ad ad

कला


काठमाडौँमा अन्तर्राष्ट्रिय महिला चलचित्र महोत्सव

काठमाडौँमा अन्तर्राष्ट्रिय महिला चलचित्र महोत्सव

नेपालखबर
मंसिर १०, २०८० आइतबार १३:१५, काठमाडौँ

काठमाडौँमा तेस्रो संस्करणको आइर्वाट नेपाल अन्तर्राष्ट्रिय महिला चलचित्र महोत्सव आयोजना गरिएको छ।

चलचित्र विकास बोर्डको हलमा भएको महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय डेलिगेट्सहरूको सहभागिता रहेको थियो। शनिबार दिनभर चलेको महोत्सवको उद्घाटन उपसभामुख इन्दिरा राना मगरले गरेकी थिइन् भने समापन सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गरेकी छन्।

महोत्सवमा चौथो आइर्वाट लघु चलचित्र प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरिएको छ। महिलाद्वारा निर्देशित ३ देखि १५ मिनेट लामा चलचित्रको सहभागिता रहेको सो प्रतियोगितामा अनुष्का अर्यालद्वारा निर्देशित ‘सङ्कुत’ प्रथम भयो। 

त्यस्तै, अनिता स्याङबो निर्देशित ‘वर्थ’, श्रेयन राजभण्डारी निर्देशित ‘अक्वारियम’, पुनम पौडेल निर्देशित ‘लिभिङ विथ डिग्निटी’ र सरिता शाह निर्देशित ‘नोटबुक’ ले विशेष लघु चलचित्रको पुरस्कार प्राप्त गरे।

डेलिगेट्सको रूपमा महोत्सवमा सहभागिता जनाउन आइर्वाट भारतकी म्यानेजिङ ट्रस्टी तथा फिल्ममेकर आराधना कोहली कपुर, बङ्गलादेशकी फिल्ममेकर, मानवअधिकारकर्मी तथा पत्रकार सुमी खान, तान्जानियाकी पत्रकार तथा फिल्ममेकर मारियम मोहम्मद हमादी, किर्गिस्तानकी फिल्ममेकर तथा पत्रकार जाम्बी जुजुबालिविभा, आइर्वाट नेपाली संस्थापन वन्दना राणा, आइर्वाट नेपालकी पूर्व अध्यक्ष अनुपा श्रेष्ठ, नेपालकी फिल्म निर्माण सल्लाहकार० प्रसुना डङ्गोल लगायतको उपस्थिति थियो। महोत्सवमा भएको ‘प्यानल डिस्कसन’ मा डेलिगेट्सहरूको सहभागिता थियो।

महोत्सवमा नेपाली र विदेशी गरी १३ वटा चलचित्र प्रदर्शन गरिएको थियो। कम्बोडियाको ‘सेक्रेट किलर’, ट्युनिसियाको ‘द नाइट अफ द ब्लाईन्ड मुन’, तान्जानियाको ‘मुहाली’,  किर्गिस्तानको ‘सागा अन ओमेन’ लगायतका चलचित्रहरूको प्रदर्शन गरिएको थियो।

कार्यक्रमको उद्घाटनको क्रममा उपसभामुख राना मगरले फिल्ममेकरले उठान गरेका हरेक कथाले हाम्रो समाज बदल्ने क्षमता राख्ने बताइन्। 

कार्यक्रम समापन समारोहमा मन्त्री शर्माले समाज परिवर्तनमा महिला चलचित्रकर्मीहरूको प्रयास अनुकरणीय रहेको बताइन्। 

महोत्सवमा काठमाडौँ महानगरपालिका अन्तर्गतको युनेस्को चलचित्र नगरी परियोजना र चलचित्र विकास बोर्डले सहकार्य गरेका थिए। एक भिडियो सन्देशमार्फत महानगरपालिकाकी उप प्रमुख सुनिता डङ्गोलले यो चलचित्र महोत्सवलाई एउटा अवसरको रूपमा लिनुपर्ने बताइन्। 

महोत्सवको दौरान पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनालको उपस्थितिमा नेपालकी पहिलो महिला चलचित्र निर्देशक सुचित्रा श्रेष्ठलाई सम्मान गरिएको थियो।

रेडियो तथा टेलिभिजनमा आबद्ध महिला पत्रकारहरूको छाता सङ्गठन इन्टरनेशनल एसोसिएसन अफ वमन इन रेडियो एन्ड टेलिभिजन (आइर्वाट)को नेपाल शाखाले यो महोत्सवको आयोजना गरेको हो। 

नेपाली चलचित्र क्षेत्रमा रहेका रचनात्मक र सृजनशील महिलाहरू विविध कारणले पछाडि परेको कारण उनीहरूलाई प्रोत्साहन गर्न फेस्टिभल आयोजना गरिएको फेस्टिभल निर्देशक सङ्गीता श्रेष्ठले बताइन्। आइवार्टले महिला चलचित्रकर्मीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले फेस्टिभलको आयोजना गरेको आइवार्ट नेपाल च्याप्टरकी अध्यक्ष इच्छा गुरुङले जानकारी दिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .