शाहरुख खानको आगामी फिल्म ‘पठान’ रिलिज हुनुअघि नै देशभर चर्चामा छ। फिल्मका गीतहरूले आलोचनासँगै दर्शकको माया पनि पाइरहेका छन्। १० जनवरीमा रिलिज भएको फिल्मको ट्रेलरले पनि राम्रो प्रतिक्रिया पाइरहेको छ।
फिल्म रिलिज मिति नजिकिंदै गर्दा शाहरुखका फ्यानले अनौठ व्यवहार देखाउन थालेका छन्। यसैबीच, शाहरुख खानकी प्रबन्धक पूजा ददलानीले आफ्नो ट्विटर ह्यान्डलबाट एक भिडिओ सेयर गरेकी छिन्। उक्त भिडिओमा एक वृद्धा महिला शाहरुखको गीत ‘झुमे जो पठान’ मा निकै रमाइलो नृत्य गरिरहेकी देखिन्छिन्।
सामाजिक सञ्जालका प्रयोगकर्ताले उक्त भिडियोमा रमाइलो गरिरहेका छन्। भिडिओमा ती महिलाले शाहरुख खानको हुक स्टेपको नक्कल गरिरहेको देखिन्छ। उनको अनुहारको मुस्कान, रमाइलो र शीतल शैलीलाई मानिसहरुले निकै मन पराएका छन्।
यो भिडिओ ट्विटरमा सेयर गर्दै पूजा ददलानीले क्याप्सनमा लेखेकी छिन्, ‘मैले आज देखेको सबैभन्दा प्यारो कुरा।’ वृद्धाको डान्स स्टेप देखेर फ्यानहरु निकै प्रभावित भएका छन्। यो भिडियोमा कमेन्ट गर्दै एक प्रयोगकर्ताले लेखेका छन्, ‘कस्तो ऊर्जा।’
नृत्य गर्ने ती महिलाको नाम साज खान हो। शाहरुख खान पठान मार्फत करिब चार वर्षपछि ठूलो पर्दामा फर्किएका हुन्। शाहरुख यसअघि २०१८ मा फिल्म ‘जिरो’ मा देखिएका थिए। लिडको रूपमा, उनी पठानबाट कमब्याक गर्न लागेका छन्।
करिब २५० करोड भारुमा निर्माण भएको ‘पठान’को १०० करोड भारुमा मिडिया अधिकार बिक्री भएको छ। यो फिल्म यहि जनवरी २५ बाट रिलिज हुँदैछ।
शाहरुखसँगै यो फिल्ममा दीपिका पादुकोण र जोन अब्राहम पनि शिर्ष भूमिकामा देखिने छन्। यशराज फिल्म्सको ब्यानरमा निर्माण भएको ‘पठान’लाई सिद्धार्थ आनन्दले निर्देशन गरेका हुन्।
यशराज फिल्म्सले यसअघि ‘एक था टाइगर’, ‘टाइगर जिन्दा है’ र ‘वार’ जस्ता स्पाइ थ्रिलर फिल्म बनाएको थियो।
Shares

प्रतिक्रिया