ad ad

कला


सात वर्षपछि स्टेजमा फर्किएका धुर्मुस-सुन्तलीको मेला-महोत्सवमा माग बढ्दो

सात वर्षपछि स्टेजमा फर्किएका धुर्मुस-सुन्तलीको मेला-महोत्सवमा माग बढ्दो

नेपालखबर
पुस २२, २०८० आइतबार १४:११, काठमाडौँ

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ सातवर्षपछि मञ्चमा फर्किए। 

गत साता कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति दिएर कलाकारितामा फर्किएका उनीहरूको अहिले मेला-महोत्सवमा माग बढ्दो छ। 

उनीहरूको जोडीलाई यतिखेर देशभरिका विभिन्न मेला-महोत्सवमा खोज्न थालिएको छ। 

पाेखराकाे लेखनाथ महोत्सवसँगै यस जोडीले यही पुस १७ गते धादिङको धार्केमा भएको महोत्सवमा समेत प्रस्तुति दिइसकेको छ। 

सात वर्षपछि आफ्नो मौलिक प्रहसन लिएर फर्किएको धुर्मुस-सुन्तलीको जोडीको माग धेरैतिरबाट आउन थालेको छ। यसबीचमा उनीहरूको थुप्रै कार्यक्रमसमेत तय भइसकेका छन्। 

धुर्मुस-सुन्तलीले यही पुस २९ गते कैलालीको सुदूरपश्चिम ओद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सवमा आफ्नो प्रस्तुति दिनेछन्। त्यसैगरी, माघ १ गते कैलालीकै अत्तरियामा आयोजना हुने महोत्सवमा प्रस्तुति दिँदै छन्।

त्यसैगरी माघ ३ गते कैलालीकै बाँसगढी महोत्सव र माघ ५ गते ‘बर्दिया राजापुर महोत्सव’ मा पनि उनीहरूले प्रस्तुति दिने तय भएको छ।

माघ ६ गते यस जोडीले दाङको भालुवाङमा ‘राप्ती लुम्बिनी प्रादेशिक कृषि तथा पर्यटन महोत्सव’ प्रस्तुति दिनेछन्। माघ ८ गते पनि गोरखाको आरुघाट महोत्सवमा प्रस्तुति दिने टुंगो लागेको छ।

महोत्सवमा उनीहरूले ‘मेरी बास्सै’कै चर्चित पात्र जोडी (धुर्मुस सुन्तली) पोशाकमै प्रस्तुति दिने गरेका छन्। दुवैको केमेस्ट्रीलाई दर्शकले पनि मन पराएको महोत्सवको भिडभाडबाट थाहा पाउन सकिन्छ।

२०७२ सालपछि यो जोडी बस्ती निर्माणदेखि रंगशाला निर्माण लगायतका सामाजिक सेवामा लाग्दा कलाकारिताबाट टाढा भएका थिए। 

धुर्मुस, सुन्तली र माग्ने बुढा (केदार घिमिरे) ले ०६३ सालदेखि मेला महोत्सवमा प्रस्तुति दिन थालेका थिए। वैवाहिक जीवनमा प्रवेश गर्नुअघि धुर्मुस सुन्तलीको मात्रै जोडीले पनि धेरै महोत्सवमा दर्शक हँसाएका थिए। 

‘०६५ मंसिर १४ गते वैवाहिक जीवनमा प्रवेशपछि हामीले पहिलोपटक पोखराकै महोत्सवबाट स्टेज प्रस्तुति सुरु गरेका थियौँ,’ धुर्मुसले नेपालखबरसँग भने, ‘यसबीचमा अन्य सामाजिक काममा लागियो। मेला महोत्सवमा जान पाएका थिएनौँ। अहिले सात वर्षपछि हामी फेरि पाेखराबाटै मेला-महाेत्सवमा फर्किएका छौँ। अब हामी कलाकारितालाई नै निरन्तरता दिने छाैँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .