ad ad

कला


अभिनेता धीरज मगरलाई भिलेन बन्ने रहर

अभिनेता धीरज मगरलाई भिलेन बन्ने रहर

भेषराज कार्की
असोज ५, २०७९ बुधबार १९:४२, काठमाडौँ

धीरज मगर नेपाली चलचित्रमा स्टारडम भएको अभिनेताका रूपमा परिचित छन्। बेलायत बसोबास गर्ने अभिनेता मगरले चार वर्षअगाडि प्रदर्शन भएको चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’मार्फत डेब्यु गरेका हुन्। 

कोरियोग्राफर रेनाशा बान्तवा राईको निर्देशनमै उनले दोस्रो चलचित्र ‘आइ एम ट्वान्टी वान’ मा अभिनय गरेको भए तापनि प्रदर्शनको टुङ्गो लागेको छैन। यद्यपि उनले अभिनय गरेको तेस्रो चलचित्र ‘बाबरी’ दसैँमा प्रदर्शन हुँदै छ। यसैकारण अहिले उनको दिनचर्या फेरिएको छ। 

पहिलो चलचित्रले नै राम्रो व्यापार गरेपछि उनी सर्वाधिक खोजिने अभिनेतामा परे। उनको उपस्थितिले दर्शक हलसम्म आउँछन् भन्ने विश्वास छ। तर उनी आफूलाई अभिनय क्षमताले अगाडि बढाउने सोचमा छन्।

‘स्टारडम त केही समयको हुन्छ। म अभिनेता बन्न चाहन्छु। मेरो अभिनयका कारण दर्शक हलसम्म आउनुहोस् भन्ने म चाहन्छु’, उनले भने।

उनी सुन्दरता आवरणभन्दा पनि अभिनयमा देखाउने तयारीमा छन्। तेस्रो चलचित्रमा काम गरिसकेपछि उनमा देखिएको परिवर्तन हो यो।

बेलायतबाट नेपाल आउँदा देखेको सपना बिस्तारै साकार हुँदै गर्दा उनलाई आगामी दिनको यात्रा गर्न सहज पनि बनाएको छ।

‘मैले पाएको मायाले दायित्वबोध गराएको छ। किनकि म यहाँ कलाकार बन्न आएको थिएँ। मैले पाएको दर्शकको साथलाई शब्दमा व्यक्त गर्न सक्दिनँ’, अभिनेता मगरले भने। 

उनी मात्र नभई ‘पपुलर’ अभिनेतामा पर्ने अनमोल केसी, प्रदीप खड्का पनि स्टारडमको छायाबाट बाहिर निस्किने चलचित्रमा काम गरिरहेका छन्। प्रदीप अभिनित ‘प्रकाश’ प्रदर्शन भइसक्यो भने अनमोलले ‘छड्के २’ मा अभिनय गरिरहेका छन्। 

प्रदीपलाई ‘प्रकाश’ को भूमिकामा देखिँदा सहजै चिन्न नसकिएको प्रतिक्रिया दर्शकमार्फत प्राप्त भएको थियो। अनमोलले पनि आफूलाई फरक देखाउन ‘धुपौरे’ नामक चलचित्रमा अभिनय गर्ने तयारी गरेका थिए। त्यो नबन्ने भएपछि त्यस्तै चलचित्रको खोजीमा रहेको अनमोलले ‘छड्के’ को सिक्वेल रोजेका हुन्। उनी यसको छायाङ्कनमै छन्। पपुलर अभिनेतामै पर्ने सलिनमान बानियाँले पनि दोस्रो चलचित्र ‘यात्रा : द म्युजिकल भ्लग’ मा स्टारडमबाट बाहिर निस्किने प्रयास गरेका थिए। 

पछिल्लो समय देखिएको यस किसिमको परिवर्तनलाई धीरज सकारात्मक रूपमा लिन्छन्। 

‘हामीभित्र बढेको चलचित्रको चेतनाले यस किसिमको परिवर्तन देखिएको हो। आफ्नो अनुहार मात्र नभई अभिनय देखाउनुपर्छ भन्ने चेतना बढ्नु सुखद हो। हामी प्रयास गरिरहेका छौँ’, अभिनेता मगरले भने।

त्यसो त धीरज आफू देखिएकै कारण चलचित्र चल्नेमा सहमत छैनन्। 

‘स्टारडम त सकिन पनि सक्छ। तर म कलाकार भएपछि त्यो कलाकारिता रहिरहन्छ। मलाई व्यक्तिगत रूपमा स्टारडमप्रति विश्वास पनि लाग्दैन। किनकि, यो मेरो दोस्रो चलचित्र हो। मैले अझै धेरै कुरा सिक्न बाँकी छ। म कलाकारका रूपमा चाहिँ बढी जिम्मेवारी महसुस गर्छु’, उनले भने। 

डेब्यु चलचित्रमा सफ्ट लभरब्वाईको चरित्र निर्वाह गरेका उनले ‘बाबरी’मा आफूलाई पूर्ण रूपमा परिवर्तन गरेका छन्। प्रचारप्रसार सामग्री सार्वजनिक हुँदा दर्शक मात्र नभई चलचित्रकर्मीलाई समेत उनको स्वर होइन कि भन्ने लागेको थियो।

‘सानो राजा साहेब’ का रूपमा उनी फरक देखिएका छन्। यो चरित्रमा पूर्वयुवराज पारस शाहबाट पनि प्रभावित छ। बाहिरी हाउभाउ जस्तै : बोल्ने, हिँड्ने शैली मिल्न सक्छ। 

‘सम्पन्न ठकुरी परिवारको छोराको भूमिकामा देखिन लाग्दा मैले उहाँहरुको बारेमा बुझेँ। मैले साथीहरुलाई सोधेर उहाँहरुको शैली र स्वभावलाई पनि नियालेँ। साथै छायाङ्कन हुनु केही दिन अगाडि म पूर्व पुगेर त्यहाँको जीवनशैलीलाई नियालेँ। स्थानीय युवालाई हेरेर नै चरित्रलाई पूर्णरूपमा तयार गरेको हुँ’, अभिनेता मगरले भने। 

यो परिवर्तन निर्देशक सुरेन्द्र पौडेलकै कारण सम्भव भएको उनी बताउँछन्। 

निर्देशक पौडेलले फरक गेटअपसँगै भूमिका प्रस्ताव गरेका थिए। पहिलोपटक सुन्दा स्वाभाविक नसुनिए तापनि अहिले दर्शकले यसलाई स्वीकारेका छन्। धीरजले बोलेको संवाद सामाजिक सञ्जालमा पपुलर भएको पाइन्छ।

उनी भन्छन्, ‘सफ्ट भ्वाइसलाई यसमा फरक बनाएँ। किनकि विज्ञानमा सबैलाई थर्काउने, अलि होच्याउने स्वभाव छ। निर्देशकले गर्नुभएको विश्वासमा मैले मेहनत गरेको हुँ।’

दर्शकले रुचाइरहेको भूमिकाभन्दा फरक देखिँदा पाइरहेको प्रतिक्रियाले धीरज खुसी छन्। चार वर्षपछि पर्दामा आउँदै गर्दा पाइरहेको प्रतिक्रिया सकारात्मक छ।

लभरब्वाईकै चरित्रमा प्रस्ताव आइरहे तापनि उनी सुन्दरताभन्दा पनि अभिनयको चर्चा होस् भन्ने चाहन्छन्। 

‘म फरक गर्ने प्रयासमा छु। किनकि एउटा अभिनेतामा लुक्ससँगै राम्रो अभिनय चाहिन्छ। म दुवैलाई हुने अभिनेता बन्न चाहन्छु’, उनले भने।

उनी आफूलाई कलात्मक अभिनेताका रूपमा कमर्सियल भ्यालुसँग पनि बलियो बनाउन चाहन्छन्। 

हिरोको रूपमा दर्शकको प्रिय बनिसकेका धीरजमा भिलेन बन्ने रहर छ। सकारात्मक भूमिकाभन्दा अभिनय क्षमता देखाउन नकारात्मक भूमिका प्रभावकारी हुने उनी बताउँछन्। 

‘मलाई सस्पेन्स र थ्रिलर चलचित्र मन पर्छ। त्यसैले पनि भिलेन बन्दा अझै कलाकारिता प्रस्तुत गर्न सक्छु जस्तो लाग्छ। मलाई सुहाउँदो अफर आयो भने म भिलेन बनेर प्रस्तुत हुन तयार छु’, उनले भने। 

‘बाबरी’ मा धीरजसँगै अदिति बुढाथोकी, धीरज नाडकर मुख्य भूमिकामा छन्। उनीहरुको त्रिकोणात्मक प्रेमकथा चलचित्रमा देखाइएको छ। यसको छायाङ्कन नेपालसँगै सिक्किममा गरिएको छ। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .