शाहरुख खानको मुख्य भूमिका रहेको बलिउड फिल्म ‘डंकी’ले बक्स अफिसमा राम्रो सुरुवात गरेको छ। यस फिल्मले पहिलो दिन घरेलु बक्स अफिसमा ३० करोड भारतीय रुपैयाँ नेट कलेक्सन गरेको छ।
राजकुमार हिरानी निर्देशित यस फिल्मले मिश्रित प्रतिक्रिया पाइरहेको छ। फिल्मले अवैध रुपमा विदेश जाने युवाको कथा भन्छ।
पहिलो दिन ३० करोड भारतीय रुपैयाँ कमाएसँगै यो फिल्म सातौँ ठूलो ओपनर फिल्म बनेको छ।
यस वर्ष धेरै ओपनिङ गर्ने फिल्म ‘जवान’ले ७५ करोड भारु कमाएको थियो। हुन त ऐतिहासिक फ्लप ‘आदिपुरुष’ले पनि पहिलो दिन ३६ करोड कमाएको थियो। त्यसैले अहिले नै ‘डंकी’ हिट नै हुन्छ भन्न सकिँदैन।
आजबाट प्रभास स्टारर दक्षिण भारतीय फिल्म ‘सलार’ पनि रिलिज भएको छ। जसले ‘डंकी’को व्यापारलाई केही प्रभाव पार्न सक्छ।
यस फिल्ममार्फत राजकुमार र शाहरुखले पहिलोपटक सहकार्य गरेका हुन्। फिल्ममा शाहरुखका साथै तापसी पन्नु, विक्की कौशल, बोमन इरानी, दिया मिर्जा लगायतको अभिनय छ।
रेड चिलिज इन्टरटेनमेन्ट, राजकुमार हिरानी फिल्मस् र जियो स्टुडिओको ब्यानरमा निर्माण भएको फिल्मको कथा हिरानीले नै लेखेका हुन्।
Shares
प्रतिक्रिया