कला


गीत, सङ्गीत र नृत्यको उत्पत्ति नेपालमै भएको हो– ओली

गीत, सङ्गीत र नृत्यको उत्पत्ति नेपालमै भएको हो– ओली

नेपालखबर
चैत २८, २०७९ मंगलबार १९:५९, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गीत, सङ्गीत र नृत्यको उत्पत्ति नेपालबाट भएको दाबी गरेका छन्।  

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ शोका लागि विश्वका ५२ भन्दा बढी देशबाट छानिएर फाइनलका लागि आएका नेपालीभाषी प्रतिभासँग आज आफ्नो निवास बालकोटामा अन्तरक्रियाका क्रममा उनले भने, ‘गीत, सङ्गीत र नृत्यको उत्पत्ति नेपाली भूमिमा भएको हो, गीत, सङ्गीत कला, सम्पदा आदिमा हाम्रो इतिहास सत्ययुगदेखिकै हो।’

उनले थपे, ‘हामीले सुनेका, देखेका छौँ ताण्डव नृत्य, शिव नृत्य आदि। ती नृत्यको इतिहास कति पुरानो छ? यो सत्ययुगकै कुरा होइन? त्यसैले हामी गीत, सङ्गीत, कला, संस्कृति एवं सम्पदामा संसारका अरु कुनै देशभन्दा अगाडि छौँ, हाम्रो इतिहास सबैभन्दा पुरानो छ।”

एमाले अध्यक्ष ओलीले गीत सङ्गीत मात्र नभएर ज्ञान र शिक्षाको उद्गमस्थल पनि नेपाल नै भएको धारणा राखे। उनले ज्ञान, शिक्षा, सम्पदा तथा वैदिक परम्परामा हामी विश्वमै अरु देशभन्दा अघि रहेका उदाहरण पनि प्रस्तुत गरे। 

इन्ट्रा–नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा विश्वभरका नेपालीलाई लक्ष्य गरेर आयोजना गरिएको यो गायन र नृत्यसम्बन्धी प्रतियोगिता अहिलेसम्मकै सबैभन्दा धेरै पुरस्कार राशिको हो। गायन र नृत्य प्रतियोगितामा छानिएकामध्ये प्रथम हुनेले जनही रु एक करोड, दोस्रो हुनेले रु ३० लाख र तृतीय हुनेले रु २० लाख पुरस्कार प्राप्त गर्नेछन्। 

ओली निवासमा पुगेका नेपाली युवा प्रतिभाले उनीसमक्ष विभिन्न विषय जिज्ञासा राखेका थिए। उनीहरुले आफूहरु पितृ तथा मातृभूमिमा आउँदा अत्यन्तै खुसी भएको अनुभव पनि सुनाएका थिए। पहिलोपटक नेपाल आएका कतिपयले सो प्रतियोगिताका कारण आफूहरु नेपाल आउन पाएकामा आयोजकलाई धन्यवाद पनि दिएका थिए। 

नेपाली मूलका भुटानी अमेरिकी युवा व्यवसायीले नेपाली भाषा, कला र संस्कृतिको संरक्षण एवं प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना गरेको फाउन्डेसनले विश्वमा बसोबास गरिरहेका नेपालीबीच सांस्कृतिक एकता कायम गर्न सो प्रतियोगिताको आयोजना गरेको जनाइएको छ। 

त्यस अवसरमा सो फाउन्डेसनका बोर्ड सदस्यद्वय ओमराज गुरुङ र चूडामणि भट्टराईले संसारमा छरिएर रहेका नेपालीलाई आफ्नो पुर्खाको देशसँग नेपाली भाषा र कलाका माध्यमबाट पुस्तौँपुस्तासम्म जोड्न नेपालमै सो प्रतियोगिताको आयोजना गरिएको जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad