कला


‘यौटा सपनाको अवसान’ मञ्चन गर्दै अनुप बराल, नाटकको अर्थपूर्ण पोस्टर सार्वजनिक

‘यौटा सपनाको अवसान’ मञ्चन गर्दै अनुप बराल, नाटकको अर्थपूर्ण पोस्टर सार्वजनिक

अनुप बराल र ‘यौटा सपनाको अवसान’को पोस्टर


नेपालखबर
फागुन २५, २०७९ बिहिबार १३:१०, काठमाडौँ

समसामयिक विषयलाई भव्य सेट र कलाकारमार्फत चोटिलो गरी प्रस्तुत गर्न माहिर नाट्य निर्देशक अनुप बरालले ‘यौटा सपनाको अवसान’ नाटक निर्देशन गर्ने भएका छन्।

बुधबार नाटकको पोस्टर सार्वजनिक गर्दै उनले  नाटकले खुसी छाडेर सुखको पछि लाग्ने चरित्रको कथा पेस गर्ने संकेत गरेका छन्। सार्वजनिक पोस्टरले टाउको निहुर्‍याएको चरित्रको हतास मनस्थितिलाई संकेत गरेको छ। निर्देशक बरालले पोस्टर सेयर गर्दै नाटकले खुसी र सुखको परिभाषालाई बहसमा ल्याउन चाहेको बताएका छन्। 

‘यौटा सपनाको अवसान’ अमेरिकी नाटक ‘डेथ अफ अ सेल्समेन’को नेपाली अनुवाद हो। आर्थर मिलर लिखित नाटकलाई विप्लव प्रतीकले नेपालीमा अनुवाद गरेका हुन्।

नाटक विधातर्फ पुलित्जर पुरस्कार र टोनी अवार्ड जित्न सफल यो नाटकलाई २०औँ शताब्दीको उत्कृष्ट नाटकमध्ये एक मानिन्छ। अमेरिकामा ७ सयभन्दा बढीपटक मञ्चित नाटक विश्वका धेरै देशमा देखाइएको छ। 

नाटकमा शेखर चापागाईं, दिव्यदेव, दिया मास्के, मेनुका प्रधान, विजय बराल, विकास जोशी, रोयदिभ श्रेष्ठलगायत कलाकारको अभिनय रहनेछ। चैत १० गते सुरु भएर १ महिनासम्म चल्ने नाटक एक्टर्स स्टुडियो र मण्डला थिएटरसँगको सहकार्यमा गोविन प्रडक्सनका लागि गोविन्द पराजुलीले निर्माण गरेका हुन्। गोविन्द पराजुलीले १ महिनादेखि नाटकको रिहर्सल भइरहेको र हरेक कोणबाट भव्य नाटक दर्शकलाई सुम्पने अभिप्रायले काम भइरहेको बताएका छन्। 

‘भनिनुपर्ने कथालाई उस्तै भव्यताका साथ प्रस्तुत गर्ने हाम्रो प्रयास छ। नाटकले मनसँगै आँखालाई पनि सन्तुष्ट बनाउँछ भन्ने हाम्रो विश्वास छ’, उनले भने। 

अनुप बरालले तीन वर्षअघि मान्छेको लासमा भोज गर्ने राजनीतिज्ञलाई तीखो व्यंग्य गर्ने नाटक ‘महाभोज’ निर्देशन गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .