कला


सगरमाथा चढ्ने पहिलो ट्रान्सजेन्डर महिला निलमले सुनाइन् आरोहण अनुभव

सगरमाथा चढ्ने पहिलो ट्रान्सजेन्डर महिला निलमले सुनाइन् आरोहण अनुभव

नेपालखबर
असार ४, २०८३ बिहिबार १४:४६, काठमाडौँ

पहिलो सगरमाथा आरोही ट्रान्स महिला निलम पौडेलले आरोहण अनुभव सुनाएकी छन्। आफ्नो यात्राको संघर्ष, आर्थिक चुनौती, सामाजिक भेदभावदेखि सगरमाथा आरोहणसम्मका कथा सुनाउँदा भावुक बनिन्। 

काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रारम्भमा टिम निर्माणदेखि विभिन्न व्यक्ति तथा संस्थासँग सहयोग माग्दा अपेक्षित साथ नपाएको उनको गुनासो गरिन्। कार्यक्रममा पूर्व मिस नेपाल माल्भिका सुब्बा, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद अनुष्का श्रेष्ठ, अभिनेत्री उषा रजक, पूजा लामा तथा ब्लु डाइमन्ड सोइसाइटीकी पूर्वअध्यक्ष पिंकी गुरुङलगायत उपस्थित थिए।

‘हाम्रो यो यात्रा २०२० देखि प्राम्भ भएको हो। मैले टिम बनाएर सुरु गर्दा नै कतिपयले बीचमै धोका दिनुभयो। मिटिङहरूमा कुरा भए पनि पछि फोन नउठाउने, मेसेजको जवाफ नदिने जस्ता व्यवहार भयो,’ उनले भनिन्। 

उनका अनुसार ट्रान्सजेन्डर भएकै कारण काम गर्न नसक्ने भनेर अनुमान गरिएको र धेरै ठाउँमा प्रस्ताव लिएर जाँदा पनि अपेक्षित सहयोग नपाएको उनले बताइन्। भनिन्, ‘मानिसले मलाई ट्रान्स भएकै कारण गर्न सक्दिनँ होला भनेर सोच्नु भयो। तर पछि केही व्यक्तिहरूले साथ दिनुभयो र प्रपोजल बनाएर सहयोग पनि गर्नुभयो।’

आर्थिक कठिनाइका कारण व्यक्तिगत बचत, सम्पत्ति बिक्री तथा विभिन्न माध्यमबाट खर्च व्यवस्थापन गर्नुपरेको उनले सुनाइन्। सगरमाथा आरोहणको अनुभव सुनाउँदै उनले भनिन्, ‘हामी बेस क्याम्प पुग्दा धेरै कठिन थियो। माथि जाँदा मान्छेहरूको अवस्था देखेर डर पनि लाग्यो, तर मैले सक्छु भन्ने आत्मविश्वास आयो।’

उनले आफ्नो सफलतालाई व्यक्तिगत मात्र नभई समुदायका लागि प्रेरणादायी उपलब्धि भएको बताउँदै अवसर पाए ट्रान्स समुदायले पनि ठूला लक्ष्य हासिल गर्न सक्ने उल्लेख गरिन्।

पत्रकार सम्मेलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद अनुष्का श्रेष्ठले सगरमाथा आरोही ट्रान्स महिला निलम पौडेललाई बधाई दिँदै उनको उपलब्धिलाई व्यक्तिगत मात्र नभई समुदायको ऐतिहासिक उपलब्धि भएको बताएकी छन्। उनले भनिन्, ‘आफ्नो ठाउँमा आफ्नो काम गरेर नै सबै जना अगाडि बढ्ने हो। इट्स अल अबाउट सेलिब्रेटिङ यु एन्ड योर अचिभमेन्ट। कति गाह्रो कुरा हो भनेर हामीले कहिलेकाहीँ बुझ्दैनौँ।’

उनले निलम पौडेलको सगरमाथा आरोहणलाई व्यक्तिगत संघर्षसँगै समुदायका चुनौतीलाई पनि जितेको उदाहरण भएको उल्लेख गरिन्। श्रेष्ठले सरकार र समाज दुवै तहमा समावेशीकरण र प्रतिनिधित्व बढ्दै गएको उल्लेख गर्दै यसलाई सकारात्मक सुरुवातको रूपमा लिनुपर्ने बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad