कला


रिफ्युजीका गीत रेकर्डिङका क्रममा डिप्रेसनमा थिइन् अल्का

रिफ्युजीका गीत रेकर्डिङका क्रममा डिप्रेसनमा थिइन् अल्का

नेपालखबर
फागुन ८, २०७९ सोमबार १४:३९, काठमाडौँ

बलिउडकी दिग्गज गायिका हुन् - अल्का याग्निक। उनले थुप्रै हिट गीतमा आवाज दिएकी छन्। हिटमध्येको एउटा गीत हो- ‘एक दो तीन।’ तर यो गीत सुरुमा उनलाई पटक्कै मन परेको थिएन। यो गीत रेकर्डिङको समयमा उनको घाँटीमा ठूलो समस्या आएको उनले हालैको अन्तर्वार्तामा बताएकी छन्। गीत सुन्दा अहिले पनि कैयौं कमजोरी भेटिने उनले उल्लेख गरेकी छन्। 

फिल्म कम्प्यानियनसँग कुरा गर्दै अल्काले फिल्म ‘तेजाब’को ‘एक दो तीन’ गाउँदाको क्षण सम्झिँदै भनेकी छन्, ‘यो गीत लक्ष्मीकान्त प्यारेलालजीको हो। उहाँकहाँ पुगेपछि उहाँले भन्नुभयो– ‘लिखो एक दो तीन चार पाँच छ सात’ गीतको यो लाइन सुनेर म छक्क परेँ। मलाई लाग्यो कि उहाँ मसँग मजाक गर्दै हुनुहुन्छ। तर म उहाँसँग केही बोल्न सकिनँ। मलाई उहाँसँग डर लागेको थियो, त्यसैले म चुपचाप उहाँको कुरा सुनिरहेँ।’

उनले अगाडि थपिन्, ‘मैले दोस्रो लाइन लेखेँ, त्यसपछि तेस्रो लाइन। केही लाइन लेखेपछि गीतप्रतिको मेरो दृष्टिकोण बदलियो। मलाई यो गीत गजब लाग्यो, पछि गाउन मन लाग्यो।’

तर गीत गाउने दिन नै उनको आवाजमा समस्या आयो। गीतको रेकर्डिङको कथा सुनाउँदै अल्काले भनिन्, ‘लक्ष्मीकान्तलाई गीतका लागि ६० जनाको कोरस चाहिएको थियो। रेकर्डिङ महबुब स्टुडियोमा हुने थियो, जहाँ धेरै ठाउँ थिएन। त्यसैले भित्तामा बसेर पूरै गीत रेकर्ड गरेँ।’

गीत गाएपछि पनि उनी सन्तुष्ट भने हुन सकिनन्। उनले गीत पुनः रेकर्ड गर्न आग्रह गरेकी थिइन्। तर लक्ष्मीकान्तले मानेनन्। उनले अहिले पनि गीत सुन्दा आफ्ना कमजोरी सुन्ने गरेको बताएकी छन्। 

अर्को फिल्म ‘रिफ्युजी’का गीत रेकर्डका बेला उनका बुवाको निधन भएको केही समय भएको थियो। उनले आफू डिप्रेसनमा रहेका बेला फिल्मका गीत गाएको बताएकी छन्। बुवाको मृत्युपछि उनले गीत गाउन आएका अफर अस्वीकार गरिन्। त्यतिबेला उनकी आमाले बुवाको मृत्युको आघातबाट बाहिर निस्कन गीत गाउनु जरुरी रहेको सुझाव दिइन्। अल्का आफ्ना बुवासँग निकै नजिक थिइन्। 

संगीतकार अनु मलिकले उनलाई थुप्रैपटक गीत गाउन फोन गरेका थिए। तर उनले फोन उठाइनन्। त्यसपछि अनु अल्काको घरबाहिर आएर धर्ना बसे। उनले अल्काले गीत नगाए गीत नै रेकर्ड नगर्ने बताए। अल्काले इन्कार गरिरहेपछि उनकी आमाले भनिन्, ‘कम्तीमा स्टुडियो त जाऊ।’

आमाको आग्रहपछि अल्का गीत गाउन गइन्। उनले भनेकी छन्, ‘ मैले गीतहरू कण्ठ गरेँ र रेकर्डिङका लागि गएँ। पत्याउन सकिनँ- मैले पछि सबै बिर्सिएँ।’

उनलाई गीत गाउन गाह्रो भएको थियो। उनी गहिरो डिप्रेसनमा थिइन्। तर त्यो समय गाएका उनका गीत हिट भए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad