ad ad

कला


बोतल प्रहारले प्रकाश सपुत विक्षिप्त

बोतल प्रहारले प्रकाश सपुत विक्षिप्त

फाइल तस्बिर : गायक प्रकाश सपुत


नेपालखबर
असार १५, २०८० शुक्रबार १५:२३, काठमाडौँ

गायक प्रकाश सपुतले रोमानियामा गीत गाइरहेका बेला आफूलाई बोतल प्रहार गरिएको घटनाले आफू विक्षिप्त भएको बताएका छन्।

नेपाली समयानुसार यही असार १० गते राति १२ बजे रोमानियामा आयोजित कन्सर्टमा गीत गाइरहेका बेला सपुतलाई दर्शकको भीडबाट अचानक बियरको बोतलले हानिएको थियो। बोतलले लागेर उनको नाकबाट रगत आएको थियो। 

उनलाई बोतल प्रहार गर्ने नेपाली युवकलाई तत्काल त्यहाँको प्रहरीले गिरफ्तार गरेको थियो भने आयोजकले उजुरी पनि दर्ता गराएको थियो। तर आफूले गर्दा एकजना नेपाली नै युवकको भविष्य बर्बाद हुने भन्दै उनीवरुद्धको मुद्दा फिर्ता लिन आयोजकलाई आग्रह गर्दै दोषीलाई माफी दिएका थिए। बरु उनले आफूलाई बोतल आक्रमण गर्ने युवकलाई भेटेर यस्तो व्यवहारले आफ्नै जीवन बर्बाद हुने जानकारी गराउँदै आइन्दा यस्तो काम नगर्न सम्झाएका थिए। 

तर यतिबेला आफूलाई त्यो घटनाले मानसिकतामा ठूलो चोट पुर्‍याएको उल्लेख गरेका हुन्। 

‘घटनासँग अरू कुनै खराब नियत र उद्देश्य नजोडिएको भए पनि सार्वजनिक रूपमा भएको यो घटनाले मेरो मनमा गहिरो चोट पुगेको छ’, प्रकाशले भनेका छन्, ‘अहिले मानसिक रूपमा अलि विक्षिप्त भएको छु।’

यस क्रममा गायक सपुतले आफूलाई निरुत्साहन गर्न नियोजित रूपमा उक्त घटना गराइएको हुनसक्ने आशंका पनि गरेका छन्। तर कुनै विचार, वचन र बोतल प्रहारले आफ्ना सिर्जना र कला यात्रा नरोकिने उनले बताएका छन्। 

‘अब गोली नै ठोके त अलग कुरा भयो तर कसैले यस्ता सानातिना घटना घटाएर, निरन्तर नकारात्मक व्यंग्य र विचार प्रवाह गरेर, प्रत्यक्ष/अप्रत्यक्ष वचन लगाएर खराब नियतवश मलाई निरुत्साहित गर्ने सोचिरहनुभएको छ भने तपाईं अलरेडी असफल सोचमा हुनुहुन्छ’, प्रकाशले भनेका छन्, ‘किनकि  मानिसहरूलाई मनोरञ्जन प्रदान गर्ने, प्रेम र खुसी बाँड्ने र आफ्नो सिर्जनामार्फत समाज, सरकार र व्यवस्थालाई प्रश्न गर्दै अगाडि बढ्ने मेरो यात्रालाई अब कुनै विचार, वचन र बोतलको प्रहारले रोक्न सक्दैन।’ 

यस्तो छ प्रकाशले लखेको पूरा स्टाटस

सर्वप्रथम घटनाको घोर भर्त्सना र निन्दा गर्दै कला र कलाकारको सम्मान र सुरक्षाको पक्षमा वकालत गर्नुहुने सम्पूर्ण कलाकर्मी, संगीतकर्मी, अधिकारकर्मी, मिडियाकर्मीहरू, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानलगायतका सम्पूर्ण संघसंस्थाहरूलाई धन्यवाद! घटना थाहा पाएर चासो, चिन्ता र शुभेच्छा प्रकट गर्नुहुने संसारभरि छरिएर रहनुभएका नेपाली शुभेच्छुक, शुचिन्तकहरूमा आभारी छु। मायाको साटोमा माया।
घटनासँग अरू कुनै खराब नियत र उद्देश्य नजोडिएको भए पनि सार्वजनिक रूपमा भएको यो घटनाले मेरो मनमा गहिरो चोट पुगेको छ। अहिले मानसिक रूपमा अलि विक्षिप्त भएको छु। हुन त सार्वजनिक छवि भएका संसारभरिका विभिन्न व्यक्तिहरूको जीवनमा आइपर्ने यस्ता घटना र किस्साहरू पढ्दै, सुन्दै आएको हो। तर स्वयम् आफूचाहिँ तयार भइसकेको रहेनछु।

भर्खर यात्रा सुरु गरेको छु। यात्रा सजिलो छैन भन्ने त थाहा छ तर यस्तो अनेपक्षित घटनाहरूले यात्रा अप्ठ्यारो मात्रै होइन, डरलाग्दो  पनि रहेछ जस्तो अनुभव भइरहेको छ। कोभिड पछाडि यस्तो डर (एन्जाइटी) लाई पटकपटक जित्दै आएको भएर यो डर पनि जित्ने छु। जित्नुपर्छ। (मानसिक स्वास्थ्यबारे खुलेर कुरा गरौँ है) 

बोतल प्रहार गर्ने युवाको आचरण र परिस्थिति म राम्रोसँग जान्दछु। मैले मेरो जीवनकालमा यस्तो स्वभावका धेरै साथीहरूको संगत गरेको छु। त्यसमाथि सानै उमेरमा ठूलो रकम तिरेर विदेश जानुपर्ने बाध्यताले धेरै नेपालीहरूमा चरम निराशा र मानसिक स्वास्थ्य समस्या देखिन थालेको छ। म विदेश कार्यक्रमहरूमा जाँदा प्रायः सबै ठाउँमा यो विषयमा छलफल हुने गरेको पनि छ। यो घटना एउटा संयोग मात्रै होइन, हाम्रो बाध्यता र परिस्थितिको उपज पनि हो। मैले आफ्नो सिर्जनामा यो विषय समेट्दै आएको छु। र, सधैँ हाम्रो राज्य व्यवस्था, सरकार र नेतृत्वसँग  प्रश्न गरिरहनेछु। 

अन्त्यमा
यो तस्बिर पनि रोमानियाकै हो। हामी लन्चको लागि एउटा इटालियन  रेस्टुरेन्टमा जाँदा म आएको थाहा पाएर भित्र किचनमा काम गरिरहेका नेपाली दाजुहरूले म्यानेजरसँग अनुरोध गरेर आफ्नो कामको पोसाकमै मसँग तस्बिर लिनुभएको थियो।

पछि म्यानेजरले रोमानिया भाषामै हामीलाई भन्दै थिए, ‘यिनीहरूलाई यति धेरै खुसी मैले कहिल्यै देखेको थिइनँ।’ यो सुनेर म झनै खुसी भएँ। हामी सबै आफ्नो-आफ्नो कर्म गरेर जीवन चलाउँछौँ। जीवन कटाउँछौँ। यसरी आफ्नो कर्मले अरूलाई खुसी बाँड्न पाउनु नै मेरो जीवनको सबैभन्दा ठूलो उपलब्धि हो। मैले कमाएकै तपाईंहरूको प्रेम हो। शुभेच्छा हो र आम मानिसको भन्दा अलिकति फराकिलो पहिचान हो।

बाँकी धनपैसा त अरू कुनै पेसा गरेर पनि कमाउन सकिन्थ्यो, किनकि म पहिलेदेखि नै आफ्नो परिवार, जीवन र भविष्यप्रति जिम्मेवार र सचेत मानिस हुँ। एक किसिमको प्रगति मैले जुनसुकै पेसामा पनि गर्न सक्थेँ। 

जीवन आफैँमा एउटा यात्रा हो। यो यात्राको लागि म हिँडेको बाटो मेरै रोजाइ हो। यसका सबै उतारचढाव स्वीकार्य छ। तर यस्तो घटना घटाउने र माफीमै मिलाउने गलत नजिर नबसोस्। प्रेम, सम्मान, सुरक्षा, संस्कार, हार्दिकता,  मानवता हामी सबैमा हुन जरुरी छ। समय परिस्थितिवश यस्तो घटनाहरू घट्छन्। गल्ती कमजोरी हुन पुग्छन्। यसलाई जसोतसो स्वीकार्न र सन्तुलन गर्न सकिन्छ। अब गोली नै ठोके त अलग कुरा भयो तर कसैले यस्ता सानातिना घटना घटाएर, निरन्तर नकारात्मक व्यंग्य र विचार प्रवाह गरेर, प्रत्यक्ष/अप्रत्यक्ष वचन लगाएर खराब नियतवश मलाई निरुत्साहित गर्ने सोचिरहनुभएको छ भने तपाईं अलरेडी असफल सोचमा हुनुहुन्छ। किनकि  मानिसहरूलाई मनोरञ्जन प्रदान गर्ने, प्रेम र खुसी बाँड्ने र आफ्नो सिर्जनामार्फत समाज, सरकार र व्यवस्थालाई प्रश्न गर्दै अगाडि बढ्ने मेरो यात्रालाई अब कुनै विचार, वचन र बोतलको प्रहारले रोक्न सक्दैन। हस्, नयाँ सिर्जना र नयाँ कार्यक्रममा भेटौँला है। 

नमस्कार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .