कलाकार हरिवंश आचार्यले नेपाली खेलाडीको सम्मानमा नयाँ खेल गीत ल्याएका छन्। उनले खेलाडीप्रति समर्पित गर्दै ‘हामी नेपाली, हाम्रा खेलाडी’ बोलको गीत गाएका हुन्।
स्विडेनमा रहेका गीतकार डा. दिपराज थापाको शब्द रहेको गीतमा विशाल निरौलाको संगीत र एरेन्ज रहेको छ। युट्युव च्यानल महसञ्चारमार्फत सार्वजनिक गरिएको गीतको भिडियोमा नयाँ–पुराना खेलाडीको यथार्थ श्रव्यृदृश्य समेटिएको छ। नेपाल टि २० विश्वकपमा छनौट भएको र नेपालमा खेलप्रतिको इज्जत बढिरहेको माहोलमा यो गीत ल्याएको आचार्यले बताए।
‘गीतकार थापाले खेलाडी सम्बन्धी खेल गीत लेख्नुभएको रहेछ। मलाई गाइदिनुस् भने। पुराना खेलाडीलाई अहिलेको पुस्ताले बिर्सिसकेको अवस्था उहाँहरुप्रति पनि सम्मान हुने हिसाबले गीत गाएँ। त्यसैले गीतको भिडिओमा पुराना–नयाँ खेलाडीले खेलेका रियल दृश्यहरु राखेका छौं। खेलाडीप्रति सम्मान बोकेको यो गीत नेपालको खेल स्टेडियममा पनि बज्छ भन्ने हाम्रो अपेक्षा छ,’ उनले भने।
गीतकार थापाले सानैदेखि महजोडी आफ्नो आइडल रहेका कारण यो गीत गाउन आग्रह गरेको बताए।
‘उहाँलाई दुई–चारवटा गीतहरु पठाएँ तर सुरुमै यो गीत राम्रो मान्नुभयो। नेपालमा खेलाडीहरुको देश चिनाउने दायित्व ठूलो छ। पुराना खेलाडीहरुले विश्वसामु चिनाएको इतिहास हेर्दा गौरव लाग्छ। तर खेलाडीहरुलाई जत्ती अवसर, मान मर्यादा हुनुपर्ने हो त्यति भएको देखिँदैन। त्यसमाथि खेलाडीलाई प्रोत्साहित गर्ने गीत र म्युजिक भिडिओ हामीकहाँ कमै बन्छन्। त्यसकारण सबै खेलहरुमा हाम्रो यो गीत राष्ट्रिय गीतको रुपमा गुन्जियोस् र खेलाडीहरूप्रति सम्मान र प्रोत्साहन मिलोस भन्ने कामनासहित यो गीत ल्याएका हौं।’
गीतको भिडिओ राष्ट्रिय खेलकुद परिषद्मामा समेत खिचिएको हो। गीतकार थापासँगै अष्ट्रेलिया निवासी सुशिला पौड्याल र गौपाल पौड्याल गीतका निर्माता हुन्।
Shares

प्रतिक्रिया