जताततै जंगलको हरियाली अनि परपरसम्म फराकिला खेतमा पहेँलपुर तोरी झुलिरहेका। अन्यत्र पुसको ठिही सुरुभइसक्दा पनि कैलाली भने यतिबेला असाध्यै अनुकूल हावापानीमा रमाइरहेको छ।
यो अनुकूलता उहिले द्वन्द्वकाल र भर्खरैको कोरोना महामारीपछि चैनको स्वास फेरिरहेको यस सीमावर्ती भेगमा धेरै हिसाबले महसुस गर्न सकिन्छ। सहरकै एउटा कुनामा चलिरहेको ‘सुदूरपश्चिम महोत्सव’ले पनि स्थानीयका माझमा मधुर माहोल बनाइरहेकै छ।
यसैबीच नेपथ्यले ‘मानवताका लागि संगीत’ नारा बोकेर देशभर भ्रमण गरिरहँदा आइतबार धनगढीमा आयोजित छैठौं कन्सर्ट पनि भव्य रुपले सम्पन्न भएको छ।
द्वन्द्वकालमा बाहिरका मानिस आउन संकोच मान्दा पनि बारम्बार यस भेगमा आई गीत सुनाउने नेपथ्यको चीर परिचित ध्वनि आइतबार बेलुकी फेरि यहाँस्थित रंगशालामा फैलिँदा हजारौं दर्शकको उत्साह मिश्रित आवाजले परपरसम्म प्रभाव फैलिरहेको थियाे।
सुरुमा दुइवटा म्युजिक भिडिओ देखाउनासाथ मञ्चमा चढेको नेपथ्य टोलीले ‘आँगनैभरि हिउँनै झरे’बाट धनगढीमा आफूलाई प्रारम्भ गर्यो।
दोस्रो गीत थियो - ‘भेँडाको ऊनजस्तो।’ यो गीतबाटै मैदानमा नाचिरहेका दर्शकबीच तापक्रम उच्च भइसकेको थियो भने त्यसलाई निरन्तरता दिँदै ब्यान्डले ‘छेक्यो छेक्यो’ सुनाएको थियो। ब्यान्डको दोस्रो एल्बम ‘हिमाल चुचुरे’मा अटाएको यो सर्वकालिक हिट गीतलाई देशभरिका स्रोताजस्तै धनगढीले पनि व्यापक स्वागत गर्यो।
त्यसपछि एकैछिन गाउने क्रमलाई थामेर ब्यान्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङले सम्पूर्ण स्रोता-दर्शकलाई स्वागत गरेका थिए। ‘तपाईंहरूको धनगढीमा बस्दा मलाइ मेरै भेगको याद आइरहेको छ। अब रोदीघरहरू तिर लैजान्छु’ भन्दै उनले ‘लामपाते सुरती’ प्रस्तुत गरे।
त्यसपछि भने ‘मीन पचास’ एल्बमका उत्तिकै लोकप्रिय गीतहरू ‘चरि मर्यो’ र ‘जोमसोमे बजारमा’ प्रस्तुत गरिएको थियो।
‘नेपालभरि म जहाँ पुगेँ त्यहाँ सुन्दरता पाएँ’, अमृतले थपे, ‘अब यो कैलालीजस्तै अर्को राम्रो ठाउँ रुकुमतिर लैजान्छु।’
यसो भनेपछि उनले पछिल्लो समय नेपथ्यले तयार पारेको अर्को लोकप्रिय गीत ‘शिरफूल शिरैमा’ गाएर सुनाएका थिए।
कार्यक्रम अवधिभर गायक अमृत गुरुङले पटकपटक मानवसेवा आश्रमको उद्देश्यबारे बोले। ब्यान्डको पुरानो गीत ‘यो जिन्दगानी’लाई आश्रममा आश्रितहरूको तस्बिरसहितका दृश्यबाट प्रस्तुत गरिएको थियो।
‘धनै धन भएर यो ठाउँलाई धनगढी भनेको रे हो ?’ प्रश्न गरिसकेपछि उनी अगाडि भन्दै थिए, ‘त्यो धनमा मन मिसाएर खुला हृदयले मानवताको सेवा गरौं है।’
गायक गुरुङले चुनावपछि फेरि समाजमा एकताको आह्वान गर्दै त्यसले नै स्थिरता र विकास दिने तर्क पनि राखे।
कन्सर्टमा पहिलो लहरमै बसेर नृत्यरत एक परिपक्व अनुहार पनि देखिन्थ्यो। उनी थिए - धनगढी ४ का सिद्धराज पनेरु।
‘मैले यसअघि पनि नेपथ्यको कन्सर्ट हेरेको थिएँ’, उनले थपे, ‘यसपाला मानवसेवाको पवित्र उद्देश्य लिएर यो कार्यक्रम आयोजना भएकाले झनै रमाइलो लागिरहेको छ।’
कन्सर्टको अन्त्यतिर ‘गाउँ गाउँबाट उठ’ गाउन सुरु गरेपछि धनगढी रंगशालामा भएभरका दर्शकको खुट्टा बज्रिन थाल्यो। त्यसले मैदानमा जमेका धुलो उडेर आकाश छेक्लाजस्तै देखिन्थ्यो।
‘हामीले ठूलो लडाइँ देख्यौं। यो धनगढीमा उतिबेला आउँदा सर्वसाधारण त्रासमा बाँचेका थिए। संसार फेर्छु भन्नेहरू आफैँ फेरिएको पनि देखियो। अब त्यस्तो लडाइँ देख्नु नपरोस्।’
अमृतले धुनकै बीच यी वाक्य बोलेका थिए, जसमा दर्शकले ठूलो आवाजका साथ समर्थन जनाए।
मञ्चमा गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेसमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए। अमृतले सबै साथीको क्रमैसँग परिचय गराए।
त्यसपछिको गीत थियो :
‘मै नाचे छमछमी’
यसले दर्शकहरूको सांगीतिक उत्साहलाई पराकाष्ठामा लगिसकेको थियो।
त्यही मौका पारेर अमृतले सोधे, ‘अब कुन गीत सुन्ने?’
मैदानमा भएभरका दर्शकले एक स्वरमा ‘रेशम’ भन्दै चिच्याउन थाले। यसरी ‘रेशम’ र त्यसपछि पनि दर्शककै फर्माइसमा ‘तालको पानी’ गाएर सुनाइएको थियो।
‘बाँचुन्जेलको मात्र यो जीवनमा बाँचेकै बेला सत्कर्म गरौं’ अमृतले फेरि पनि परोपकारका निम्ति दर्शकहरूलाई प्रोत्साहन गर्दै ठूलो दर्शक प्रतिक्रियाकैबीच भने, ‘धनगढीको यो आवाजलाई मैले मानव मन्दिर निर्माणमा प्रतिबद्धता ठानेको छु है।’
अन्त्यमा भने सधैँजस्तै नेपथ्यले ‘रातो र चन्द्रसूर्जे’ प्रस्तुत गरेको थियो। त्यतिबेला मुलुकप्रतिको भावनाले ओतप्रोत दर्शकहरू जताततै राष्ट्रिय झन्डा बोकेर नृत्य गरिरहेको देखिन्थ्यो।
संगीतका साथै मानवता प्रवर्द्धनका लागि नेपथ्यको यो कन्सर्ट धनगढीमा पनि सफलताका साथ सम्पन्न भएको मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले बताएका छन्।
Shares
प्रतिक्रिया