अभिनेत्री एवं निर्मात्री नीता ढुंगानाले म्युजिक भिडिओमा आफूले निर्वाह गरेको भूमिकाका आधारमा पत्रकारले आफ्नो वास्तविक जीवनमै भ्रम फैलने किसिमका शीर्षक राखेको भन्दै गम्भीर आपत्ति प्रकट गरेकी छन्। यस विषयमा उनले प्रेस काउन्सिल नै गुहारेकी छन्।
नीताका अनुसार उनी अभिनित ‘मरिहत्ते’ बोलको म्युजिक भिडिओ सार्वजनिक गर्न गत बिहीबार पत्रकार सम्मेलन गरिएको थियो। जुन भिडिओमा उनले गर्भवतीको भूमिका निर्वाह गरेकी छन्। सोही आधारमा पत्रकारहरूले आफू वास्तविक जीवनमै गर्भवती भएको भ्रम फैलने गरी समाचार सम्प्रेषण गरेको उनको भनाइ छ।
‘त्यहाँ पुगेका पत्रकारले भिडिओको कुरालाई मेरो व्यक्तिगत जीवनसँग जोडेर भ्रामक हेडलाइन राखेका छन्। जुन आपत्तिजनक छ’, अभिनेत्री नीताले सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘मेरो जीवनमा यसले नकारात्मक प्रभाव पारेको छ। यस्ता क्रियाकलापप्रति प्रेस काउन्सिललाई म ध्यानाकर्षण गराउन चाहन्छु।’
कलाकार भएपछि विभिन्न चरित्र निर्वाह गर्नुपर्ने हुन्छ। तर सिनेमा वा भिडिओमा प्रस्तुत गरिएका काल्पनिक दृश्य र चरित्रलाई पत्रकारले समाचार सम्प्रेषण गर्दा कलाकारको वास्तविक जीवनमा त्यस्ता घटना भएको भन्ने आशय दिने भ्रामक हेडलाइन राख्ने र सानाठूला सामाजिक सञ्जाल सञ्चालकले त्यहाँका दृश्यहरूको गलत तरिकाले प्रस्तुत गर्ने प्रवृत्ति रहेको उनको भनाइ छ।
उनले अगाडि लेखेकी छन्, ‘यस्ता क्रियाकलापले धेरै कलाकारको जीवनमा नकारात्मक प्रभाव पारिरहेको छ। यस्तो प्रचलनप्रति मेरो घोर भर्त्सना छ।’
प्रतिक्रिया