ad ad

कला


बागलुङको गलकोटमा ११ देशका मूर्तिकारको जमघट

बागलुङको गलकोटमा  ११ देशका मूर्तिकारको जमघट

नेपालखबर
फागुन ७, २०७६ बुधबार ११:५४,

बागलुङको गलकोट क्षेत्रलाई कलाको अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने लक्ष्यसहित अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला सुरु भएको छ।

 ‘गलकोट कला प्रतिष्ठान बागलुङ’ले अन्तरर्राष्ट्रिय मूर्तिकला कार्यशाला २०२० आयोजना गरेको हो।

कार्यशालामा अन्तरर्राष्ट्रिय स्तरमा ख्याती प्राप्त देशी तथा विदेशी मूर्तिकारहरूले कार्यशाला स्थलमै बसेर मूर्तिहरू सिर्जना गरिरहेका छन्। उनीहरूलाई खाने बस्नेको प्रबन्ध आयोजकले कार्यशाला स्थलमै गरेको छ।

कलाकारले बनाएका मूर्तिहरूलाई कार्यशाला स्थलमै संग्रहालय बनाएर राखिने कार्यशाला संयोजक तथा कलाकार ओम खत्रीले बताए। अहिले गलकोटका स्थानीय सर्वसाधारण र कलाप्रेमीले स्थानीय तहमै ख्यातिप्राप्त मूर्तिकारले सृजना गरेका मूर्ति अवलोकन गरिरहेका छन्। उनीहरुले कार्यशालालाई सफल बनाउन महत्वपूर्ण भूमिका खेलिरहेका छन्।

प्राकृतिक, सांस्कृतिक तथा ऎतिहासिक स्थल गलकोट क्षेत्रमा ‘अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला’ हुनु धौलागिरी क्षेत्रको ठूलो प्रतिष्ठा भएको कार्यशालामा सहभागी हुन पुगेका कलाकार राजन काफ्लेले बताए। उनले भने, ‘अब गलकोट यस कार्यशालाका माध्यमबाट कला नगरीका रुपमा विकास हुनेछ। जुन सोचले यो कार्यशालाको आयोजना गरियो यसले समाजमा कला चेतना बिस्तार गर्ने छ।’

कार्यशालामा नेपालबाट मूर्तिकारहरू प्रविणकुमार श्रेष्ठ, ओम खत्री, राजन काफ्ले, बुद्ध चौधरी र राजु पिठाकोटेले भाग लिएका छन्। यस्तै जुनीचिरो सुगिमोतो (जापान), ल्यू यांग (चीन), बिटिनो फ्रान्सेनी (इटाली), जिवियर गोञ्जालेज (फ्रान्स), लिन लि जेन (ताइवान), जुली ग्लास्पी (क्यानाडा), टुटु पटानायक (भारत), तान्या प्रिमेन्जर (इजरायल), जर्ज लुइज (ब्राजिल) र युक्रेनका मूर्तिकार ल्यूडमाइला माइस्को पनि गलकोटमै बसेर मूर्ति बनाइरहेका छन्।

कार्यशाला आयोजनाका लागि मूर्तिकारहरूलाई खुल्ला रुपमा आह्वान गरिएको ‘गलकोट कला प्रतिष्ठान’का अध्यक्ष पूर्णबहादुर रानाले बताए।

सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेको कार्यशाला फागुन २१ गतेसम्म चल्ने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .