कला


नेपाली साहित्य अहिले पनि पञ्चायतकालीन अवस्थामै छ : उपन्यासकार परिवाग

नेपाली साहित्य अहिले पनि पञ्चायतकालीन अवस्थामै छ : उपन्यासकार परिवाग

नेपालखबर
साउन ६, २०८० शनिबार ७:२४, काठमाडौँ

लेखक होम परिवागको तीन दशकअघि प्रकाशित उपन्यास ‘याद हराएको मान्छे’ अहिले पुनःप्रकाशित भएको छ। सामाजिक यथार्थमा आधारित उपन्यासले ४० को दशकको काठमाडौं तथा नेपालको पहाडि जनजीवनको कथा भनेको छ। उपन्यास मूलतः प्रेमकथा हो। बेलायतमा बस्दै आएका परिवागले नारायणगोपालको निधनलगत्तै नारायणगोपालका गीतहरूको संग्रह ‘यात्राहरू नारायणगोपालका’ प्रकाशित गरेका थिए। उक्त गीतिसंग्रह पनि अहिले सोसाइटी बुक्सले पुनःप्रकाशित गरेको छ। परिवागसँग यिनै विविध विषयमा नेपालखबरले गरेको कुराकानी :

याद हराएको मान्छे ४० को दशकको नेपाल चिनाउने उपन्यास हो। अहिले पुनःप्रकाशन गर्नुको कारण के हो? 
उपन्यासको लेखनकाल पञ्चायतकालको एक उत्कर्षको समय थियो। आफू एक १८/१९ वर्षे नौजवान, भर्खर विद्यालय शिक्षा सकेर बाहिरी दुनियाँमा होमिएको समय थियो त्यो। एक नवयुवाले समाजमा के देखिरहेको छ भन्ने कथाहरूको पूर्जाका रूपमा यो तयार भयो।

मैले उपन्यासको लेखन एसएलसी परीक्षा सक्नासाथ थालेको हुँ। त्यस बेला जनआन्दोलनको लहर सुरु भइसकेको थिएन। यद्यपि समाज भने एक प्रकारको अप्ठ्यारो सन्नाटामा बाँचिरहेको थियो। नेपालको भूभाग थियो, आकार थियो, प्रकार थियो, देश थियो, समाज थिए, मानिसहरू थिए, तर पनि के–के थिएनन्। जुन राम्रा थिए –खास गरी भित्री नेपालका समाजहरूमा। ती के थिए, थिएनन् भन्नेको फिरहस्त लेखन प्रक्रियायामा, मानव र पात्रहरूबीच नै उत्पत्ति हुँदा रहेछन्। तिनकै कथात्मक टिप्पणी र विषय वस्तु हुन् उपन्यासका पात्र। 

जहाँसम्म अहिले किन पुनः प्रकाशन गरियो भने प्रश्न छ, त्यसवेलाको नेपाल र अहिलेको नेपालमा तादात्म्यता छैन। समय बित्यो। जनसंख्या बढ्यो, कतिपय विकासका कामहरू पनि भए। परिवर्तन भयो। तर ती परिवर्तनमा नेपाल र नेपाली बाँच्ने शैलीमा खासै रचनात्मकता आएको देख्न सकिरहेको छैन। यी सबैले एकखालको ‘अवस्थिति’ र ‘चिन्तन’ को शैली र भावलाई प्रस्तुत गर्छन्। यसैले पनि नेपाली साहित्य अहिले पनि पञ्चायतकालको अवस्थामा छ। लेखनको स्टाइल, शैली, विषयवस्तु उस्तै छन्।

परिवर्तनहरू भए, तर अहिले पनि अस्तव्यस्तता, कूटीलपन, पीडा, छटपटी, अन्याय, अत्याचार आदि समाजमा यथेष्ठ छन्। ती कतिपय आन्तरिक छन्, कतिपय बाह्य पनि। यसै कारणले होला साहित्य पनि त्यही समयमा रुमलिएको छ।

र मैले तिनलाई तुलनात्मक रुपमा मनन गर्न सजिलो होस् भन्ने हेतुले पनि उपन्यासलाई पुनः प्रकाशन गरेको हुँ। यसमा अहिलेका नयाँ जेनेरेसनका युवा–युवतीलाई आफ्नो देश र समाजको चित्रणको महशुस होस् भन्ने पनि मेरो शुशुप्त कामना हो। र अर्को कारण हो कारणवश म विदेशिए पनि लेखन भुलेको छैन, देश भुलेको छैन।

पछिल्लो दशक नेपाली आख्यानको लागि निकै उर्वर देखियो। समकालीन नेपाली आख्यान कस्तो पाउनुहुन्छ?
नेपालमा साहित्यको विकास मौलाएको पाएको छु। उपन्यास, कथा तथा कविता लेखन, प्रकाशन र तिनले ल्याएका अन्योन्याश्रित विविधताले नेपाली साहित्यलाई धनी र शक्तिशाली बनाएको पाएको छु। आख्यानमा नयाँ प्रयोगहरू भइरहेका छन्। भाषा, लेखन र तिनका शिल्पहरूको क्रमगत विकास र अन्य साहित्य र सिर्जनाका क्षेत्रले ल्याएका प्रगति र उत्थानबाट म प्रगल्भित र खुशी छु।

नेपालबाहिर बसेर नेपाली साहित्यलाई नियाल्दा वा भनौं अध्ययन गर्दा कस्तो अनुभव हुने रहेछ ? 
मनले सधै आफू जन्मेको, हुर्केको, खेलेको ठाउँलाई आत्मसात गर्दो रहेछ। मान्छेको चेतना, संवेदना र भावनाले आफ्ना र आफ्नोपनलाई खोजिरहेको हुने रहेछ। एक लेखक, कविलाई आफ्नो भाषा, देश र भित्रहरूको गतिविधि –खासगरि साहित्य र सृजनात्मक गतिविधिमा चासो हुनु सामान्य नै हुनुपर्छ। यद्यपि, आफू विदेशमा रहँदा, त्यहाँकै हावापानी र रहनसहनमा घुलमिल हुनुपर्दा कहिलेकाही सम्पर्क र सम्बन्धमा छिचरोपन र दूरी उत्पन्न हुने गर्दो रहेछ।

त्यही दूरीलाई निमिटयान्न पार्न पनि आफ्ना देश र भाषाका साहित्य र सिर्जनालाई मनन गर्ने, अध्ययन गर्ने काममा मन लालायित हुने हुँदा मनमा अनेक चिन्तन र विचारहरू उत्पत्ति हुने हुँदा रहेछन्। समग्रमा आफ्नो भाषा, साहित्य र लेखनमा समाहित हुन पाउँदा मनमा एक प्रकारको ‘सन्तोष’ हुँदो रहेछ। 

बेलायतमा नेपाली साहित्यको अवस्था कस्तो छ? स्तरको गहिराईको समस्याको कारण के होला?
वेलायतमा नेपाली साहित्यको प्रकृया र प्रावधानहरूको राम्रै बाटो लिएको मैले महसुस गरेको छु। स्तर र गहिरो रचनात्मकताले स्थान लिएको छ कि छैन भन्ने प्रसङ्गमा मेरा भवनाहरू काकाकूल भएर छरिन सक्छन्। तर स्तरको गहिराइमा के कारणले कमी भएको हुन सक्ला भन्नेको कटाक्ष र कारणलाई म राम्ररी बुझ्दछु। यहाँ परदेशी भएर आएपछिको जीवनले भोग्ने भोगाई नेपालमै हुँदाखेरीको भोगाई र अनुभवसँग उस्तो तालमेल हुँदैन।

कमाउन र बाँच्न अनि गरीखान वेलायतमा मानिसहरू व्यस्त हुन्छन्। साहित्य र सिर्जना शरीर र मनमष्तिष्कको व्यस्ततामा नभई शरीर र मनको शान्तपन हुँदा हुँदै पनि यहाँको समाजको भागदौडमा सामेल हुँदा–हुँदै पनि बचेखुचेको समयमा वेलायतमा रहने नेपाली सजेकहरूले निक्कै राम्रो प्रगति र मिहनत गर्नु भएको मैले महशुश गरेको छु। 

नेपाली साहित्य र सिर्जनासँग संबन्धित संघसस्थाहरू पनि तुलनात्मक रुपमा विकसित भएका छन् –प्रष्फुटित रहेका छन्। प्रविधि र माध्यमहरूमा आइरहने उग्र–परिवर्तनले पनि सर्जकहरूलाई एक प्रकारले तहसनहस बनाएको छैन। लेख्ने, पढ्ने, पढाउने काम अब देखाउने, सुन्ने र सुनाउनेमै ज्यादा व्यस्त हुन परेकोले नेपाली भाषामा माग नभई संसारकै स्रष्टाहरूलाई एक प्रकारको आँधी हुरीमा धकेलिएको पाएको छ। अतः लेखक स्रष्टाहरूलाई आफूले जानेको, बुझेको विषयमै खुशी हुन सकेर सिर्जनाको माहौलमा ज्याखा लाग्न, नकि समाजिक सञ्जालका ‘छटपटे’ प्रभावको प्रवाह गर्न छोडेर, निरन्तरको सिर्जनामा लागिरहन म सबै सर्जकलाई अनुरोध पनि यसैवखत् गर्न चाहन्छु। किनकी खूद सिर्जना नै अन्ततः वास्तविक सिर्जना बनेर समयलाई सम्मान गर्नेछ भविष्यमा पनि। 

नारायणगोपालको निधनलगत्तै गीतिसंग्रह प्रकाशित गर्नुभयो। नारायणगोपालको समग्र जीवनी नै प्रकाशित गर्नुपर्छ भन्ने कि ठान्नुभएन?
नारायणगोपालले जसरी हामीलाई अल्पायुमै छोड्नु भयो, उहाँको निधनले म पनि शोकाकुल र स्तब्ध भएको थिएँ। वीर अस्पतालको आइसीयुमा भेट्न/हेर्न जाने काम उहाँ अस्पतालमा रहुञ्जेल, अरुले सरह मैले पनि गरेँ। र उहाँको निधन पश्चात् ‘प्रज्ञा प्रतिष्ठान’ को प्रांगणमा राखिएको पार्थिव शरीरमा मैले फूलमाला पनि अर्पण गरेँ। जब उहाँको शवदाहन भयो र उहाँ सदाको लागि हराउनु भयो भौतिक रुपमा –मलाई आत्मिक रुपमा उहाँको सम्मान र स्तूति को लागि केही गर्न मन लाग्यो। त्यसवेला यसो सोचेँ, के हुन सक्ला त्यस्तो काम –जस्ले उहाँलाई निरन्तर सम्मान अर्पण गरिरहोस्। त्यही अभिलाषामा मैले उहाँको स्वरमा आंकन गर्नु भएका आवाजहरूलाई फेरि लेखाइका शब्दहरूमा ढाल्ने र तिनलाई संग्रहको स्वरुपमा प्रस्तुत गर्न चाहेँ।

भाग्यवश अवसर लिएको माध्यम हो –यात्राहरू नारायण गोपालका पुस्तक। मलाई पुस्तक र लेखिएका/छापिएका अक्षरहरू नै कालान्तरसम्म दीगो रहने माध्यम लाग्दछ। पुस्तकका लेखन, छपान र तिनका दस्तावेजीकरणमा ठूलो आनन्दीका महसुस हुन्छ।

एक जना मित्रले नाराण गोपालका बारेमा जीवनी नै लेख्न पनि सुझाव दिनुभएको थियो। र लेखेँ पनि। त्यो छपानको प्रकृयामा गएको थियो। अतः उहाँका जीवनीको स्थानलाई पनि मैले सम्मान गर्न खाजेको हो। त्यसैबीच उच्च शिक्षाका लागि विदेशिएँ। तर अब लाग्छ नारायण गोपालप्रति का रिसर्च र अध्ययन गर्न अझै समय मिलोस्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad