विवेक ओझाको नयाँ उपन्यास ऐँठन सार्वजनिक भएको छ।
ऐलानी ल्याएको पाँच वर्षपछि शनिबार उनले नयाँ उपन्यास बजारमा ल्याएका हुन्। ऐँठन युद्ध साहित्य हो। पुस्तक दुई दशकअघिको माओवादी विद्रोहको बेला नेपाली समाजले भोगेको घटनाको विषयबस्तुमा आधारित छ।
द्वन्द्वपीडित साझा चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारी, लेखक तथा राजनीतिक अभियन्ता केशव दाहाल र नेकपा माओवादीकी केन्द्रीय सदस्य रेणु चन्दले पुस्तकको विमोचन गरे।
पुस्तकबारे बोल्दै अधिकारीले पुस्तकले दुई दशकअघिको माओवादी विद्रोहलाई नयाँ पुस्तामाझ चिनाउने बताए। पुस्तकमार्फत द्वन्द्वपीडितको समस्या राज्यलाई घच्घचाउने प्रयास भएको उनको भनाइ थियो।
राजनीतिक अभियन्ता तथा लेखक केशव दाहालले ऐँठन नेपाली युद्ध साहित्यको उम्दा कृति भएको टिप्पणी गरे। लेखनमा कलात्मक लेखन र कल्पनाशीलताको उचाइ रहेको उनको भनाइ थियो। यसले पाठकलाई अध्ययनको लामो समयसम्म गम्भीर प्रभाव पार्ने उनले बताए।
यसैगरी नेकपा माओवादीकी केन्द्रीय सदस्य रेणु चन्दले उपन्यासको शैलीले पाठकलाई ताजगी दिने बताइन्। भाषाको सरलता र आञ्चलिकताका कारण कथाले पाठकलाई तान्ने उनको भनाइ थियो। लेखक माओवादी आन्दोलनप्रति आवश्यकताभन्दा बढी निर्मम र पुस्तकमा इतिहासलाई गलत ढंगले प्रस्तुत गरिएको बताउँदै उनले आलोचना समेत गरिन्।
लेखक ओझाले निहत्था आम नागरिकको आँखाबाट लेखिएको बताए।
पुस्तक साङ्ग्रिला बुक्स प्रकाशन गृहले प्रकाशन गरेको हो।
लेखक ओझाको पाँच वर्षअघि ऐलानी सार्वजनिक भएको थियो। जसमा बादी समुदायले भोग्नु परेको यौन यौन उत्पीडनलाई विषय बनाइएको थियो।
प्रतिक्रिया