कला


मेलबर्न मञ्चबाट शुक गुरुङको विदाइ

मेलबर्न मञ्चबाट शुक गुरुङको विदाइ

नेपालखबर
पुस ८, २०७६ मंगलबार ८:३४,

मञ्चमा सुरुवाती गीत प्रस्तुत गरेपछि आफ्ना सदाबहार तीनवटा गीत लगातार गाउने शैली नेपथ्यले केहि वर्षयता विकास गर्दैआएको छ। ती तीनवटा गीत गाइसकेपछि मात्रै एकछिनको चुपचापलाई तोड्दै मुख्य गायक अमृत गुरुङले दर्शकसँग संवाद गर्ने गर्थे। तर, सोमबार मेलबर्नको ‘द पाम एट क्राउन’ मञ्चमा त्यो क्रम भंग हुनपुग्यो। हाउसफुल दर्शकका बीच ‘भेँडाको ऊनजस्तो’ गीत सुनाउने बित्तिकै अमृत थामिए र भने – ‘हिजो नेपथ्यले एउटा साथी गुमाएको छ। एउटा यस्तो संगीतकर्मी साथी जसले हामीलाई पहिलो हिट गीत ‘छेक्यो छेक्यो’ दिएका थिए। म शुक गुरुङको सम्झनामा यसै मञ्चबाट हाम्रो हार्दिक श्रद्धान्जली अर्पण गर्न चाहन्छु। उनको आत्मालाई शान्ति मिलोस्।’

मृगौला रोगले पीडित संगीतकर्मी गुरुङको आइतबार विहान निधन भएको थियो। यो खबर थाहा पाउनेबित्तिकै अमृतले आइतबारै उनको सामाजिक सञ्जालमा शोक प्रकट गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका थिए। ‘शुक जीले नेपथ्यको प्रारम्भिक कालमा ‘छेक्यो छेक्यो’ गाउन दिएर हामीलाई ठूलो गुन लगाए,’ अमृतले भने, ‘उनको सम्झनाका रुपमा उनका कृति रहिरहने छन्।’ उनले यसो भनिरहेकै बेला अमृत र शुक गुरुङ साथै बसेको तस्बिर मञ्चको पृष्ठ भागमा देखाइएको थियो। ‘हामी बीचको अन्तिम भेटलाई यो तस्बिरले समेटेको छ,’ अमृतले भने, ‘संगीतकार दाइ विक्रम गुरुङ र म उनलाई भेट्न गत अगस्त २६ तारिख पुगेको बेलाको यो तस्बिर नै अन्तिम चिनो बनेको छ।’

त्यसपछि तस्बिर देखाइएको भित्तोतिरै फर्किएर अमृतले नमस्ते गरे र फेरि भने, ‘हार्दिक श्रद्धान्जली शुक गुरुङ।’

यतिन्जेल हल भित्रका दर्शकहरु भावविभोर हुनपुगेका थिए। ‘कुनै पनि संगीतकर्मीलाई संगीतकै माध्यमबाट सम्झना गरिनु पर्छ,’ अमृतले नै त्यो मौनता भंग गरे र भने, ‘आउनुस् हाम्रा लागि र तपाइहरु सबैका लागि सदैव प्रिय रहिरहने उनले रचेका गीत गाएरै शुक गुरुङको जीवनलाई उत्सवका रुपमा मनाऔं।’ त्यसपछि अमृतले जसै ‘छेक्यो छेक्यो’ गाउन सुरुगरे, हलभरिका दर्शकले त्यस गीतका प्रत्येक शब्दलाई अमृतसँगै गाएर साथ दिएका थिए। गीतका प्रत्येक लाइनलाई दुरुस्त मिलाएर गाएको बाटै यो गीत श्रोताहरुको मनमा कसरी बसेको छ भन्ने स्पष्ट देखिन्थ्यो।

त्यसपछि नेपथ्य कन्सर्ट नियमित सूची अनुसारै अघि बढेको थियो। ‘तालको पानी’ गाउँदाको क्षण हलभित्रको दर्शक उत्साह उत्कर्षमा पुगेको देखिन्थ्यो। हलभित्र भर्खरै पढ्नका निम्ति आएका विद्यार्थीदेखि लिएर यहाँ लामो समयदेखि आफ्नो ब्यवसायमा जम्दै आएका व्यापारी अनि फरक–फरक पेसामा आवद्धहरुको जमघट देखिन्थ्यो। यसरी परदेश आएर पनि बेग्लाबेग्लै संसारमा हराएका नेपालीहरु बीच भेटघाटको अवसरसमेत यो कन्सर्टले जुराएको थियो। अमृतले सदाजस्तै दर्शकहरुलाई मुलुकको भ्रमण गर्न र यसका अथाह सुन्दरताको थप उत्खनन् गर्न आव्हानसमेत गरेका थिए।

सिड्नीको उदाहरणलाई निरन्तरता दिँदै मेलबर्नमा पनि सोमबार कन्सर्टको टिकट अघिल्लो दिन अर्थात् आइतबारै सकिएको थियो। अनलाइन टिकट विक्रीमा संलग्न ‘टिकट किंग’ले उल्लेख गरे अनुसार विक्री खुला हुनेबित्तिकै सहुलियत दरको टिकटहरु चार घन्टाभित्रै सकिएका थिए। यसरी पहिल्यै टिकट सकिएको ‘हाउसफुल’ दर्शकले गर्दा कन्सर्टकै बेला आइपुगेका धेरैजसो निराश भएर फर्किनुपरेको देखिन्थ्यो।

 नेपथ्यको व्यवस्थापन संस्था नेपालयले यसपालाको अष्ट्रेलियाको यात्राका लागि सिड्नीस्थित संस्था ‘नेपाली टच’ सँग सहकार्य गरेको थियो भने मेलबर्नको स्थानीय आयोजक ‘नेप्ले इभेन्ट्स्’ थियो।

अमृतलाई स्टेजमा सँधैझैँ ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए।

मेलबर्नको प्रस्तुती सकिएसँगै नेपथ्यको यस वर्षको श्रृंखलावद्ध अष्ट्रेलिया यात्रा सम्पन्न भएको छ। ब्याण्डको यो पाँचौं अष्ट्रेलिया यात्रा थियो। नेपथ्यको यो संगीत यात्रा नोभेम्बर १९ तारिख ब्रिसबेनबाट सुरु भै डार्बिन, एडिलेड, होबार्ट, सिड्नी हुदैँ मेलवर्नमा आएर सम्पन्न भएको हो। ब्याण्ड, व्यवस्थापन तथा प्राविधिकसहितको १२ सदस्यीय टोली मंगलबारै स्वदेश फर्कनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad