ad ad

कला


फिल्मको माइकिङ गर्दै, पोस्टर टाँस्दै शिवशंकरले खोलेको पान पसल

फिल्मको माइकिङ गर्दै, पोस्टर टाँस्दै शिवशंकरले खोलेको पान पसल

तस्बिर : विशाल कार्की/नेपालखबर


राधिका अधिकारी
कात्तिक २२, २०७९ मंगलबार ८:२९, काठमाडौँ

उनलाई आफ्नोभन्दा पहिला आमाको कथा भन्नुछ। आमाको संघर्ष, हिम्मत र दुःखको कथा नभन्ने हो भने उनलाई आफ्नै कथा अधुरो लाग्ने रहेछ। कलाकार शिवशंकर रिजालकी आमाको संघर्ष ९ वर्षबाटै सुरु भयो। उनकी आमालाई ९ वर्षको उमेरमै १८ वर्षका बुबासँग विवाह गरिदिए। त्यसपछि आमाले बाँच्नका लागि थुप्रै संघर्ष गर्नु पर्यो।

बुबा आमालाई छोडेर कलकत्ता गए। २० वर्ष घर फर्किएनन्। घर सम्झेर, उनकी आमालाई सम्झिएर उनका बुबाले एउटा चिठ्ठी पनि लेखेनन्। यो २० वर्ष उनकी आमाले के–के भोगिन्, त्यसको हिसाब न आमाले राख्न जानिन् न छोरालाई थाहा छ। २० वर्षसम्म घर नफर्किएपछि उनका घरमा उनका बुबाको दाहसंस्कार गर्ने तयारी भयो। आमा पनि श्रीमानको अन्तिम संस्कार गर्न तयार भइन्। तर काजक्रिया गर्ने तयारी हुँदै गर्दा बुबा घरमा आए। 

बुबा फर्किएको अर्को वर्ष शिवका जेठा दाइ जन्मिए। आमाले उनको नाम परशुराम राखिदिएकी थिइन्। तर, २७ महिनामै उनका दाजुको मृत्यु भयो। त्यसपछि वर्षेनि उनकी आमाले ३ छोरी जन्माइन्। त्यसपछि जन्मिए अर्का दाजु। जो अत्यन्त पिलन्धरे थिए। उनी आजै मर्लान्, भोलि नै मर्लान् जस्ता थिए। पहिलो छोरो पनि बितेकाले उनकी आमाको छाती दुखिरहन्थ्यो। त्यसैले पनि उनलाई खाइलाग्दो छोरो जन्माउनु थियो। उनी छैटौँ पटक गर्भवती भइन्। तर यसपटक पनि छोरीको जन्म भयो। 

छोराको आशमा छोरी जन्माउँदाजन्माउँदा परिवाको आकार ठूलो भयो। श्रीमान सधैँ कौडाको खालमा भेटिन्थे। त्यति मात्रै होइन, उनले जुवामा सिन्धुलीको थुप्रै जग्गा, घरभित्रको सम्पत्ति सके। झण्डै चार बिघा खेत उनका बुबाले जुवामा हारे। आमा चुपै लागेर बसिन्। एकदिन घरअगाडिको मुर्कुचे खेतमा पनि जुवा जितेको मान्छे हलो लिएर पस्यो। यो चाहिँ उनकी आमाले हेर्न सकिनन्। उनले सोचिन्, ‘अब म उहाँ बस्यो भने छोराछोरीहरु बन्जडा हुन्छन्, यहाँ बस्नु हुँदैन।’

त्यसपछि उनकी आमाले सरकारले कौडा खेल्न कहाँ बन्देज गरेको छ भनेर खोजी गरिन्। त्यही समय कसैले आमालाई भन्दियो, ‘सर्लाहीको पिपराभित्ता भन्ने ठाउँमा कौडा खेल्दैनन् रे।’ त्यसपछि उनकी आमा छोराछोरी लिएर २०३४ सालमा बसाइँ सरिन। आमासँगै बुबा पनि गए। यो सबै शिवशंकर जन्मनुअघिको कथा हो। 

तराई झरेपछि उनकी आमाले स्वस्थानीको व्रत बसेर भाकल गरिन्, ‘हे माता तिमी साक्षात् छौ भने मलाई खाइलाग्दो, जन्मिँदै मर्छ कि भन्ने डर–त्रास नभएको एउटा छोरा देऊ।’ त्यसको पछिल्लो वर्ष शिवशंकर जन्मिए। उनी जन्मँदै खाइलाग्दो थिए। स्वस्थानीको व्रतको प्रभावले जन्मिएको ठानी आमाले उनको नाम शिवशंकर राखिदिइन्। 

सर्लाही पुगेपछि बुबाको जुवाको लत छुट्यो। आमाले पेवापात गरेर राखेको पैसाले सर्लाहीमा २ बिघा खेत किनिन्। उनका दिदीहरु पनि खेतीको काममा सघाउन सक्ने भएका थिए। सर्लाही झरेपछि उनीहरुको अवस्था सुध्रिँदै गयो। आमाको दुःख कम भयो। बल्ल शिवशंकरको आफ्नै कथाको पालो आयो।

घरका कान्छा छोरा। आमाले व्रत बसी भाकल गरेर जन्माएको सन्तान। उनी जन्मिएपछि नै सुधारिएको पारिवारिक अवस्था। सबै कारणले उनी सबैको प्यारो थिए। घरमा मात्रै होइन स्कुलमा पनि उनी प्रिय थिए। स्कुलमा ऐच्छिक गणित लिएर पढेका उनी राम्रो विद्यार्थीमा गनिन्थे। तर उनी एसएलसीमा फेल भए। यो नै उनको जीवनको असफलताको पहिलो अनुभव थियो। उनी पुरकमा परे। 

एकदिन उखुको पगार (टुप्पा) काट्न गए। पगारको भारी लिएर आँगनका बिसाउनासाथ उनलाई कुकुरले टोक्यो। त्यो समय गाउँमा प्राथमिक उपचार पनि हुँदैनथ्यो। जनकपुर अथवा वीरगञ्ज जानु पथ्र्यो। उनलाई पनि उपचारका लागि पठाउने सल्लाह भयो। उनले भने, ‘म वीरगञ्ज धेरै पटक गएको छु, जनकपुर पनि गएको छु। काठमाडौं देखेको छैन। उपचार गराउन काठमाडौं जान्छु, पशुपतिको दर्शन गर्छु, धरहरा र चिडियाखाना हेरेर फर्किन्छु।’ 

उनका बुबाआमाले समहति जनाए। 

त्यसबेला काठमाडौंसम्म आएको गाडीभाडा ७० रुपैयाँ थियो। उनका बुबाले ५ सय रुपैयाँ दिएर बिदा गरे। उनकी आमा भने निकै पिलपिलाएकी थिइन। जवानीमा घर छोडेर हिडेका उनका बुबा २० वर्ष घर फर्किएनन्। छोरो पनि नर्फकिने हो कि भन्ने चिन्ता उनकी आमालाई थियो। तैपनि उनकी आमाले आँखाभरि आँसु पारेर काठमाडौंका लागि बिदा गरिन्। उनी काठमाडौं आए। 

घरबाट हिँडेको भोलिपल्ट बिहान ४ बजे उनी काठमाडौं झरे। फागुनको समय, काठमाडौंमा जाडो सकिएकै थिएन। तराईमा गर्मी थियो। उनीसँग जाडोका लुगा थिएनन्। पहिलो पटक काठमाडौं झर्दा चिसोले मुटु कमाएको थियो। कलंकी झरेर उनले बाटोमा बालिएको घुरमा निकैबेर आगो तापे। चिया खाए। छ्याङ्ग उज्यालो भएपछि उनी पशुपतिनाथको दर्शन गर्न निस्किए। उनले जीवनमा पहिलो पटक जुत्ता लगाएका थिए। पशुपति पुगेर जुत्ता खोल्दा उनका खुट्टाको रुप फेरिएको थियो। गुम्सिएर कमला भएका थिए उनका खुट्टा। उनी आफैंले आफ्नो खुट्टा हेर्न सकेका थिएनन्। आफ्नो उपचार गरे, सुन्धारा घुमे, चिडियाखाना पुगेर त्यहाँका पशुपन्छीसँग साउती मारे। उनलाई घर फर्किन मन लागेन। लाग्यो, ‘एसएलसीको रिजल्ट आउँन अझै केही महिना लाग्छ, यो त देशको राजधानी हो यहाँ अवसर धेरै छ, म यतै बस्छु।’

काठमाडौंमा आफ्ना मान्छे थिएनन्। होटलमा बस्ने प्रशस्त रकम थिएन। उनी दिनभरि घुम्थे, साँझ परेपछि गौशालाको धर्मशालामा जान्थे। एकदिन डिल्लीबजार चोकमा बसेर चिया खाइरहेका थिए। त्यहीबेला फिल्मको प्रचारमा माइकिङ गर्दै विक्रम टेम्पो आयो। 

फिल्मको प्रचारमा आएका सबै उनी बसेकै ठाउँमा चिया खान झरे। उनले सोधे, ‘यो के गरेको दाइ?’ फिल्मको माइकिङ गरेको जवाफ पाए। उनले भने, ‘गाउँमा मैले चुनावका बेला थुप्रै पार्टीको माइकिङ गरेको छु, म तपाईंसँगै हिँड्छु, मलाई पनि माइकिङ गर्न दिनुस्।’ 

उनलाई पैसा नदिने सर्तमा लिएर हिँडियो। उनले माइकिङ गरे, ‘हे हजुर विश्वज्योति हलको विशाल पर्दामा राजेश हमाल र करिश्मा मानन्धर अभिनित फिल्म आज ४९ औँ दिनमा भव्य प्रदर्शन भइरहेको छ।’ उनले फिल्मको नाम भने बिर्सिए। तर, माइकिङमा पास भएर  प्रसंशा बटुलेको उनलाई याद छ। त्यसको भोलिपल्टबाट उनले माइकिङ गरेको पैसा पाउने भए। 

नयाँ फिल्म रिलिज हुने भएपछि माइकिङ गर्न उनको खोजी हुन थाल्यो। उनले थुप्रै फिल्मको माइकिङ गरे। त्यतिबेला फिल्मको माइकिङ गरेबापत निर्माताले दिनको १ सय ५० रुपैयाँ दिन्थे। त्यतिबेला फिल्म चल्नु भनेको बाटो पोस्टरले रंगीनु थियो। बजारका भित्ताभित्तामा पोस्टर टाँसिन्थ्यो। उनलाई निर्माताले प्रस्ताव गरे, ‘पोस्टर टाँस्ने भए एउटा टाँसेको चार रुपैयाँ आउँछ।’ उनले पोस्टर टाँस्ने काम पनि गरे। दिनभरि माइकिङ, रातभरि पोस्टर टाँस्ने काम गरे। उनको आम्दानीको स्रोत बढ्यो। उनका साथी बने। बासको पनि टुंगो लाग्यो। 

त्यो समय उनलाई थुप्रै निर्माताले ठगे। उनलाई २÷३ हजारको काम गरेपछि २÷३ सय दिने निर्माताको नाम आज पनि याद छ। तर उनले गुनासो गरेका छैनन्। 

काठमाडौं बस्नुमा उनको कलाकार बन्ने भित्री चाहनाले काम गरेको थियो। लामो समय समय टेलिभिजनमा देखिने चानचुने होइनन् भन्ने उनलाई लाग्थ्यो। फिल्म र टेलिभिजनका पर्दामा देखिने मान्छे पनि आफूजस्तै सामान्य मान्छे हुन् जब उनले भन्ने भेउ पाए, तब उनलाई पनि टेलिभिजनमा देखिने भोक पलायो। 

माइकिङ गरेको ६ महिनापछि उनको प्रमोसन भयो। उनी फिल्मको रिल बोकेर देशभरिका हलमा जान थाले। पहिलो पटक उनी भुवन केसीको करोडपतिको रिल बोकेर झापा गए। असारको समय थियो। कोसीमा ठूलो बाढी गएको थियो। उनी त्यसपछि देशका थुप्रै हलमा फिल्मको रिल बोकेर पुगे। देश देखे, धेरैथोक भोगे। 

भरिया बनेर गएका उनलाई गाउँघरमा फिल्मको मालिक भन्न थालियो। साराको मान, माया र स्नेह। उनलाई लाग्यो, ‘जीवन त यो पो रहेछ।’ उनी त्यतै रमाए। फिल्म लिएर गएवापत निर्माताले ५० रुपैयाँ, हलवालाले ५० रुपैयाँ भत्ता दिन्थे। मौका मिल्यो भने गेट किपरसँग मिलेर २÷५ जना दर्शक भित्र छिराइदिन्थे। अलिअलि कमाइ थपिन्थ्यो। त्यही क्रममा देखे उनले दर्शकमा कलाकारको क्रेज। सानो भूमिका गर्ने कलाकार हलमा पुग्दा पनि दर्शकले घेर्थे। उनको अभिनय मोह झन् बढेर गयो। निर्मातालाई भने। पहिलो पटक रामकृष्ण ढकालमाथि बनेको फिल्म ‘आशीर्वाद’मा अभिनय गरे। यहाँ उनको भूमिका फिल्मको माइकिङ गर्ने नै थियो। गाउँ जाँदा उनको शान बेग्लै भयो। उनको झण्डै चार वर्ष यसरी नै बित्यो। 

फिल्ममा सानोतिनो भूमिका थुप्रै गरे। त्यतिबेला निकै कम फिल्म बन्थे। काम देउ भनेर सानो–सानो भूमिका खेल्ने शिवशंकरहरुले पैसा पाउँदैनथे। उनलाई कलाकारिता गर्नु थियो। त्यसका लागि काठमाडौंमा टिक्नु थियो। फिल्मका रिल बोकर दौडिँदा उनको गुजारा त चल्थ्यो तर कलाकारिता सम्भव थिएन। 

सानैदेखि राजनीतिक कार्यक्रमहरुमा सरिक उनी केही नेतालाई चिन्थे। तिनैमध्ये पर्थे महन्थ ठाकुर। त्यतिबेला ठाकुर कानुनमन्त्री थिए। २०५७ सालमा उनले ठाकुरलाई भेटेर जागिर चाहियो भने। ठाकुरले उनलाई बबरमहलमा रहेको कानुन किताब खानामा सुब्बाको जागिर लगाइदिए। मासिक तलब ४९ सय थियो। भदौमा जागिर सुरु गरेका थिए। उनले एकैपटक दसैँमा तलब थापे। दसैँ पेस्कीसहित झण्डै १४ हजार तलब आयो। उनी परिवारका सबैलाई लुगा, बिस्कुट र चाउचाउ किनेर घर गए। घरका सबै खुसी भए। 

जागिर नखादासम्म उनका बा–आमा उनीसँग खुुसी थिएनन्। कलाकारिताप्रति बुबा–आमाको सहमति थिएन। उनका बुबा–आमा काठमाडौं आउ–जाउ पनि गर्दैनथे। उनको आफ्नै कोठा थिएन। मन्त्रीले लगाइदिएको जागिर मन्त्री जाँदा जाने खालको थियो। उनले जागिर स्थायी गराउन पनि निकै सघर्ष गर्नु पर्यो। जागिर स्थायी भएपछि भने उनको जीवनको गति फेरियो। आफैँले कोठा लिए। मेटरसाइकल किने। गाउँभरि उनले मोटरसाइकल किनेको हल्ला भयो। बा–आमा काठमाडौं आउन थाले। घरमा भएको अन्नपात काठमाडौं आउन थाल्यो। एनको जीवन झन् सहज भयो। 

२०५९ सालमा शिवशंकरको जीवनले नयाँ मोड लियो। उनलाई लाग्यो फिल्मको यो सानोतनो भूमिकाले मेरो कला यात्रा फस्टाउँदैन। त्यतिबेला शेखर खानाल उनका साथी थिए। उनैसँगै जोडी बनाएर गाईजात्रा ‘श्राद्ध’ निकाले। त्यसपछि भने उनी निकै चर्चित बने। ७ हजार क्यासेट बिक्री भयो। त्यसपछि ‘एसक्युज मी’ नामक कमेडी सिरियल बनाए। त्यही सिरियलमा शिवशंकरले जोगिन्दरको भूमिका निर्वाह गरे। उनको चरित्र हिट भयो। मधेशी मूलको पात्रको भूमिकामा उनी फिट देखिए। त्यसपछि फिल्ममा उनको माग बढ्यो। थुप्रै फिल्म, टेलिसिरियल, सडक नाटक गरे। उनको आम्दानी बढ्यो। त्यसपछि उनले हरेक वर्ष गाईजात्रा निकाले। शिवशंकरले नाम मात्रै कमाएनन्, राम्रै पैसा पनि कमाए। कलाकारिताबाटै आएको पैसाले उनले काठमाडौंमा घडेरी किनेर घर बनाएका छन्। 

२०६७ मा हिमाल टेलिभिजन खुल्यो। टेलिभिजनको मनोरञ्जन प्रमुख नारायण पुरी बने। पुरीसँग उनले थुप्रै काम गरेका थिए। फोन गरेर टेलिभिजनमा कार्यक्रम गर्ने प्रस्ताव गरे। पुरीले भेट्न बोलाए। पुरीलाई भेटेर कमेडी सिरियल बनाउने बताए। पुरीले सिरियल बनाउने पैसा नभएकाले अर्कै कन्सेप्ट सोच्न भने। त्यसपछि उनले सुरु गरे जोगिन्दरको पान पसल। उनलाई जोगिन्दरको पान पसलले झन् धेरै लोकप्रिय बनायो। उनको पान पसलमा देशका सबै क्षेत्रका चर्चित अनुहार देखिए। त्यसपछि उनको परिचय नै फेरियो, ‘जोगिन्दर पानवाला।’

कोरोना कालपछि उनको पान पसल बन्द छ। मनोरञ्जन क्षेत्रमा सबै कुराको सिरिज चलेको छ। उनलाई पनि नयाँ ढंगले पान पसलको दोस्रो सिरिज गर्न मन छ। अहिले भने ‘जोगिन्दर मुखिया जी’ भन्ने नयाँ शो मा उनी काम गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .