लघु चलचित्र ‘भाउ’ (कस्ट अफ लिभिङ) ओटीटी प्लेटफर्ममा रिलिज भएको छ। विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरुमा छनोट भएको यो सर्टफिल्म कान्तिपुर सिनेमाज्मा स्ट्रिमिङ भएको हो।
ऐना आर्ट्सको युट्युब च्यानलबाट ‘भाउ’को टिजर रिलिज गरिएको छ। टिजरमा कवाडीवालाको कथा प्रस्तुत गरिएको छ। तराईबाट काठमाडौँ आएर कवाडीखानामा काम गर्दै जीवन गुजाराको लागि संघर्ष गरिरहेको एउटा मधेसी समुदायको सामान्य परिवार र राजधानीमा घर भएको दुई वर्गको अन्तरलाई टिजरमा देखाउन खोजिएको छ।
काठमाडौँ र भक्तपुरमा छायांकन भएको यस फिल्ममा सुवास गजुरेल मुख्य भूमिकामा छन्। जहाँ उनले कवाडीवालाको भूमिका निर्वाह गरेका छन्। सुजिता शाह, रेनुका कार्की र सुमन थापाको पनि फिल्ममा अभिनय छ।
भाउको लेखन तथा निर्देशन मोहन अभिलाषीले गरेका हुन् । लघुचलचित्रको छायांकन नारायण जिसीले गरेका हुन् भने सहायक निर्देशन करण साउदले गरेका छन्।
अंग्रेजी सबटाइटल सहित मैथिली र नेपाली भाषा प्रयोग भएको फिल्ममा भाषा अनुवाद राम श्रेष्ठ र आर के मेहेताले गरेका छन्। प्रोडक्सन म्यानेजमेन्ट नरेन भट्टराईले गरेका हुन्। सम्पादन गणेश बिसी र कलरिङ राकेश दाहालले गरेका छन् ।
‘भाउ’ इटालीको फेस्टिभल देल सिनेमा दि सेफलुको नोमिनेशन र जिम्वावेको भर्सिटी फिल्म एक्स्पोमा होनोरेवल मेन्सनमा परेको थियो। अमेरिकाको स्टुडेन्ट वल्र्ड इम्प्याक्ट फिल्म फेस्टिभल, जापानको पाँचौ मेइहोडो इन्टरनेशनल युथ भिजुअल मिडिया फेस्टिभल, नेपालको पाँचौ नेपाल अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव र बेलायतको दुई चलचित्र महोत्सवमा छनोटमा परेको थियो।
Shares
प्रतिक्रिया