ad ad

कला


प्रसाद २ : मायाभन्दा ठूलो के नै छ र... (प्रिभ्यु)

प्रसाद २ : मायाभन्दा ठूलो के नै छ र... (प्रिभ्यु)

भेषराज कार्की
बैशाख ५, २०८० मंगलबार २१:२२, काठमाडौँ

‘मायाभन्दा ठूलो नै के छ र’ यो गीतले राम्रो चर्चा पायो। चलचित्र ‘प्रसाद’मा सङ्गीत गीतले कथालाई व्याख्या गरेको छ। सुन्दरबस्तीमा बसोबास गर्ने शिक्षित युवा बाबुराम परियार र युवती नारायणी कार्की प्रेममा परेपछि उनीहरूले माया नै ठूलो ठान्छन्। यद्यपि उनीहरूको अन्तरजातीय प्रेमलाई समाजले स्वीकार्दैन। पेसागत रूपमा कपडा सिलाउने बाबुरामसँग गाउँले मुखियाले आफ्नी छोरी नारायणीको सम्बन्ध स्वीकार्दैनन्। फलतः प्रेमलाई संसार मानेको जोडी गाउँबाट सहर पस्छन्। 

शिक्षित समाज भनिएको सहरमा सामाजिक विभेद र निःसन्तान दम्पतीको पीडाबाट गुज्रिएका बाबुराम र नारायणीले नसोचेको घटना सामना गर्छन्। आफ्नै गाउँलेबाट सहरमा बलात्कृत नारायणीको जीवनमा झनै पीडा थपिन्छ। नारायणीबाट जन्मिएको बच्चालाई बाबुरामले ‘प्रसाद’का रूपमा ग्रहण गर्छन्। 

चलचित्रका लेखक सुशील पौडेलले नारायणीबाट जन्मेको सन्तान बाबुरामले प्रसादका रूपमा स्वीकारेको बताए। ‘मन्दिरमा चढाइएको फलफूल कसरी त्यहाँसम्म आइपुग्यो भन्ने सोचिँदैन, तर मन्दिरबाट दिइने त्यही फल भक्तजनका लागि प्रसाद हुन्छ। बाबुरामले पनि नारायणीको कोखलाई मन्दिर मानेका छन्’, लेखक पौडेलले भने। उनको लेख्न रहेको ‘प्रसाद’को दोस्रो शृङ्खला प्रदर्शनको तयारीमा छ। निर्माणको समयदेखि नै विभिन्न कठिनाइलाई झेल्दै यो आउँदो वैशाख १५ मा प्रदर्शन हुँदै छ। 

‘प्रसाद २’ मा निर्देशक फेरिएका छन्। कलाकार पनि फेरिएका छन्। यसको कथा अघिल्लो चलचित्र सकिएकै स्थानबाट अगाडि बढेको लेखक पौडेलले जानकारी दिए। ‘अनुहार फेरिएका छन्। तर पात्र र परिवेश उही हो। त्यसैले हामीले यसलाई शृङ्खलाबद्ध रूपमै अगाडि बढाएका छौँ’, लेखक पौडेलले भने। त्यसो त ‘प्रसाद’का निर्देशक दिनेश राउतले कथा अगाडि बढ्ने परिस्थिति नरहेको भन्दै निर्देशन नगर्ने घोषणा गरेका थिए। त्यही कारण दोस्रो शृङ्खलालाई सुदर्शन थापाले निर्देशन गरेका छन्। 

‘पहिलो शृङ्खलामा प्रेम गरेबापत जातीय विभेदकै कारण चलचित्रको मुख्य पात्र बाबुराम र नारायणीले गाउँ छाडेर सहर बसाइँ सर्न बाध्य भए। तर सहरमा घटेको घटनाले उनीहरूलाई भाग्नु समाधान होइन भन्ने ज्ञान दियो’, लेखक पौडेलले भने, ‘देशमा राजनीतिक परिवर्तन आइसकेपछि राज्यको भरोसामा उनीहरू गाउँमा गएर आफ्नो अस्तित्वलाई परिभाषित गर्न खोजे। उनीहरूको अन्तरजातीय र वर्गीय सङ्घर्ष तथा बाँकी जीवनलाई देखाउन हामीले दोस्रो शृङ्खला तयार गरेका हौँ।’ चलचित्रमा अभिनेता विपीन कार्कीले बाबुराम र अभिनेत्री केकी अधिकारीले नारायणीको भूमिका निर्वाह गरेका छन्। सहरमा घटेका घटनाक्रमलाई साथ रहेर सामना गरेका बाबुराम दम्पती गाउँ फर्किने तयारी गर्छन्। 

देशमा आएको परिवर्तन गाउँसम्म पुगेको आशमा सुखी जीवन बिताउने सपना बोकेर उनीहरू आफ्नै थलोमा फर्किन्छन्। उनीहरू बस्ने गाउँलाई सुन्दरबस्ती भनिए तापनि त्यहाँ विभेद कायम नै छ। कानुनी रूपमा अधिकार प्राप्त गरे तापनि सामाजिक हिसाबले बाबुराम र नारायणीलाई सहज छैन। ‘प्रसादमा दम्पतीको आन्तरिक कथा थियो भने दोस्रो शृङ्खलामा सामाजिक कथा देखाएका छौँ। गाउँमा सामाजिक चेतनाको स्तर बढाउन आएका दम्पतीले के कस्ता समस्या सामना गर्छन् भन्ने घटनाक्रम देखाएका छौँ’, लेखक पौडेलले भने, ‘हामीले पहिलो चलचित्रको सफलताले नयाँ बनाएका होइनौँ। यो कथा भन्नुपर्छ भन्ने लागेर तयार गरेका हौँ।’ मूलकथा प्रेम बनाइए पनि परिवर्तनलाई संस्थागत गर्न राजनीतिको सहायता लिइएको छ। 

यो कथा आफूद्वारा भनिनुपर्छ भन्ने लागेर नै निर्देशनका लागि सहमत भएको निर्देशक थापाले जानकारी दिए। ‘मेरा लागि पात्र, परिवेश सबै नयाँ थियो। यो कथालाई मैले न्याय दिनसक्छु भन्ने लागेर नै निर्देशन गरेको हुँ। संविधानतः नेपाल सबै जातको फूलबारी भनिए पनि व्यवहारतः त्यसो हुन सकिरहेको छैन। यसलाई हामीले प्रस्तुत गरेका छौँ’, निर्देशक थापाले भने। प्राय: सहरिया प्रेमकथालाई चलचित्रमा प्रस्तुत गर्ने निर्देशक थापाले यसपटक भिन्न परिवेशलाई पर्दामा देखाउने छन्। 

उनले चलचित्र बनाउने प्रक्रियामा आफ्नोपन दिएको बताए। ‘यसको निर्माणशैली मेरोअनुसार छ। तर कथामा मौलिकता छ। यसमा हाम्रै समाजलाई चित्रण गरेका छौँ। सरल कथा र प्रस्तुति छ’, निर्देशक थापाले भने, ‘बाहिरी रूपमा देखिएका उतारचढावले चलचित्रलाई असर गरेको छैन। मैले सोचेजस्तो चलचित्र बनाउन सफल भएको छु। धन्दापछि मैले फरक शैली रोजेको हुँ।’

गाउँ पुगेर बाबुराम राजनीतिमा होमिनुको कारण नै परिवर्तनलाई संस्थागत गर्नु रहेको लेखक पौडेलले जानकारी दिए। चलचित्रमै सत्ताले शक्ति निर्माण गर्छ भनिएको छ। ‘शक्ति आर्जन गरेर न्यायको बाटो छोटो बनाउने प्रयासमा बाबुराम छन्। उनी गाउँ फर्किंदा राजनीति गर्ने उद्देश्य बोकेर आएका होइनन्। तर लक्ष्य पूरा गर्न त्यही बाटो हिँड्न बाध्य हुन्छन्’, लेखक पौडेलले भने। यसको मूलकथा राजनीति होइन। यो यात्राको सहयात्रा मात्र हो। सहरमा विभिन्न घटनाक्रम झेलेका बाबुराम दम्पतीले गाउँको सामाजिक विभेदको सामना कसरी गर्छन्? उनीहरू सामाजिकसँगै पारिवारिक लडाइँमा सफल हुन्छन् वा असफल? यो थाहा पाउन चलचित्र नै हेर्नुपर्छ। 

‘बाबुराम दम्पती बलियो बनेका छन्। अडानका साथ जन्मथलो फर्किएका छन्। त्यो अडानलाई सामाजिक विभेदले टिक्न दिन्छ त? यहाँ बाबुराम दम्पतीले आफ्नो मात्र नभई धेरै प्रसादको लागि सङ्घर्ष गरेका छन्। त्यसलाई हामीले चलचित्रको स्वरूप दिएका छौँ’, निर्देशक थापाले भने। 

कलात्मक पक्ष सशक्त रहेको चलचित्र ‘प्रसाद २’ को सार्वजनिक प्रचार सामग्रीले व्यावसायिक पाटोलाई उत्तिकै सबल रूपमा उजागर गरेको छ। यसमा अर्पण थापा, महेश त्रिपाठी, प्रकाश घिमिरे, कमलमणि नेपालले अभिनय गरेका छन्। चलचित्रमा राजेश श्रेष्ठले छायाङ्कन, मिलन श्रेष्ठले सम्पादन, राजनराज सिवाकोटीले सङ्गीतको जिम्मेवारी सम्हालेका छन्। सुदर्शन बस्नेत निर्माता रहेको चलचित्रको प्रस्तुतकर्तामा सुभाष थापा छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .