भारतीय अभिनेत्री सामन्था रुथ प्रभुले हालै तमिलनाडुका मुख्यमन्त्री तथा अभिनेता थलापति विजयलाई चेन्नईमा भेटेकी छिन्। उनीहरूको विशेष भेटघाटका तस्बिरहरू पोस्ट गर्दै सामन्थाले विजयको प्रशंसा गरिन्।
सामन्थाले आफ्नो सामाजिक सञ्जालमा तस्बिरहरू पोस्ट गर्दै लेखेकी छिन्, ‘आज जब म चेन्नई आइपुगेँ, मलाई निकै खुशी लाग्यो किनभने म हाम्रो मुख्यमन्त्रीलाई भेट्न जाँदै थिएँ। मलाई सधैं लाग्थ्यो कि विजय सर केवल पर्दामा नायक बन्नको लागि मात्र थिएनन्। उहाँको ऊर्जा, उहाँको उपस्थिति र मानिसहरूले उहाँमाथि बर्साएको मायाले मलाई सधैं महसुस गरायो कि उहाँको त्यो भन्दा ठूलो उद्देश्य छ।’
नयाँ क्षेत्रमा टेक्ने साहसले आफूलाई निकै प्रेरणा दिने उनको भनाइ छ। अघि थप्दै उनी लेख्छिन्, ‘मलाई सबैभन्दा बढी प्रेरणा दिने कुरा भनेको पूर्णतया नयाँ क्षेत्रमा पाइला टेक्ने साहस हो। आफ्नो पुरानो क्षेत्रमा सफलता हासिल गरिसकेपछि पनि दाउ धेरै उच्च भएको ठाउँमा जान। यो निर्णय सजिलो भएकोले होइन, तर तपाईं फरक पार्न सक्नुहुन्छ भन्ने विश्वासको कारणले गरिएको हो।’
साथै उनले जीवनको कुनै मोडमा आएर आफूभन्दा बाहिर सोच्नुपर्ने बताउँदै समाजलाई के योगदान गर्न सक्छौं भनेर आफैलाई सोध्नुपर्ने उल्लेख गरेकी छिन्। साथै विजयमाथि आफूलाई पूरा विश्वास भएको उनको भनाइ छ।
सामन्थाले लेख्दै अन्त्य गरिन्, ‘मलाई विश्वास छ विजय सरले उहाँमा पहिले नै विश्वास गर्नेहरूलाई पनि आश्चर्यचकित पार्नुहुनेछ। यो उहाँको पदको कारणले होइन, तर उहाँले आफ्नो जिम्मेवारीहरू सम्हाल्ने समर्पणको कारणले हो। म उहाँलाई शक्ति, बुद्धि र मार्गमा टिकिरहन साहसको कामना गर्छु। र प्रत्येक युवाको लागि, यो तपाईंले सुरु गर्नुभएको सपनाहरू भन्दा जीवन धेरै ठूलो हुन सक्छ भन्ने कुराको सम्झना हो।’
विजय र सामन्थाले कथी, थेरी र मेर्सलमा जोडीको रुपमा काम गरिसकेका छन्। बक्सअफिसमा सुपरहिट यी फिल्ममा दुबैको जोडीलाई निकै रूचाइएको थियो।
सामन्था रुथप्रभु अहिले आफ्नो आगामी फिल्म ‘माँ इन्ती भंगाराम’ को कारण चर्चामा छिन्, जुन जुन १९ मा सिनेमाघरहरूमा रिलिज हुनेछ।
Shares

प्रतिक्रिया