ad ad

कला


मोदीविरोधी अभियानमा नसिरुद्दीन

मोदीविरोधी अभियानमा नसिरुद्दीन

नेपालखबर
असार १९, २०८० मंगलबार ९:३६, काठमाडौँ

'कुछ देर की खामोशी है फिर शोर आएगा
तुम्हारा सिर्फ वक्त आया है हमारा दौर आएगा'

सामाजिक सञ्जाल ट्विटरमा भारतीय कांग्रेस पार्टीका नेता राहुल गान्धीको तस्बिरसहित अभिनेता नसिरुद्दीन शाहले लेखेका छन्।

भारतीय चलचित्र उद्योगका अनुभवी अभिनेता उनी आजकाल फिल्म भन्दा राजनीतिक टिप्पणीका कारण चर्चामा छन्। उनले गरेका ४ फिल्म सन् २०२२ र एक यो वर्ष रिलिज भएको थियो। 

कलात्मक चलचित्रमा दरिलो अभिनयका साथ धेरैको प्रशंसा पाएका उनको चासो अचेल राजनीतिमा छ। उनी ट्विटरमा हरेक दिन भारतीय राजनीतिमाथि टिप्पणी गरिरहेका हुन्छन्। उसो त उनी प्रधानमन्त्री नरेन्द्र मोदीका कट्टर विरोधी पनि हुन्। 

सत्तारुढ भारतीय जनता पार्टी र प्रतिपक्षी दल कांग्रेसको ट्विटर हेर्ने हो भने अचेल त्यहाँ रमाइला मेमहरू शेयर भइरहेका हुन्छन्। दुई दलले एकअर्कालाई उडाएर विभिन्न मेम सेयर गरिरहेका हुन्छन्। यी दुईबीच साइबर युद्ध चलिरहेको छ। जसमा नसिरुद्दीन स्पष्ट रूपमा कांग्रेसको पक्षमा उभिएका छन्।

उसो त उनी कांग्रेसको सदस्य होइनन्। तर ९ वर्ष मोदी शासन झेलेका उनी भाजपाको नजिकको प्रतिद्वन्द्वी दलको समर्थनमा उभिएका हुन्। उनी जसै अब मोदी सरकार हट्नुपर्छ भन्ने मत राख्छन्।

एक साताअघि भाजपा प्रवक्ता संवित पात्राले राहुल गान्धीले टेम्पो चलाइरहेको मेम राख्दै लेखे, 'हाम्रो घोटालामा मिटर कहिल्यै डाउन हुँदैन।' त्यसमा नसिरुद्दीनले जवाफमा गौतम अदानी र मोदीको तस्बिर राख्दै भनेका छन्, 'चोर-चोर भाइभतिजा।' अर्थात् एकै स्वभावका चरा सँगै बस्छन्। प्रधानमन्त्री मोदीले अदानी समूहलाई अनुकूल हुने कैयौँ नीति बनाएका छन्। उनी धेरै कार्यक्रममा अदानी समूहसँग सँगै पनि देखिन्छन्। त्यसैले भारतीय प्रधानमन्त्री मोदीलाई यो आरोप छ कि उनको अदानी समूहसँग साँटगाँठ छ। 

नसिरुद्दीनको आरोप छ मोदी सरकारलाई अदानी ग्रुपले चलाइरहेको छ।

नसिरुद्दीनले मणिपुर घटनाबारे पनि टिप्पणी गरेका छन्। उनले फरक ट्विटमा भनेका छन्, 'हाम्रो मणिपुर जलिरहेको छ' र 'मणिपुर त्रस्त, प्रधानमन्त्री मस्त।' 

९ वर्षअघि सिलिन्डरको मूल्य भारतमा ४ सय रुपैयाँ थियो। तर मोदीको कार्यकालमा बढेर त्यो १२ सय पुगेको छ। नसिरुद्दीन भन्छन्, 'मोदी सरकारमा गरिबी, लुट, महँगी बढेको छ, यो गरिबमारा सरकार हो।'

भाजपाको विरोध गरिरहँदा नसिरुद्दीन कांग्रेसको खुला समर्थन भने गर्छन्। उनले राहुल गान्धीको जन्मदिनदेखि गान्धीले गर्ने गतिविधिलाई समेत समर्थनमा रिट्विट गर्ने गरेका छन्। उनले एकपटक स्पष्ट भनेका थिए, 'मेरो नेता राहुल गान्धी।'

जब मोदीले कांग्रेसको ७० वर्षको हिसाब मागे, नसिरुद्दीनले भनेका थिए, '७० वर्षको हिसाब उसैलाई चाहिएको छ, जो आफ्नो ९ वर्षको हिसाब दिन सकिरहेको छैन।'

उसो त ५ वर्षअघि उनले खुलेरै मोदीविरुद्ध अभियान चलाएका थिए। २०१८ मा सम्पन्न लोकसभा निर्वाचनमा उनीसहित अनुराग कश्यप, कोनकोणा सेन शर्मा, रत्ना शाह, मानव कौललगायत ६ सय रंगकर्मीले हस्ताक्षरसहित भाजपाविरुद्ध क्याम्पियन समेत चलाएका थिए।

मोदीले देशका लाखौँ जनताको रोजीरोटी खोसिदिएको आरोप उनको थियो। मोदीले वाक स्वतन्त्रतामा समेत अंकुश लगाएको आरोप लगाउँदै उनीहरूले भनेका थिए, 'बिना सवालजवाफ, बहस र जीवन्त प्रतिपक्षबिना प्रजातन्त्र फस्टाउन सक्दैन। वर्तमान सरकारले यी सबै चिजलाई ठोस रूपमै कमजोर पारेको छ।'

तर भारतमा धेरै कलाकार मोदीका प्रशंसक पनि छन्। ३ वर्षअघि मोदीका प्रशंसक अनुपम खेर र नसिरुद्दीन बीच वाकयुद्ध पनि चलेको थियो। नागरिकता  कानूनले धर्मको आधारमा नागरिकमाथि विभेद गरेको भन्दै नसिरुद्दीनले सरकारको आलोचना गरेका थिए। त्यही क्रममा मोदीभक्त अनुपमले 'नसिरुद्दीन कुण्ठित हुन्' भन्दै खरो आलोचना गरेका थिए। जवाफमा नसिरुद्दीनले अनुपमलाई 'जोकर' भनेका थिए।

सरकारका हरेक गतिविधिको खबरदारी गरिरहेका उनीमाथि कांग्रेसको प्रवक्ता बनेको आरोप समेत लाग्ने गरेको छ। उनी चाँडै राजनीतिमा प्रवेश गर्न लागेको हल्ला पनि छ, तर उनी स्वयंले भने यसबारेमा केही बताएका छैनन्।

सरकारका नराम्रा कामको आलोचना गरिरहेका नसिरुद्दीन मुस्लिमलाई विभेद गरिएको कानुन ल्याएपछि थप रुष्ट बनेका हुन्। 

केही वर्षअघि सरकारको आलोचनाकै कारण उनी विवादमा समेत तानिएका थिए।

त्यसपछि उनले सरकारले साम्प्रदायिक द्वन्द्व बढाएको आरोप लगाएका थिए। उनले भनेका थिए, 'म मेरो सन्तानको भविष्यलाई लिएर चिन्तित छु, भोलि भीडले उनीहरुलाई तिमी हिन्दु हौ कि मुस्लिम भनेर सोध्यो भने उनीहरुसँग जवाफ हुन्न।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .