कला


अर्को जुनी तिमी नै आमा हुनु मेरो

अर्को जुनी तिमी नै आमा हुनु मेरो

अमिरा सञ्जेल


अमिरा सञ्जेल
भदौ ३०, २०८० शनिबार १३:३७, काठमाडौँ

प्यारी आमा! तिम्रो यादले हरघडी हरबखत सताउँछ
कहिलेकसो उराठलाग्दा तिम्रै झल्को आँखाअघि आउँछ 

आमा! म कहिलेकाहीँ एकान्तमा भक्कानिएर रुन्छु
जब दुनियाँले बिचरी आमा नभएकी टुहुरी भनेको सुन्छु।

आमा! अब मलाई तिमीले झैँ बुझ्ने कोही रहेन
तिमी बादल पारि गएपश्चात् मेरो जिन्दगी कहिल्यै उस्तै भएन।

जब जब मेरा साथीहरुले आफ्ना आमाबारे कहानी सुनाएका छन्
विश्वास गर आमा! तब तिमीलाई सम्झी मेरा आँखाले आँसुको सागर खसाएका छन्।

आमा सपनामै भ एपनि आएर भन न- किन छाडेर गयौ यति छिटो?
तिमीबिनाको जिन्दगी भएको छ सारै रंगहीन, पीडादायी र रित्तो

अब म मेरा हार र पीडाका कहानी कसलाई पो बताऊँ?
आफैँ भन आमा! तिमीबिनाको कष्टकर जीवन म कसरी कटाऊँ!

तृष्णा मेटिन्न आमा तिम्रो मायाको, पाउँदा पाउँदै बुवाबाट असीमित माया
आत्मा तिम्रो यतैकतै छ जस्तो आभास हुन्छ, सँगै नभए पनि तिम्रो काया।

पोख्नु छ मनमा गुम्सिएका कुरा,आइदेऊ न सपनामा मै भए पनि
तिमीबिना संसार शून्य लाग्छ, वरिपरि चाहे हजारौँकै भीड रहे पनि।

तस्बिरमा मात्र सीमित भयौ आमा, अब म तिमीलाई भेट्न पाउन्न
तिम्रो काखमा पल्टेर रुँदै मनमा चलेको अशान्ति मेट्न पाउन्न।

आमा! तिम्रो दैवलाई भन न मलाई तिमी चाइन्छ
यसै दैव मेरी आमा खोसेर लग्न कहाँ पाइन्छ!

ए आमा! तिमी त तारा भयौ रे, देख्छौ होला है म राती रोएको
आमा तिमीले त्यहाँ आभास गर्छौ त मैले प्रेमले तिम्रो तस्बिर छोएको?

आमा तिमी नभए म आउन मिल्दैन त्यहाँ, तिम्रो यादले सताउँछ
धन्न आमा! धन्न तिम्रो त्यो मखमलको सारीले अझै तिम्रो स्पर्श प्रस्टैसँग बताउँछ।

एकदिन जगत्‌मा तिम्रो नाम राखेर आमा म पनि आउँछु
तिमी नहुँदा आफ्नाले गरेका अभद्र व्यवहारको कुरा लाउँछु

अनि आमा! हामी त्यहाँ वर्षौंपछि भेट्दा चैँ नटुटिने है
अर्को जुनी तिमी नै आमा हुनु मेरो अनि यो जुनीझैँ हामी नछुटिने है।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad