प्रज्ञा प्रतिष्ठान कमलादीमा यतिबेला मनोज गजुरेलसहितका चर्चित कलाकारले ‘२०८० सालको गाईजात्रा’ देखाइरहेका छन्।
१४ भदौमा परेको यस वर्षको गाईजात्रा पर्वको अवसरमा ब्राण्डवर्थ प्रालिले जेसिस, लायन्सलगायतका संस्थासँगको सहकार्यमा मनोरञ्जनात्मक प्रस्तुति ‘गाईजात्रा’ देखाएको हो।
प्रज्ञा भवनमा १४ भदौदेखि सुरु भएको गाईजात्रा १७ भदौसम्म सञ्चालन हुने कलाकार प्रभात लामाले जानकारी दिए। बिहीबार साँझ विभिन्न राजनीतिक दलका चर्चित नेता, पत्रकार र कलाकारहरुले पनि प्रतिष्ठानमा पुगेर कलाकारहरुको गाईजात्रे प्रहसन हेरेका छन्।
‘२०८० सालको गाईजात्रा’ नाम दिइएको यस वर्षको गाइजात्रे प्रस्तुतिमा चर्चित कलाकार मनोज गजुरेलसहित कलाकारले दर्शकको मन जित्ने प्रयास गरिरहेका छन्।
गाईजात्रामा मनोज गजुरेल, शैलेन्द्र सिम्खडा, टीका भण्डारी, सुबोध गौतम, प्रभात लामा, चक्र दबाडी, मेक्सम गौडेल, सुन्दर खनाल ‘चिप्लेटी अङ्कल’, सीता न्यौपाने, रुविना अधिकारीलगायत कलाकारको जीवन्त अभिनय देख्न सकिन्छ।
कलाकारहरुले दर्शकलाई हाँस्यव्यंग्य प्रस्तुतिका साथै भरपुर मनोरञ्जन गराउने प्रयास गरिरहेका छन्।

आयोजक संस्थाले विराटनगर, बर्दिबास, चन्द्रनिगाहपुर, सैनामैना र दाङमा ‘गाईजात्रा’ देखाएपछि १४ भदौबाट प्रज्ञा प्रतिष्ठानमा ‘२०८० सालको गाईजात्रा’ देखाउन थालेको हो।
कोरोना महामारीको समयदेखि रोकिँदै आएको ‘गाईजात्रा शो’ यस वर्षदेखि पुनः प्रहसन गर्न थालिएको संस्थाले जनाएको छ।
कोरोना महामारीको समयमा पनि ब्राण्डवर्थ प्रालिले डिजिटल गाईजात्रा गरेर दर्शकलाई मनोरञ्जन प्रदान गरेको थियो।
यसपटक रंगमञ्च सँगसँगै टेलिभिजनमा पनि डिजिटल गाईजात्रा प्रशारण गरिने वरिष्ठ कलाकार मनोज गजुरेलले जानकारी दिए।
गाईजात्रामा कलाकार गजुरेलले ट्विटरका मालिक यलन मस्क बनेर नेपालका चर्चित वैज्ञानिक महावीर पुन (प्रभात लामा)सँग गरेको संवाद तथा स्वर्गमा बीपी कोइराला र मदन भण्डारीबीचको संवाद उत्कृष्ट देखिन्छन्।
गाईजात्रामा कलाकार चक्र दबाडीले बीपी तथा मनोज गजुरेलले भण्डारीको भूमिकामा रहेर ‘स्वर्गालाप’ गरेका छन्। जसमा नेपालको समसामयिक राजनीतिक विकृति विसंगतिप्रति तिखो व्यंग्य प्रहार गरिएको छ।
कलाकार प्रभात लामा नेपालका चर्चित वैज्ञानिक महावीर पुनको भूमिकामा उत्कृष्ठ देखिएका छन्।

गाईजात्रा हेर्न प्रत्येक एपिसोडमा देखिएको दर्शकको खचाखच उपस्थितिले आफूहरु उत्साहित बनेको लामाले बताए।
Shares

प्रतिक्रिया