अस्कर विजेता फिल्म प्यारासाइटका अभिनेता ली सुन क्युनको मृत्यु भएको छ। ४८ वर्षीय ली कारमा अचेत अवस्थामा फेला परेका थिए।
राजधानी सोलको एक पार्कमा उनी गाडीभित्र फेला परेको जनाइएको छ।
घरमा एउटा लेखोट छाडेर उनी निस्केको प्रहरीको भनाइ छ। तर, उनले आत्महत्या गरेको हो कि होइन, स्पष्ट छैन।
लागूऔषध प्रयोगको आरोपमा उनीमाथि अक्टोबरदेखि छानबिन चलिरहेको थियो। उनले एक बारमा एक युवतीसँग गाँजा र केटामाइनजस्ता लागूऔषध लिएको आरोप थियो।
लीले ती युवतीले आफूलाई ती चिज दिएको तर त्यो लागूऔषध हो भन्ने आफूलाई थाहा नभएको बताएका थिए। तर, ती युवतीले आफ्नो घरमा लीले अनेक पटक लागूऔषध लिएको बयान दिएकी थिइन्।
अनुसन्धानकै बीचको उनको मृत्युमा प्रहरीले दुःख व्यक्त गरेको छ।
दुई दशक लामो करिअरमा लीले दर्जनौँ फिल्म र टीभी शोमा काम गरेका छन्।
२०२० मा प्यारासाइटमा सम्पन्न पार्क परिवारको बाबु पार्क दोङ इकको भूमिकामा देखिएपछि उनी संसारभर प्रसिद्ध बनेका थिए।
सो फिल्मले अस्करमा चार अवार्ड जितेको थियो। र, उत्कृष्ट फिल्म जित्ने पहिलो गैरअंग्रेजीभाषी फिल्म पनि बनेको थियो। एजेन्सी
Shares

प्रतिक्रिया