ad ad

समाज


धनुषाको हंसपुर घटना : एकको मृत्यु, दुई स्थानीयलाई गोली लाग्यो

एसपी मित्रबन्धु शर्मा भन्छन्- स्थानीय गलत हल्लाको पछि लागे
धनुषाको हंसपुर घटना : एकको मृत्यु, दुई स्थानीयलाई गोली लाग्यो

नेपालखबर
पुस ६, २०८० शुक्रबार १२:९, काठमाडौँ

धनुषाको हंसपुरमा प्रहरीको गोली लागेर दुईजना स्थानीय घाइते भएका छन्। घाइतेमध्ये गम्भीर अवस्थाका एक घाइतेलाई उपचारको लागि काठमाडौँ ल्याएको छ। 

जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी मित्रबन्धु शर्माका अनुसार हंसपुर नगरपालिका ५ मा गएराति दुई समूहबीच झडप हुँदा ६५ वर्षका स्थानीय दीपनारायण मण्डल घाइते भएका थिए। घाइते मण्डललाई उपचारको क्रममा जनकपुर लैजाँदै गर्दा गएराति बाटोमै मृत्यु भएको थियो। 

मण्डलको मृत्यु भएको विषयलाई लिएर स्थानीयले शुक्रबार बिहानै प्रहरी कार्यालयमा तोडफोड र आगजनी गर्न थालेपछि बाध्य भएर प्रहरीले आत्मरक्षाको लागि गोली चलाउनु परेको दाबी एसपी शर्माले गरे। 

प्रहरीको गोली लागेर ३६ वर्षका स्थानीय शंकर मण्डल र १८ वर्षका नतलुन अन्सारी घाइते भएका छन्। घाइतेमध्ये मण्डलको अवस्था गम्भीर छ। उनलाई उपचारको लागि केहीबेरअघि काठमाडौँ ल्याएको छ। अन्सारीको जनकपुरमै उपचार भइरहेको छ। उनीहरु दुबैलाई हातमा गोली लागेको एसपी शर्माले बताए।

‘दुई पक्षबीच भएको झडपको क्रममा घाइते भएका मण्डलको मृत्यु भएपछि गलत हल्लाको पछि लागेर शुक्रबार बिहान सयौँको संख्यामा स्थानीयले प्रहरी कार्यालय घेराउ गर्दै आगजनी र ढुंगामुढा गर्न थालेपछि प्रहरीले आत्मरक्षाको लागि गोली चलाउँदा घटना भएको हो,’ एसपी शर्माले नेपालखबरसँग भने, ‘दीपनारायण मण्डलको मृत्यु प्रहरी हिरासतमा भएको हल्ला चलाएर चौकीमा आक्रमण गरियो। बास्तवमा उनलाई प्रहरीले चौकीमा राखेकै छैन। राति सामान्य छलफलपछि घाइते मण्डलसहित दुबै पक्ष घर फर्किएका थिए।’

एसपी शर्माका अनुसार बिहीबार साँझ गाउँमा स्थानीय दुई समूहबीच विवाद भएको थियो। मृत्यु भएका दीपनारायण मण्डल र स्थानीय शंकर ठाकुर पक्षबीच झडप हुँदा मण्डलको टाउकोमा चोट लागेको थियो। त्यसपछि उनीहरु राति नौ बजे हंसपुर प्रहरी कार्यालयमा छलफलको लागि पुगेका थिए। 

राति सामान्य छलफलपछि उनीहरु शुक्रबार बिहान थप छलफल गर्ने भन्दै घाइते मण्डलाई साथमै लिएर गाउँ फर्किएका प्रहरीले जनाएको छ। 

पछि घाइते मण्डलको अवस्था गम्भीर बनेपछि आफन्तले उनलाई उपचारको लागि स्थानीय क्लिनिकमा लगेका थिए। थप उपचारको लागि उनलाई प्रादेशिक अस्पताल जनकपुर लैजाँदै गर्दा उनको मृत्यु भएको एसपी शर्माले बताए। 

‘भएको घटना यही हो। तर, मण्डलको मृत्यु प्रहरी हिरासतमा भएको भन्दै कसैले हल्ला चलाएकाले स्थानीयले प्रहरी कार्यालमा आक्रमण गरेका हुन्,’ एसपी शर्माले भने। 

बिहानै स्थानीयले प्रहरी कार्यालय घेराउ गर्दै तोडफोड गर्न थालेपछि प्रहरीले गोली प्रहार र हवाइ फाइर गरेको उनले बताए। 

स्थानीयले आक्रमण गर्दा प्रहरी कार्यालयमा क्षति पुगेको छ। स्थानीयले प्रहरीका दुईवटा मोटरसाइकलमा पनि आगो लगाएका प्रहरीले जनाएको छ। एक्कासी ठूलो संख्यामा रहेका स्थानीय आक्रमण गर्दै प्रहरी कार्यालयमा प्रवेश गरेपछि बाध्य भएर गोली चलाउनु परेको एसपी शर्माले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .