ad ad

कला


जुन अप्रत्याशित कलले आँचललाई ‘डिग्री माइला’ मा दयाहाङको प्रेमिका बनायो

आँचल शर्मासँग भिडिओ वार्ता— पहिले क्षमता निचोर्ने निर्देशक नै पाइनँ, अहिले मेरो समय चलिरहेको छ
जुन अप्रत्याशित कलले आँचललाई ‘डिग्री माइला’ मा दयाहाङको प्रेमिका बनायो

नौ वर्षदेखि फिल्म क्षेत्रमा रहेकी आँचल शर्मा भन्छिन्– पहिले मेरो क्षमता निचोर्ने निर्देशक नै पाइनँ (तस्बिर/भिडिओ : सरोज बैजु)


लक्ष्मी बलायर
चैत ३०, २०८० शुक्रबार १४:२६, काठमाडौँ

गत भदौतिर एक दिन अभिनेत्री आँचल शर्माको मोबाइलमा फोन आयो। उठाउनेबित्तिकै ती व्यक्तिले भने- म राम।

अपरिचित नम्बर थियो। जसकारण आँचलले ठ्याक्कै चिन्न सकिनन्। उनले फ्याट्टै सोधिन्- को राम?

ती व्यक्तिले दोहोर्‍याए- म रामबाबु गुरुङ क्या!

पूरा नाम सुनेपछि आँचललाई चिन्न गाह्रो भएन तर उनी एक छिन छक्क परिन्। किनकि, त्यो कल उनका लागि अप्रत्याशित थियो।

रामबाबु पछिल्लो समयका चर्चित निर्देशक। उनको ब्यानरबाट बनेका प्राय: फिल्म व्यावसायिक रूपमा सफल छन्। जसकारण धेरै कलाकारहरू उनीसँग काम गर्न लालायित हुन्छन्।

तीमध्येकी एक थिइन्- आँचल। तिनै मन पर्ने निर्देशकले ‘डिग्री माइला’मा अफर गर्नु उनका लागि साँच्चिकै आश्चर्यजनक थियो। अझ अपोजिटमा थिए, अभिनेता दयाहाङ राई।

आँचल शर्मासँग भिडिओ वार्ता :

दयाहाङ पछिल्लो समयका सर्वाधिक रुचाइएका अभिनेता हुन्। त्यति भएपछि के चाहियो र!

‘निर्देशक रामबाबु गुरुङसँग काम गर्ने जहिल्यै इच्छा थियो। उहाँले अफर गर्दा निकै खुसी भएँ। त्यतिखेर नै राम्रो टिमसँग मज्जाले काम गर्नुपर्छ भन्ने लागेको थियो,’ आँचलले भनिन्।

त्यसपछि आँचलले रामबाबुलाई भेटिन्। र, फिल्मको स्क्रिप्ट हेरिन्। राम्रो टिमसहित कथावस्तु मन परेपछि फिल्म साइन गरेको उनको भनाइ छ।

असोजबाट सुरु भयो डिग्री माइलाको सुटिङ। सुटिङको पहिलो दिन। पहिलो टेक नै आँचलबाट सुरु गरियो। त्यतिखेर निकै नर्भस महसुस भएको बताउँछिन् उनी।

‘डिग्री माइलाको सुटिङमा मेरो फेसबाट नै क्यामेरा ओपन भएको थियो। त्यतिखेर निकै डर लागेको थियो। नयाँ टिम, उहाँको काम गर्ने शैलीबारे थाहा थिएन,’ उनी भन्छिन्, ‘त्यतिखेर म नै किन पहिले भन्ने लागेको थियो। तर, पछि मबाट फिल्म सुरु हुनु खुसीको कुरा पनि भन्ने लाग्यो।’

अहिलेसम्मकै उत्कृष्ट टिम
यस फिल्ममार्फत आँचलले दयाहाङसँग पनि पहिलोपटक सहकार्य गरेकी हुन्। दयाहाङसँग काम गर्न निकै सहज भएको उनको अनुभव छ।

‘दयाहाङजी फ्रेन्डली हुनुहुँदो रहेछ। उहाँ कामलाई मज्जाले बुझेको मान्छे। अर्को व्यक्तिलाई सहज बनाइदिने सहकर्मी भएकाले काम गर्न एकदमै मज्जा आयो।’

हुन त आँचललाई डिग्री माइलाको टिम नै राम्रो छ भन्नेबारे थाहा थियो। सहकार्य गरेपछि यो टिम अहिलेसम्मकै उत्कृष्ट लाग्छ उनलाई।

‘राम्रो टिममा काम गर्न पाउनु नै ठूलो कुरा हो। सुटिङ गर्दा सबैजना कलाकारलाई माया गर्ने मान्छेहरू भेला भएजस्तो लाग्यो। निर्देशकले पनि फिल्म मात्रै नभएर कलाकारलाई एकदमै माया गर्नुभयो,’ उनले भनिन्, ‘यसलाई अहिलेसम्मकै उत्कृष्ट टिम भन्न मिल्छ। हुन त अरू टिम पनि राम्रै थिए। तर, यो टिमचाहिँ हेबी टिम हो। उहाँहरू एकअर्कालाई मनमुटु दिनु हुँदोरहेछ।’

मिस नेपाल बन्ने त्यो सपना
आँचललाई फिल्मक्षेत्रमा आउने इच्छा थिएन। उनको एउटै सपना थियो- मिस नेपाल बन्ने। त्यसको तयारीका लागि उनी विभिन्न सौन्दर्य प्रतियोगितामा सहभागी भइन्। सन् २०१३ को मिस एसएलसी ब्युटी कन्टेस्टमा फोर्थ रनरअप भइन्। सन् २०१५ को मिस प्लस टुको टाइटल जितिन्।

त्यतिबेला आँचलको मिस नेपालमा जाने बेला भएको थिएन। उमेर जम्मा १७ वर्ष थियो। सोहीताका उनी एकदिन साथीसँगै फिल्मको अडिसन दिन पुगिन्। जुन फिल्म थियो: नाइँ नभन्नु ल ४।

क्युट अनि ब्युटिफुल आँचल फिल्ममेकरको नजरमा परिहालिन्। उनलाई फिल्मको मुख्य भूमिकामा अनुबन्ध गरियो। जब फिल्मको सुटिङ सुरु भयो, सोचेभन्दा निकै फरक अनुभूति भयो उनलाई।

‘सुरुमा म खत्रा गरिहाल्छु भन्ने कन्फिन्डेन्स आएको थियो। जब पहिलो टेक दिएँ, म गलेको थिएँ। एकचोटि गर्दा सकियो सोच्थेँ। तर, मैले सोचेको जस्तो केही हुँदैन रहेछ। १०/२० टेकसम्म दिनुपर्ने रहेछ। वाइड एंगल, घरी क्लोज एंगल भनेको छ। यो मेरो लागि होइनजस्तो लागेको थियो,’ उनले भनिन्।

पहिलो फिल्म नै हिट भएपछि आँचलले कहिल्यै फर्किएर हेर्नुपरेन। उनी फिल्महरूसहित मोडलिङमा समेत व्यस्त हुन थालिन्। जसले उनको मिस नेपाल बन्ने सपना अन्यत्रै मोडियो।

‘जुन समय मिस नेपालमा जाने सोच थियो, त्यसबेला उमेर पुगेको थिएन। सहभागी हुन पाउने उमेरसम्म त फिल्म क्षेत्रमै स्थापित भइहालेँ,’ आँचलले विगत सम्झिइन्, ‘चिनिसकेको अनुहार जाँदा गाह्रो हुन्छ। चिनिसकेपछि एउटा गल्ती हुँदा पनि ठूलो भइदिन्छ। नचिन्दासम्म त थाहा हुँदैन। त्यसपछि मिस नेपाल बन्ने सपना अधुरै रह्यो।’

‘पहिले क्षमता निचोर्ने निर्देशक नै पाइनँ’
‘नाइँ नभन्नु ल ४’ मा डेब्यु गरेकी आँचल ९ वर्षदेखि फिल्म क्षेत्रमा सक्रिय छिन्। आँचलले जोनी जेन्टलम्यान, शत्रुगते, दालभात तरकारी, झिँगे दाउ, नाइँ नभन्नु ल ६ लगायतका फिल्ममा अभिनय गरिन्। जसमध्ये केही फिल्म बक्सअफिसमा हिट पनि भए। तर, उनको अभिनयले त्यति धेरै तारिफ पाएन।

किन त्यस्तो भएको होला?

जवाफमा आँचल भनिन्छन्, ‘यसैको लागि टिम राम्रो चाहिन्छ भनेको हो।’

उनलाई लाग्छ, ‘मैले पहिले पनि काम नराम्रो गरेको होइन। निर्देशकलाई के चाहिएको थियो। त्यस्तै अभिनय गर्ने हो। अभिनयको हिसाबले एउटा कलाकारले निर्देशकलाई खुसी बनाउने हो। किनभने, निर्देशकले के सोचेर बनाउन खोजेको छ, मैले जहिल्यै त्यही गरेँ। कतिलाई मन पर्‍यो, कतिलाई मन परेन। टिम राम्रो हुँदा ठ्याक्कै मैले के गर्ने र कस्तो गर्दा राम्रो हुन्छ भन्ने थाहा हुन्छ।’

निर्देशकहरूले आफ्नो क्षमता निचोर्न नसक्दा आफूले अभिनय देखाउने अवसर नपाएको आँचलको गुनासो छ।

उनले भनिन्, ‘उहाँहरूले मलाई सहजै काम गराइदिनुभयो। मेरो क्षमता निचोर्नु भएनजस्तो लाग्छ। यसअघि मैले अरूले पाएको जस्तो फिल्म र टिम पाइनँ कि जस्तो लाग्छ। त्यसैले मैले कहाँ के अभिनय गर्ने भन्ने थाहा पाइनँ। मैले गहिरिएर काम गर्ने गरी कुनै चरित्र नै पाएकी थिइनँ।’

‘मेरो समय बल्ल आयो’
यसै वर्षको वैशाखमा आँचल अभिनित ‘नाइँ नभन्नु ल ६’ प्रदर्शनमा आयो। यस फिल्मले खासै व्यापार गर्न नसके पनि त्यसपछि आँचलको हातमा थुप्रै फिल्म छन्।

डिग्री माइलासहित वर एन्ड बधु, पीताम्बर, एक मुठ्ठी बादल, राजमहल, दुःखी आत्मा लगायतका फिल्म पाइपलाइनमा छन्।

जसमध्ये भर्खर मात्रै आँचलको मुख्य भूमिकामा ‘एक मुठ्ठी बादल’को सुटिङ सकिएको छ। सहारा शर्माको लेखन र निर्देशन रहेको फिल्मले महिलाप्रधान कथावस्तुलाई उठान गरेको छ।

एक मुठ्ठी बादलको स्क्रिप्ट भारतको फिल्म बजार अनलाइनको प्रोडक्सनमा छनोट भएको थियो। साथै ओपनडोर्स, कान्स र रोटरडम फिल्म मार्केटमा पनि पिचिङ भइसकेको छ।

एकातिर डिग्री माइलाजस्ता कमर्सियल सिनेमामा देखिनु, अर्कोतिर अन्तर्राष्ट्रिय फेस्टिबलकेन्द्रित फिल्म खेल्नु। पक्कै पनि अहिले आँचलको भाग्य चम्केको छ भन्दा फरक नपर्ला!

आँचल पनि अहिले आफ्नो राम्रो समय चलिरहेको बताउँछिन्।

‘समय हो। कहिले राम्रो हुन्छ, कहिले नराम्रो। अहिले राम्रो समय चलिरहेको छ। खुसी छु। त्यसैले यसलाई आत्मसात् गरेर यसबाट ऊर्जा लिएर निरन्तर काम गर्ने हो,’ आँचलले भनिन्, ‘म जहिले पनि कामप्रति डेडिकेडेट थिएँ। क्यामरा अगाडि होस् वा सेटमा– म एकदमै माया गर्छु कामलाई। सायद त्यही चिजहरूले नै मलाई यो ठाउँ दिएको हो। त्यो बानीले गर्दा मलाई यसरी विश्वास गरिदिनुभएको हो।’

अवसरका साथै चुनौती पनि महसुस गरिरहेकी छिन् आँचल।

भन्छिन्, ‘विगतको भोगाइले धेरै कुरा सिकाएको छ। कडा मेहनत गरेर यहाँसम्म आउँदा खुसी लाग्छ। अझै राम्रो गर्ने चुनौती पनि थपिएको छ। भोगाइले मलाई धेरै कुरा सिकाएको छ। सानै उमेरमा यो क्षेत्रले बढी परिपक्व बनाएको छ। यो निरन्तरतालाई म आत्मसात् गर्छु।’

फिल्मले धैर्य गर्न सिकायो
यस फिल्ममा प्रवेश गर्दा आँचलको उमेर कच्चा थियो। न उद्योगको बारेमा थाहा थियो, न यहाँको मान्छेहरूको बारेमा। यो ९ वर्षको करिअरमा फिल्मक्षेत्रले धैर्यवान् बन्न सिकाएको आँचललको अनुभव छ।

‘त्यहाँदेखि यहाँसम्म धेरै चिज भोगियो र सिकियो पनि। धैर्य भन्ने कुरा जीवनमा हुनुपर्ने रहेछ। यत्रो वर्षको अनुभवले त्यो सिकाएको छ मलाई। म पहिले एकदमै अधीर थिएँ। यस उद्योगले नै मलाई धैर्य गर्नुपर्छ भनेर सिकाएको हो।’

आँचल आफूलाई लागेको कुरा मिडियामा निर्धक्क बोल्छिन्। उनको यही बानीका कारण बेलाबेला उनी विवादमा समेत पर्छिन्। तर, ती आलोचनालाई सहजै रूपमा लिन्छिन्।

‘उमेर र भोगाइले एउटा मान्छेलाई परिपक्व बनाउने हो। म जति वर्षमा यो क्षेत्रमा आएँ, घर अनि स्कुलबाहेक केही थाहा थिएन। न समाज थाहा थियो, न दुनियाँ। एक्कासि म यस्तो क्षेत्रमा आइपुगेँ, जहाँ हामीलाई पर्याप्त तालिम दिइँदैन। जे सिक्यौँ, त्यही बोल्ने बानी भयो। त्यो एउटा कच्चा उमेरको दोष र अबोधपन पनि थियो होला,’ उनको स्वीकारोक्ति छ।

अनेक विवादले आफूलाई निखार्दै लगेको उनी सुनाउँछिन्।

भन्छिन्, ‘भोगाइ एकदम मिठो हुँदो रहेछ। ठिक गरेँ, गरिनँ यो सबै अन्तिममा गएर एउटा सुन्दर भोगाइ हुँदो रहेछ। आलोचित कुराहरूले उचाल्दै उचाल्दै यहाँसम्म पुर्‍याएको छ। कन्ट्रोभर्सीले नै यस्तो गर्नुहुन्न रहेछ, यो गलत रहेछ भनेर सिक्ने मौका पाएँ। यसले नै बेटर पर्सन बनाउँछजस्तो लाग्छ। भोलिको दिनमा आँचल शर्मा निखारिन्छ नि त, यही भोगाइ र गल्तीहरूले।’

‘डिग्री माइलामा म सही पात्र’ 
देशको राजनीतिक अस्थिरता। बेरोजगारीका कारण पढेर पनि विदेशिनुपर्ने बाध्यता। अनि देशमै केही गर्न खोज्छु भन्नेको हालत पनि त्यस्तै। जसले अहिलेका युवाहरूमा निराशा छ। डिग्री माइलाले क्षमता र योग्यताअनुसारको काम नपाउने शैक्षिक बेरोजगारीको कथालाई समेटेको छ।

आँचल यस फिल्ममा दयाहाङको प्रेमिकाको रूपमा देखिएकी छन्। आफूले निर्वाह गरेको पात्रबारे भन्छिन्, ‘मान्छेलाई आफू राम्रो बाटो हिँडेको छु छैन भनेर औँल्याइदिने साथी चाहिन्छ। डिग्री माइलाको लागि म त्यो पात्र हुँ। जसले सही मार्गमा लैजान सक्छ।’

‘डिग्री माइला: एम ए थर्ड क्लास’ शुक्रबारबाट रिलिज भएको छ। यस फिल्मले मनोरञ्जन दिनुका साथै समाजलाई व्यङ्ग्य गरेको आँचलको दाबी छ। साथै उत्साह र डरबीचको अनुभूति गरिरहेकी छिन् उनी। 

‘उत्साहित छु। साथै नर्भस पनि छु। परीक्षा लेखियो। रिजल्ट के आउला भन्ने डर हुँदोरहेछ। त्यस्तै भइरहेको छ। तर, फिल्म रमाइलो बनेको छ। समाजलाई व्यङ्ग्य हानेको छ,’ उनी भन्छिन्, ‘म हरेक काम मेहनतले गर्छु। मेरो लागि त मैले गरेको काम उत्कृष्ट हुनै नै भयो। बाँकी त दर्शकले मूल्यांक‍न गर्ने कुरा हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .