केही समययता नेपाली चलचित्र ‘बोक्सीको घर’ मा समावेश गरिएको ‘बुझिन मैले’ बोलको गीत लोकप्रिय भइरहेको छ। युट्युवमार्फत सार्वजनिक गरिएको उक्त गीतलाई एक महिनामै एक करोड ३० लाखभन्दा बढी पटक हेरिएको छ।
गीतलाई प्रकाश सपूतले तयार गरेका छन्। उनकै शब्द र सङ्गीत रहेको उक्त गीत समीक्षा अधिकारीले गाएकी हुन्।
चलचित्रले पहिलो सातामा छ करोडको हाराहारीमा व्यापार (ग्रस कलेक्सन) गरेको निर्माण पक्षले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ। यो सफलतामा महत्वपूर्ण भूमिका गीतको रहेको अभिनेत्रीसँगै निर्मात्री रहेकी केकी अधिकारीले बताइन्।
‘प्रचारप्रसार गर्न तयार पारिएको सामग्रीलाई चिनाउने काम गीतले गरेको छ’, उनले भनिन्, ‘गीत जति चर्चित भइरहेको छ, त्यति नै यसको निर्माणको विषयमा कौतुहलता बढ्नु स्वाभाविक हो। गीतले चलचित्रको कथा बोलेकाले पनि लोकप्रिय बन्दै गएको हो।’
अभिनेत्री अधिकारीले गायक सपूतसँग ‘परदेशी–२’ नामक चलचित्रमा काम गरेपछि केही साङ्गीतिक चलचित्र (म्युजिक भिडियो) मा काम गरेकी छिन्।
सहकार्यले सामीप्यता बढाएपछि उनले निर्माण गर्न लागेको चलचित्रको कथा गायक सपूतलाई पढेर सुझाव दिन आग्रह गरेकी थिइन्।
विषयको गम्भीरतालाई बुझेर चलचित्रमा सोही प्रकृतिको गीत राखिएको थियो। कथा सुहाउँदो भए पनि दर्शकको ध्यान बढी केन्द्रित गराउने उद्देश्यले गायक सपूतसँग सहकार्य गर्ने विषयमा निर्देशक तथा लेखक सुलक्षण भारतीसँग छलफल गरेपछि गीतमार्फत सहकार्यका लागि पहल भएको अभिनेत्री अधिकारीले जानकारी दिइन्।
‘प्रकाशजी कथा पढी सक्नुभएकाले हाम्रो विषयसँग जानकार हुनुहुन्थ्यो। कस्तो गीत बनाउने भन्ने विषयमा हामीले दुई पटक छलफल ग¥यौँ। चलचित्रको कथाका लागि गीत बनाउने भए पनि कथाभन्दा बाहिर नजाने र दर्शकको भावनालाई समेट्ने गरी गीत बनाउने सहमति जुट्यो। तेस्रो छलफलमा उहाँले यसको प्रारम्भिक स्वरूप तयार गर्नुभयो’, अभिनेत्री अधिकारीले भनिन्।
पहिलो पटक गीत सुनेपछि नै यसलाई तयार गर्ने सहमत भएको उनको भनाइ थियो।
गायक सपूत र अभिनेत्री अधिकारीले समीक्षा अधिकारीलाई गीत गाउन दिने निर्णय गरेकी थिइन्। गीत रेकर्ड गर्न स्टुडियोमा हुँदा गायक सपूतले शब्दमा हेरफेर गर्दै कथासार व्यक्त गर्ने गरी तयार गरेको अभिनेत्री अधिकारीले जानकारी दिइन्।
‘यो गीत सुनेपछि म ढुक्क थिएँ। यसमा महिलाले महसुस गर्न सक्ने शब्द छन्। सायद त्यो समयमा प्रकाश जीको ज्ञानमा सरस्वतीले नै बास गर्नुभएको थियो। बन्दा बन्दै यो गीत अहिले महिलाको सुख दुःखको गीत बन्न पुगेको छ’, उनले भनिन्।
निर्देशक भारतीले चलचित्रको कथासँगै जोडिने गीत पाएपछि यसलाई चलचित्रमा समेत राख्ने निर्णय गरिएको बताइन्।
‘यो गीत हामीले प्रचारका लागि तयार गर्ने भनेर सुरु गरेका थियौँ’, उनले भनिन्, ‘पछि चलचित्रमा नै राख्न मिल्ने गरी तयार भयो। यसले चलचित्रलाई नै व्यक्त गरेको छ भन्दा फरक पर्दैन।’
यो गीत रेकर्ड गरिएको पाँच दिनमै श्रव्यदृश्यसहित तयार गरेर सार्वजनिक गरिएको अधिकारीले जानकारी दिइन्। चलचित्र प्रदर्शनको सङ्घारमा भएकाले कम समयमा नै श्रव्यदृश्य तयार गरी सार्वजनिक गरिएको उनको भनाइ छ। यतिबेला यो गीत नेपालसहित विश्वभरका नेपाली माँझ लोकप्रिय बनेको छ।
गीतको डिजिटल अधिकार प्राप्त कम्पनी ओएसआर डिजिटलले नेपालसँगै विदेशमासमेत उत्तिकै हेरिएको गीतमा ‘बुझिन मैले’ रहेको जानकारी दिएको छ। रासस
Shares

प्रतिक्रिया