थिएटरबाट फिल्ममा आएकी लक्ष्मी बर्देवा नेपाली फिल्म उद्योगकी प्रतिभाशाली कलाकार हुन्। उनले दर्जनभन्दा बढी फिल्ममा अभिनय गरेकी छन्। पछिल्लो समय उनले म्युजिक भिडिओमा पनि आटिस्टिक अभिनय गरिरहेकी छन्।
यसै साता मात्रै उनले अभिनय गरेको ‘शिरफूल’ बोलको गीतको म्युजिक भिडिओ सार्वजनिक भयो। यो गीतको म्युजिक भिडिओमा उनले गरेको अभिनयको पनि राम्रै तारिफ भैरहेको छ। उनी थिएटर, फिल्म अथवा म्युजिक भिडिओ सबैमा बिम्बात्मक अभिनय गर्न रुचाउँछिन्।
उनी फिल्मको पर्दा तथा म्युजिक भिडिओमा देखिन थालेको धेरै समय भएकै छैन। तर उद्योगमा उनको अभिनयको राम्रै चर्चा छ। उनलाई उद्योगका धेरैले अब्बल र बहुप्रतिभाशाली कलाकार भन्ने गरेका छन्।
अभिनयसँगै निर्देशनमा पनि उनको रुचि छ। उनी अहिले म्युजिक भिडिओ निर्देशनमा पनि व्यस्त छिन्। ‘शिरफूल’ उनले निर्देशन गरेको पछिल्लो म्युजिक भिडिओ हो। जहाँ उनी आफैंले सुदूपश्चिमकी एक महिलाको भूमिका निर्वाह गरेकी छन्। म्युजिक भिडिओमा पनि उनले एउटा फिल्मको कथा भनेकी छन्।
पछिल्लो समय उद्योगमा देखिएर पनि उनले एकपछि अर्को सम्झिन योग्य काम गरिरहेकी छन्। भन्छिन्, ‘कुनै पनि क्षेत्रमा अरुले अब्बल देख्न त्यति सजिलो छैन। अब्बल साबित हुन् कुनै पनि मानिसमा सम्बन्धित क्षेत्रको ज्ञान, आत्मविश्वास र धैर्यता चाहिन्छ।’
उनी आफूभित्रको आत्मविश्वासलाई आफ्नो बलियो पक्ष मान्छिन्।
लक्ष्मीको एउटा बानी छ, जसले उनलाई बेला-बेला हानि पनि गरिरहेको हुन्छ। उनी चित्त नबुझेका कुराप्रति तत्काल प्रतिक्रिया दिन्छिन्। उनलाई आफ्नो यो बानी कमजोरी हो भन्ने लागेको छ। तर, चित्त नबुझेको कुरा टुलुटुलु हेरेर बस्न वा सुनिरहन उनी सक्दिनन्।
Shares

प्रतिक्रिया