कला


शाहरुख खानको छिमेकमा को बस्छन्? कस्तो छ अवस्था?

शाहरुख खानको छिमेकमा को बस्छन्? कस्तो छ अवस्था?

फाइल तस्बिर।


नेपालखबर
बैशाख २७, २०८० बुधबार १३:११, काठमाडौँ

शाहरुख खानको घर 'मन्नत'बाहिर प्राय: फ्यानहरूको भिड भइरहन्छ। उनीहरू शाहहरुखको जयकारमा नारा लगाइरहेका हुन्छन्।

प्रहरी लाठी प्रहार गरेर समर्थकलाई डराएर भगाउने प्रयास गरिरहेको हमेसा जस्तो देखिन्छ। आफूले स्टार मानेका अभिनेता शाहरुखलाई एकपटक हेर्न फ्यानहरु पर्खाल बाहिर उभिइरहन्छन्। कहिलेकसो घरमाथिबाट शाहरुख आफ्नो सिग्नेचर पोजमा दुवै हात फैलाएर फ्लाइङ किस गर्छन्, समर्थक हर्षविभोर बन्छन्।

ईद, जन्मदिन र फिल्म रिलिजको समयमा, कहिलेकाहीँ राति शाहरुख यसरी फ्यानहरूलाई हात हल्लाउँछन्।

मुम्बई क्षेत्रमा लगभग अधिकांश स्टार कलाकार बस्छन्। अर्का खान 'भाइजान' सलमानको बसाइ पनि यतै छ। यति मात्रै होइन, भारतीय अर्बपति मुकेश अम्बानीको क्रेज पनि उस्तै छ। उनका फ्यान पनि सलमान र शाहरुखका भन्दा कम छैनन्।

यी ठूला स्टारको दिनचर्या र बसोबासबारे त मिडियामा समाचार आइरहेकै हुन्छ। तर उनीहरूका छिमेकी को हुन् त? यो खासै चर्चा नहुने विषय हो।

शाहरुखको घर अगाडिको क्षेत्रलाई गणेश नगर भनिन्छ। संसारभर चम्किएका शाहरुख बस्ने यो बस्ती आफैँ भने केही अन्धकारमय छ। 

यस क्षेत्रमा करिब एक सय घर छन्। सय घरको क्षेत्रफल यति सानो छ कि, फिल्म स्टार त्यत्रो ठाउँमा त कार मात्रै पार्क गर्छन् होला। गल्ली यति साँघुरा, ओहोरदोहोर गर्दा दुई मान्छे सँगै हिँड्न मुस्किल पर्छ।

बीबीसी हिन्दीमा प्रकाशित रिपोर्ट अनुसार यी गल्लीमा बस्ने केही मानिस शाहरुखको घर हेर्न आउने फ्यानलाई खानेकुरा बेचेर आफ्नो दैनिकी चलाउँछन्। '१०–१२ वर्षकी पार्वती नाम गरेकी किशोरी मन्नतको गेट अगाडि समुन्द्रतर्फ मकै बेचिरहेकी छन्, पार्वतीका भाइ प्रेम नजिकै व्हीलचेयरमा बसिरहेका छन्,' बीबीसी हिन्दीका रिपोर्टर विकास त्रिवेदी रिपोर्टिङका लागि मन्नत पुग्दा देखेको दृश्य हो यो।

जब सूर्य मुम्बईको अरबी सागरमा अँध्यारो छोडेर डुब्छ, ह्वीलचेयरमा बसेका प्रेमले मकै बेच्ने पार्वतीलाई आफ्नो मोबाइल फोनको टर्चले उज्यालो दिन्छ। झारखण्डबाट मुम्बई आएकी पार्वतीको परिवार २०–२२ वर्षदेखि गणेश नगरमा बस्दै आएको छ।

पार्वती नजिकैको विद्यालय जान्छिन् र फर्केपछि मन्नत बाहिर आएका फ्यानहरूलाई मकै बेच्न थाल्छिन्।

प्रेमलाई केही सोध्नुभयो भने मुस्कुराइरहन्छन्। आँखा र इशाराले जवाफ दिन्छन्।

उनी ह्वीलचेयरमा कसरी पुगे? आमा नीरजा देवी भन्छिन्, ‘दिवालीका लागि घर रंगाउन रङ किन्न गएकी थिएँ। दुवै दाजुभाइ आउँदै थिए। पछाडिबाट ठुलो गाडीले ठक्कर दियो। गाडीले दुवै दाजुभाइलाई ठक्कर दिँदा एकको हात काटियो, अर्कोको खुट्टाले काम गर्न छोड्यो। तीन वर्ष भयो। अहिले उनी ह्वीलचेयरमा छन्।'

शाहरुखे तपाईंको अवस्था सुनिरहेको भए के भन्नुहुन्छ भन्ने प्रश्नमा उनी भन्छिन्- अलिकति सहयोग भए राम्रो हुन्थ्यो। बालबच्चा लिएर यताउता गरिरहन्छु। अहिले खाने पिउने ठेगाना छैन। केही बेच्न बस्यो, प्रहरीदेखि सबैले दु:ख दिन्छन्।

चाडपर्वमा शाहरुखको घरबाट छिमेकीलाई केही सहयोग आउँछ? यो प्रश्नमा पार्वती अचम्मित आँखाले हेर्छिन्। 

शाहरुखको बंगलाविपरीत रहेको घर देखाउँदै उनी भन्छिन्- दुर्घटनापछि त्यो घरमा बस्ने एक सज्जनले भने धेरै सहयोग गर्नुभएको थियो।

एकातिर अग्लो बंगला, अर्कोतर्फ कच्ची बस्ती।

कोली मछुवाहरू, वारली समुदायको मुम्बई सिघ्र अरुको हुँदै गएको छ। समानता शब्द मुम्बईमा मजाक बनिसकेको छ। स्टार र कुलीनहरूका घर पनि यसबाट टाढा छैनन्। प्रियंका चोपडाले किनेको नयाँ महँगो बंगला होस् वा शाहरुख, सलमानको घर।

एक हाउजिङ प्रोपर्टी वेबसाइटले शाहरुखको बंगलाको मूल्य करिब २०० करोड हुने अनुमान गरेको छ।

यही सडकको अगाडि एक पाँचतारे होटल पनि छ, जहाँ एक रात बसेको भाडा २५ हजार पर्छ। सडक छेउमा रहेको घरको मासिक भाडा करिब २ लाख पर्छ। 

सडकको अर्को छेउमा रहेको घर जसको भाडा करिब दुई लाख हुनेछ, एकै ठाउँमा तीन परिवार मासिक चारदेखि पाँच हजार रुपैयाँ भाडा तिरेर बस्छन्।

शाहरुखको छिमेकी हुनुका केही फाइदा पनि छन्। छिमेकी भएकाले आफन्तलाई बताउन सजिलो हुन्छ बस्ने ठेगाना। शाहरुखको छिमेकी भन्दा अरुले राम्रो प्रतिक्रिया पनि दिन्छन्।

एउटा पुरानो भनाइ छ कि अप्ठ्यारो समयमा छिमेकी सबैभन्दा पहिले काम लाग्छ। स्टारहरू बस्ने बस्तीमा पनि यस्तै हुन्छ? छिमेकी गंगा भन्छिन्, 'कोरोना अवधिमा दुई वर्षसम्म सेठहरूले धेरै सहयोग गरे। शाहरुख, सलमान आफै आएर दान गर्दैनन्। तर हुनसक्छ सहयोग पठाए कि अरुको माध्यमबाट!'

-बीबीसी हिन्दीबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad