कला


ओस्कर विजेता ‘नाटु–नाटु’को कथा : अन्धविश्वासी संगीतकार, आत्महत्याको सोच त्यागेका कोरियोग्राफर

ओस्कर विजेता ‘नाटु–नाटु’को कथा : अन्धविश्वासी संगीतकार, आत्महत्याको सोच त्यागेका कोरियोग्राफर

नेपालखबर
फागुन २९, २०७९ सोमबार १४:९, काठमाडौँ

यतिबेला हिन्दी फिल्मको नाटु–नाटु गीत चर्चामा छ। ओस्करमा उत्कृष्ठ मौलिक गीतको अवार्ड जितेको ‘नाटु–नाटु’  खासमा तेलुगु गीत हो। 

हिन्दीमा यसको अर्थ नाचो–नाचो हुन्छ। निर्देशक एसएस राजमौलीको आरआरआर फिल्मको यो गीतमा चन्द्रबोसको शब्द, एमएम किरवानीको संगीत तथा प्रेम रक्षितको कोरियोग्राफी छ। गीतमा जुनियर एनटीआर र रामचरणले बेजोड नृत्य प्रस्तुत गरेका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार गीतकार चन्द्रबोसले यो फिल्मकै लागि तयार पारेका २० मध्ये निर्देशक राजमौलीले नाटु–नाटु गीत चुनेका थिए। यसको हुक स्टेप बनाउन कोरियोग्राफर प्रेम रक्षितले ११० वटा ‘मुभ’ तयार पारेका थिए। 

रमाइलो त के छ भने, संसारलाई नचाउन सक्षम कोरियोग्राफर प्रेम रक्षित कुनैबेला जीवनदेखि विरक्तिएर आत्महत्या गर्न तम्सिएका थिए। यसका संगीतकार किरवानी मृत्युको डरले डेढ वर्ष जोगी बनेका थिए। 

प्रेम रक्षितका पिता हिरा व्यापारी थिए। कालान्तरमा उनको व्यवसाय घाटामा गयो। कतिसम्म भने, सन् १९९३ तिर उनीहरु गम्भीर आर्थिक संकटबाट गुज्रिए।

परिवार पाल्नकै लागि प्रेम रक्षितका पिताले फिल्ममा सहायक नृत्य निर्देशकको काम थाले भने प्रेम सिलाइ पसलका कामदार बने। 

गरिबीबाट हायल–कायल प्रेमले जीवन निरर्थक देख्न थाले। आत्महत्याको सोचसहित उनी चेन्नइको मरिन बिच पुगे। 
मरेपछि डान्स संघले परिवारलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेर त्यसले परिवारको आर्थिक अवस्था सुन्ध्रन्छ भन्ने सोचले उनी प्रेरित भएका थिए।  

तर, त्यहाँ पुगेपछि उनले सम्झे, चढेर आएको साइकल त भाडाको पो हो! मृत्युपछि साइकलवालाले परिवारलाई दुःख दिनसक्ने सम्भावनाले उनलाई झस्कायो। 

उनी त्यहाँबाट घर फर्के। घर फर्केपछि उनको पिताको टेलिफोन आयो।  पिताले छोरालाई फिल्ममा नाचको  काम पाएको जानकारी गराए। 

प्रेमले आत्महत्याको सोच छाडे। पहिलो पटक विद्यार्थी फिल्मको लागि नृत्य कोरियोग्राफी गरे। निर्देशक राजमौलीले उनको प्रतिभा खुट्याए। खोजी गरे। 

राजमौलीले प्रेमलाई टेलिफोनमार्फत् भने, 'के तिमी मेरो छोरालाई नाच सिकाउन सक्छौ?’ राजमौलीले प्रेमलाई छत्रपति फिल्मको कोरियोग्राफी सुम्पे। छत्रपति त्यही फिल्म थियो, जसले जुनियर एटीआरलाई स्टार बनाएको थियो।

नाटु–नाटु गीत तयार गर्न १९ महिना लागेको थियो। जबकि, फिल्मको ९० प्रतिशत सुटिङ आधा दिनमा सम्भव भएको थियो। 

युक्रेनको किभमा रहेको राष्ट्रपति निवासमा छायाँङ्कन गरिएको गीत चार मिनेट ३५ सेकेण्डको रहेको छ।
 
कोरियोग्राफीको लागि २ महिना लागेको यो फिल्ममा ५० जना पाश्र्व नर्तक र चार सय जना कनिष्ठ कलाकार सामेल थिए।

यता, यो गीतका संगीतकार एमएम कीरवानीको कथा पनि उत्तिकै रोचक छ। तु मिले दिल खिले,तुम आया तो आया मुझे याद गली में आज चाँद निकला,जादु हैं नशा हैं जस्ता गीत कम्पोज गरेका उनी यति अन्धविश्वासी छन् कि,शुभ मूहुर्तबाहेक गाडीबाट पनि झर्दैनन्। 

कुनै बेला उनकी श्रीमती गर्भवती थिइन्। उनका गुरुले ढेड वर्ष सन्यासी बनेर घर नछाडे मृत्यु हुने भविष्यवाणी गरिदिए। 

किरवानीले घर छाडे। चार वर्षदेखि नै संगीतमा लागेका किरवानीले कतिपय अवस्थामा नाम बदलेर काम गरेका थिए। नाटु–नाटुले यसअघि गोल्डेन ग्लोब अवार्ड हात पारिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad