बलिउड अभिनेता ऋतिक रोशन र सुजैन खानका छोरा रेहान रोशन १७ वर्षका भएका छन्। रेहानले २८ मार्चमा आफ्नो जन्मदिन मनाएका थिए। यस अवसरमा सुजैन खानले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै छोरा रेहानलाई जन्मदिनको शुभकामना दिएकी छन्।
सुजैनले पुरानो भिडियो सेयर गर्दै छोरालाई शुभकामना दिएकी छन्। उनले पोस्ट गरेको भिडियोमा सुजैनले बेबी रेहानको गालामा चुम्बन गर्दै अँगालो हालेको देखिन्छ। यसबाहेक सुजैनले कान्छो छोरा ऋधान रोशनसँगका केही तस्बिर पनि सेयर गरेकी छन्।
सुजैन खानले पुराना फोटो र भिडियोसहित लेखेकी छन्, ‘जन्मदिनको शुभकामना, मेरो जीवनको सबैभन्दा उज्यालो प्रकाश! मलाई थाहा छ कि भगवान्ले मलाई धेरै माया गर्नुहुन्छ, किनभने उहाँले मलाई छोराका रूपमा तिमी दिनुभयो। मलाई तिमीप्रति गर्व छ।’
प्रिती जिन्टाले यो पोस्टमा कमेन्ट गरेकी छन्, ‘जन्मदिनको शुभकामना मेरो प्रिय!’ यो पोस्टमा अभिषेक बच्चनले पनि रातो मुटु पोस्ट गरेका छन्। सोही क्रममा सुजैनका भाइ जायद खानले लेखेका छन्, ‘ह्याप्पी बर्थडे मेरो प्यारो बिग ब्वाय रेहान! तिमी १७ वर्षका भयौ। हामी सबै तिम्रो रकस्टारमा गर्व गर्छौं।’
रेहान रोशन ऋतिक र सुजैनका जेठा छोरा हुन्। दुवैले सन् २००० मा बैंगलोरमा विवाह गरेका थिए। सुजैनले सन् २००६ मा रेहानलाई जन्म दिएकी थिइन् । कान्छो छोरा ऋधानको जन्म सन् २००८ मा भएको थियो। सुजैन र ऋतिक रोशन २०१३ मा सम्बन्ध विच्छेद गरे। अहिले ऋतिक सबा आजादसँग डेट गरिरहेका छन्।
प्रतिक्रिया