अपांगता भएका व्यक्तिहरुको ३१औं अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर यही विषय वरिपरि रही निर्माण गरिएको ‘आऊ साथी’ बोलको म्युजिक भिडिओ सार्वजनिक भएको छ।
‘समावेशी विकासका लागि रुपान्तरित समाधान, पहुँचयुक्त र समतामूलक विश्वका लागि ऊर्जावान् सिर्जनशिलताको प्रावधान’ भन्ने मूल नारा आत्मसात् गर्दै चेतनामूलक गीत ‘आऊ साथी’ तयार पारिएको निर्माण कम्पनी साउन्ड मिलले जनाएको छ।
शक्ति बल्लभको संगीत रहेको गीतमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, रामकृष्ण ढकाल, अन्जु पन्त, बुनु श्रेष्ठ, शिव परियार, पुष्पन प्रधान र अस्मिता अधिकारीले स्वर दिएका छन्।
यस गीतले समस्त अपांगता भएका अर्थात् फरक क्षमता भएका व्यक्तिहरूलाई समेट्ने प्रयास गरेको छ। लामो समयदेखि सामाजिक रुपान्तरणका निम्ति गीत–संगीतका माध्यमबाट योगदान पुर्याइरहेको स्टुडिओ साउन्ड मिल र समाजसेवी एवं गीतकार नरेश प्रधानको सहकार्यमा म्युजिक भिडिओ निर्माण भएको हो।
निरज श्रेष्ठको संगीत संयोजन रहेको यस गीतलाई महेश्वरमान राजभण्डारीले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् । भिडिओ विमललाल श्रेष्ठको परिकल्पनामा निर्माण भएको हो।
भिडिओमा उषा रजक, रश्मी भट्ट, रक्षा थापा, सुन्दर धिताल, आईपी आचार्य, प्रकाश सुवेदी, प्रिन्स प्रसिद सिंह थापा, देवकुमार श्रेष्ठ, सविना थापा, विकास रिमाललगायत कलाकारको अभिनय छ।
नारन खतिवडा र अनिरुद्ध आत्रेयको कथा समावेश गरिएको भिडिओलाई शरद महतोले छायांकन गरेका हुन्।
प्रतिक्रिया