ad ad

कला


‘मास्टर्नी’को निर्देशमा ‘मितिनी’ टेलिश्रृंखला (भिडिओ)

‘मास्टर्नी’को निर्देशमा ‘मितिनी’ टेलिश्रृंखला (भिडिओ)

नेपालखबर
साउन १६, २०८० मंगलबार १३:११, काठमाडौँ

समाजमा प्रायः रक्त–सम्बन्ध र वैवाहिक सम्बन्धको आधारमा नातागोताको निर्माण हुने गर्छ।

यीबाहेक अन्य विधिले पनि नातागोता र साइना स्थापित हुन्छन्। मित/मितिनी यस्तै साइनो जोड्ने नेपाली प्रचलन हो। 

आफ्नो वंश र गोत्रभन्दा बाहिर, एउटै उमेर समूहमा, महिला–महिलाबीच, पुरुष–पुरुषबीच दुई व्यक्ति औपचारिक विधि अनुष्ठान गरेर मित–मितिनी लगाउने गरिन्छ।

दुईजना मित–मितिनी भएपछि एक–अर्काको परिवारको सदस्य पनि स्वतः नातामा गाँसिन्छन्।

आफ्नो मित–मितिनीको परिवारका सदस्यलाई पनि आफ्नै आमा, बुबा, दिदीबहिनी, दाजुभाइ मानेर व्यवहार गर्नुपर्ने हुन्छ।

यसरी पहिले नाता नभएको परिवारसँग मितेरी परम्परामार्फत एउटै पारिवारको नाता साइनो स्थापित हुन्छ। मित/मितिनी साइनोलाई जीवन्त र अर्थपूर्ण राख्न एकअर्काको दुःखसुखमा सहभागी हुने, नाम काडेर नबोलाउने इत्यादि दुवै पक्षबाट पालना गरिनुपर्ने हुन्छ।

त्यसैले मितेरी साइनो दुई व्यक्तिले मित्रता गाँस्नेसँग मात्रै सीमित छैन। यो विशेष प्रकारको सम्बन्ध हो।

जातीय र सांस्कृतिक बहुलता भएको नेपाली समाज र विभिन्न समुदायबीच सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक आवश्यकताका कारण मितेरी प्रथाले व्यापकता पाएको छ।  फरक ठाउँमा फरक जाति र समुदायसँग घुलमिल हुन मितेरी साइनो उपयोगी बनेको छ। 

मितेरी साइनोले केही हदसम्म जातीय र वर्गीय तहगत संरचनाभित्र पनि हार्दिकता, पारस्परिकता र सम्मानका साथ बाँच्न सिकाएको छ।

अन्तरजातीय सामाजिक सम्बन्धलाई प्रर्वद्धन गरेको छ। तर, पछिल्लो समय मितेरी साइनो हराउँदै गएको छ।

यसै मितेरी साइनोलाई जीवन्त बनाइ राख्न मौलिक फिल्मस् प्रा.लिले धारावाहिक टेलिश्रृङ्खला ‘मितिनी’ ल्याएको छ।

सोमबार खीर खाने दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रमबीच ‘मितिनी’को सुरुवात गरिएको छ।

कलाकार अनिता बस्नेतको निर्देशन र लेखन रहेको टेलिश्रृङ्खलामा गाउँघरकै परिवेश  समेटिएको छ।

यसमा गाउँघरमा देखिएको सामाजिक विषय वस्तु उठान गरिएको छ। आफ्नो जन्मथलो ओखलढुङ्गामा बहुजातीय रहेकाले त्यहाँका विविधता मितिनीमा देखाउने प्रयास गरेको निर्माता तथा निर्देशन बस्नेतले बताइन्।

‘हल्का रमाइलो’ टेलिश्रृङ्खलामा राजु मास्टरकी श्रीमतीको भूमिका चर्चित बस्नेतकाे ‘मिनिती’मा मुख्य अभिनय छ। उनको मितिनीको भूमीकामा सविना आचार्य छिन्।

अनिता र सविनासँगै यस टेलिश्रृङ्खलामा सविन बास्तोला, रोशनी सापकोटा, इन्द्रजित चौलागाईँ, गीता थापा, एकिन्द्र सरशंकर, लेखान्त भुसाल, रमेश बुढा मगर, उषा सुवेदी, राजु सिङ्ग, प्रताप बस्नेत, सम्झना बस्नेत, इन्द्रबहादुर थापालगायतका अभिनय रहेको छ। 

टेलिश्रृङ्खलाको गीत डीपी खनालले लेखेका हुन् भने शंकर थापाको म्युजिक छ। उषा गजुरेल र मुना थापाले गाएको गीतलाई नरेन्द्र वियोगीले एरेन्ज गरेका छन्। 

टेलिश्रृङ्खला हरेक सोमबार बेलुका ७ः३० बजे अनिता बस्नेत नामक युट्युब च्यानलबाट प्रसारण हुने छ।

भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .