कला


‘गलबन्दी’मा झुमे दर्शक

‘गलबन्दी’मा झुमे दर्शक

नेपालखबर
पुस १५, २०७६ मंगलबार ५:३१,

चर्चित गायक प्रकाश सपुत आइतबार गृहजिल्लामा सुनिए। बागलुङ महोत्सवका अवसरमा उनलाई बागलुङ उद्योग वाणिज्य संघले मञ्च उपलब्ध गराएको थियो। सपुतको  स्वरले बागलुङ महोत्सव संगीतमय बन्यो। हजारौँ दर्शक एकसाथ झुमे, रमाए।

आफ्नो डेढ घण्टे प्रस्तुतिमा सपुतले चल्तीका नौ गीत गाए। शुरुमा गम्भीर भावका गीतसहित प्रस्तुत भएका सपुत अन्तिममा रमाइला र स्वच्छन्द शैलीका गीत सुनाउका थिए। विदेशिएका साथीभाइ सम्झेर सपुतले ‘यस्तै छ कहानी परदेशीको’, ‘चररर... बररर...’ र ‘बोलमाया’ गीत गाउँदा दर्शकदीर्घामा मौनता छाएको थियो। सपुत आफैँ पनि गम्भीर र भावुक देखिए। ‘बोलमाया’ परदेशमा प्रियजन गुमाउने परिवारको वेदनामा आधारित गीत हो । डेढ वर्षअघि सार्वजनिक हुँदा उक्त गीत ‘युट्युब ट्रेन्डिङ’ को एक नम्बरमा आउन सफल भएको थियो।

सपुतले मञ्चबाटै कामको खोजीमा विदेश जानुपर्ने बाध्यताको अन्त्य होस् भनी कामना गरे। “सकभर एक जना नेपाली पनि विदेशिनु नपरोस्, गइहाले पनि काठको बाकसमा आउन नपरोस्”, उनले भने। प्रवासी नेपालीका दुःख र संवेदना समेटिएका गीतलाई सपुतले जीवन्त ढङ्गले गाए। गम्भीर विषय र भावका गीत गाएपछि उनले फरक धारका गीतमा आफूलाई प्रस्तुत गरे। सपुतले ‘लुरुरु... हुरुरु...’, ‘रेलीमाई’ लगायतका लोकदोहोरी गीत सुनाए। पञ्चेबाजामा आधारित ‘माकुरमाकुर घुर’ गाउँदा दर्शकले नाचेर साथ दिए। यतिञ्जेलसम्म साँझ छिप्पिइसकेको थियो।

बहुचर्चित र दर्शक÷स्रोताले प्रतीक्षा गरेको गीत ‘गलबन्दी’ गाउने बेला भयो। सपुतले सानी छोरी प्रविष्टिलाई पनि मञ्चमा बोलाए। बुबाको गायकीमा छोरी प्रविष्टिले पनि स्वर मिलाइन्। दर्शकदीर्घाबाट वाहीवाही गुञ्जियो। महोत्सव चलिरहेको धवलागिरि बहुमुखी क्याम्पसको प्रांगण गलबन्दी हल्लाउँदै नाच्नेको भीडले भरियो।

विशेषगरी युवापुस्ता रमाएका देखिन्थे। सपुतले गाउँदा पछिपछि दर्शकले पनि उसैगरी गाउँथे। ‘गलबन्दी’ त्यही गीत हो, जसलाई अहिलेसम्म युट्युबमा तीन करोड ३३ लाखभन्दा बढी पटक हेरिएको छ। मौलिक भाका, रचना र जीवन्त स्वरले ‘गलबन्दी’ चर्चामा आएको हो। उत्कृष्ट ‘म्युजिक भिडियो’का कारण गीतले दर्शक कमायो।

‘गलबन्दी’ गाएपछि सपुतले युवालक्षित गीत ‘दोहोरी ब्याटल’ १ र २ गाए। यी गीतबाट सपुत विवादमासमेत तानिनुभएको थियो । मौलिक लोकदोहोरीलाई बिगारेको आरोप उहाँमाथि लागेको थियो । ‘ब्याटल’ युवा पुस्तामाझ बढी चर्चित छ । सपुतले सबै उमेर समूहका स्रोता÷दर्शकको मन जित्नुभयो ।

बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मनुभएका सपुतले बागलुङ महोत्सव आफ्नो सांगीतिक यात्राको प्रस्थानविन्दु भएको स्मरण गरे। ‘पहिले महोत्सव हुँदा तल भुइँमा बसेर अग्रज कलाकारले गाएको गीत सुन्थ्यौँ’, विगत सम्झदैँ उनले भने, ‘बागलुङ महोत्सवबाटै मैले ठूला दोहोरीगीत प्रतियोगितामा भाग लिन शुरु गरेको हुँ।’

आइतबार सपुतसँगै गायक योगेशकाजी बिसी, श्रीकृष्णबम मल्ललगायतले सांगीतिक प्रस्तुति राखेका थिए। शुक्रबारदेखि शुरु भएको महोत्सव यही पुस २० गतेसम्म चल्नेछ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad