर्देशित नेपाली कथानक ‘गाउँ आएको बाटो’ स्क्रिनिङसँगै सुरु महोत्सवको औपचारिक सुरुवात भएको हो।
नेपाल, श्रीलंका, बंगलादेश, भुटान र माल्दिभ्सका लागि दक्षिण तथा मध्य एसियाली मामिला ब्यूरो हेर्ने अमेरिकी उपसहायक विदेशमन्त्री अफरिन अख्तरले महोत्सव उद्घाटन गरिन्।
अमेरिकी विदेश मन्त्रालयमा सुरक्षा र अन्तर्राष्ट्रिय मामिला कार्यालय समेत हेर्ने अख्तर धेरैपटक नेपाल आइपुगेकी छन्। सिनेमाले छरिएका विविधता र अन्तरसंस्कृतिक विश्वलाई जोड्न सक्ने बताउँदै अख्तरले एकअर्काको दृष्टिकोणलाई सम्मान गर्न सक्ने बताइन्।
‘गाउँ आएको बाटो’ फिल्मले युनिभर्सल कथा बोकेको र एकअर्काको संस्कृतिलाई जोड्ने बताउँदै उनले अमेरिकी विदेश मन्त्रालयले यसतर्फ काम गरिरहेको बताइन्।
समावेशी र खुला समाज निर्माणतर्फ फिल्ममेकरले योगदान दिने बताउँदै उनले यसका लागि अमेरिकाले सरकारमात्र नभएर फिल्म निर्मातासँग पनि सहकार्य गर्ने उनको भनाइ थियो।
अमेरिकाले नेपालसँगको सम्बन्धलाई मुख्य प्राथमिकतामा राखेको बताउँदै अख्तरले नेपालसँगको ७७ औं कूटनीतिक वर्षगाँठको सम्बन्धलाई मनाउन पाउँदा आफूहरुले गर्व महसुस गरिरहेको उनले बताइन्।
अमेरिकाले नेपालको आर्थिक वृद्धि र विकास, मानवअधिकार र लोकतन्त्र प्रवद्र्धन तथा दुई मुलुकका नागरिकबीच बलियो सम्बन्ध हेर्न खोजेको उनको भनाई छ। ‘यी तत्व दुई मुलुकको सम्बन्धका बलिया स्तम्भ हुन्’ अख्तरले भनिन्।
नेपाली डायस्पोराका राजनीतिज्ञ, फिल्ममेकर, फेसन डिजाइनरले नेपाली समाजमा वास्तविक प्रभाव पार्न सकेको उनले बताइन्।
अभिनेता राईले नेपाल अमेरिका फिल्म फेस्टिभलले अमेरिकामा नेपाली फिल्मको प्रवद्र्धनमा महत्वपूर्ण भूमिको खेलेको बताए। मेरिल्याण्ड राज्यका सांसद ह्यारी भण्डारीले पछिल्लो समय अमेरिकामा दक्षिण एसियाली समुदायको बलियो उपस्थिती रहेको बताउँदै यस्ता फेस्टिभलले महत्वपूर्ण भूमिका खेलेको सुनाए।
फिल्म स्क्रिनिङपछि निर्देशक सुब्बा र अभिनेता राईले दर्शकसँग प्रश्नोत्तर गरेका थिए। समारोहमा राई समुदायले साकेला प्रस्तुति समेत दिए।
फेस्टिभल समापन फिल्मको रुपमा ‘द रेड सुटकेस’ स्क्रिनिङ हुनेछ।
भेनिस फिल्म फेस्टिभलमा विश्व प्रिमियर भैसकेको यो फिल्मलाई फिडेल देवकोटाले निर्देशन र रामकृष्ण पोखरेलले निर्माण गरेका हुन्।
मेरिल्याण्ड राज्यमा जुन २३ सम्म हुने महोत्सवमा नेपाल, अमेरिका, इरान, जर्मनी, पाकिस्तानलगायत ११ देशका कथानक, वृत्तचित्र, सर्ट र एनिमेसन गरि ३५ फिल्म स्क्रिनिङ हुनेछन्।
यस महोत्सवलाई नेपाल अमेरिका फिल्म सोसाइटीले आयोजना गरेको हो। एएफआई सिल्भर थिएटर र ग्रीनबेल्ट थिएटरमा फिल्म प्रदर्शन र छलफल कार्यक्रम हुनेछन्।
महोत्सवमा सहभागि हुन नेपाल, जर्मनीसहित मुलुकका फिल्ममेकर भेला भएका छन्। फेस्टिभल आयोजक प्रमुख पूर्णसिंह बराइलीले महोत्सवलाई भव्य र प्रभावकारी बनाइएको र दर्शकसँग जोड्न काम भैरहेको बताए।
महोत्सव अवधिभर फिल्म र संस्कृति, महिला ‘प्यानल’मा छलफल, फिल्म निर्माणबारे मास्टरक्लास पनि संचालन हुने जनाइएको छ।
Shares
प्रतिक्रिया