ad ad

कला


गीतबाटै विद्रोह, भन्छिन् : महिलाले ‘नो’ भन्न सक्नुपर्छ

गीतबाटै विद्रोह, भन्छिन् : महिलाले ‘नो’ भन्न सक्नुपर्छ

गायिका सोफिया थापा


राधिका अधिकारी
साउन २२, २०७९ आइतबार ११:३०, काठमाडौँ

‘छोरी जन्मिँदैनन्, बनाइन्छ’ - गायिका सोफिया थापाले आफ्नो गीतको सुरुवातमै भनिन्। उनको यो भनाइ धेरैलाई अनौठो लाग्यो। धेरैले प्रश्न गरे, ‘कसरी बनाइन्छ? छोराछोरी जन्मिने प्रक्रिया उही होइन र?’

जवाफमा सोफिया भन्छिन्, ‘हो जन्मने प्रक्रिया एकै हो। ऊ जन्मँदा केवल मानव भएर जन्मिएकी हुन्छे। उसलाई छोरी त यो समाजले, यहाँको शक्ति र सत्ताले बनाउँछ।’

छोरीले यो समाजमा भोग्नुपर्ने अवस्था र परिस्थितिको बेग्लै फेहरिस्त छ। उसलाई हुर्कंदै गर्दा बिचरी बनाइन्छ। धेरै कुराबाट टाढा राखिन्छ। सोफिया समाजको यही फरकपन हेर्दै हुर्किएकी हुन्। तर उनलाई परिवारले गर्ने व्यवहार फरक थिएन। त्यसैले उनलाई लाग्यो– छोरीहरू जन्मँदै असक्षम हुँदैनन्, असक्षम त यो समाजले बनाउने हो।’

सानैदेखि उनको सोच छोरीहरूका लागि केही गर्ने थियो। कोरोना कालमा उनको यो चेतनाले उनलाई झनै सतायो। कोराना महामारीका बेला मानव समुदाय नै संकटमा पर्यो। नेपाली महिलाको जनजीवन झन् धेरै कष्टकर बन्यो। 

यो समय नेपाली महिलाले आत्महत्या गर्ने क्रम पनि बढ्यो। विभिन्न खाले घटना सार्वजनिक भए। विभेद हेर्दै हुर्किएकी सोफिया पनि घरभित्र सीमित थिइन्। उनीसँग प्रशस्त समय थियो। त्यही फुर्सदको सदुपयोग गर्दै सोफियाले नेपाली महिलाबारे अध्ययन गरिन्। त्यस क्रममा महिलाविरुद्ध भइरहेका अनेकन हिंसा जो महिलाभित्रै दबेर बसेको पाइन्।

महिलालाई हुने हिंसाका कारण थुप्रै थिए। अध्ययनका क्रममा सोफियाले हिंसाका थुप्रै प्रकार पनि भेटिन्। सबैभन्दा ठूलो हिंसाको कारण थियो– महिलाको दबाइएको आवाज। महिलाहरूले ‘नो’ भन्न नसकेरै थुप्रै हिंसा भोगिरहेका थिए। उनलाई लाग्यो– महिलाले ‘नो’ भन्न सक्नुपर्छ। उनलाई समाजमा ‘नो’ भन्ने कुरा स्थापित गराउनु थियो। 

गायिका सोफिया थापा

त्यही वर्ष तीजको अवसर पारेर सोफियाले ‘अहिलेको तीज, नो व्रत प्लिज’ भन्ने गीत बनाइन्। सोफियाको यो गीतले नेपाली सांगीतिक बजारमा ठूलै तरंग ल्यायो। सोफियालाई गीत सशक्त माध्यम हो भन्ने थाहा थियो। गीतको शक्तिलाई उनले कम ठानेकी थिइनन्। उनलाई यो गीतले निकै विवादमा पार्यो। थुप्रै आलोचना खेप्नुपर्यो। थुप्रै दबाब झेल्नुपयो। 

उनलाई समाजले प्रश्न गर्यो– तिमीलाई ‘नो’ भन्ने अधिकार कसले दियो?

उनलाई लाग्यो– हाम्रो समुदाय महिलाको ‘नो’सँग डराउँछ। सामान्य गीतले असामान्य स्थिति सिर्जना गरेपछि सोफियालाई लाग्यो– ‘नो’भन्दा ठूलो विद्रोह केही रहेनछ।

भन्छिन्, ‘तीजको नाममा भोकभोकै बसिने व्रत पछाडिको बाध्यतालाई मैले गीतमार्फत ‘नो’ भनिरहँदा हामीले बाँचिरहेको समाजमा ‘नो’ भन्नुपर्ने विषय प्रशस्तै छन् भन्ने बोध गरेँ। धर्मको नाउँमा भइरहेको व्यापार, विभाजन, जातीय प्रथा र त्यसले मनोविज्ञानमा पारेको हिंसात्मक प्रभावलाई हामीले ‘नो’ भन्न सक्नुपर्छ। नागरिकको स्वतन्त्र बाँच्न पाउने हकविरुद्ध काम गर्नेलाई ‘नो’ भन्नुपर्छ ।’ 

यसो भन्दै गर्दा सोफियाको प्राथमिकतामा फेरि पनि छोरीहरूकै जीवन पर्यो।

हिन्दु धर्मविरोधी भएको भन्दै गीत हटाउन दबाब आयो। उनले गाएको यो गीतको विरोध गर्ने पंक्ति अग्रजदेखि अनुजसम्म देखिए। त्यही पंक्तिमा थिए– सर्जक शिव हमाल। गीतले धर्म–संस्कृतिमा हमला गरेको भन्दै उनले विरोध गर्नेहरूलाई साथ दिए। दुई दिनअघि उनले लेखेको गीत विवादमा आयो। सोफिया केही बोलिनन्। उनी अहिले पनि सम्झन्छिन्, ‘यो गीतले मलाई दबाब, तनाव विवाद सबै दियो।’

यही गीत सुनेर दुर्गा बञ्जाडेले गीतकार रमेश क्षितलाई एउटा गीत लेख्न आग्रह गरिन्। क्षितिजले गीत लेखे। त्यो गीत क्षितिजले सोफियाको इनबक्समा खसालिदिए। गीतका हरफ पढ्दै गर्दा सोफियाले खोजिरहेको ‘आवाज’ भेटिन्। उनलाई छोयो। भन्छिन्, ‘म पनि आवाजमार्फत महिलाहरूका कुरा बोल्न खोजिरहेकी थिएँ।’ 

सोफिया केही सफल महिलाको जीवन हेरेर समग्र नेपाली महिलाको अवस्था आकलन गर्नै सक्दिनन्। उनी भन्छिन्, ‘अहिले पनि थुप्रै महिला निकै कठिन समयबाट गुज्रिरहेका छन्। ती कठिन परिस्थितिको सामना गर्दै बाँचिरहेका महिलाका लागि केही गर्नुपर्छ भन्ने सोचबाट प्रेरित भएर मैले ‘नो’ यात्रा सुरु गरेकी हुँ।’

यही गीतले दिलाएको अर्को गीत ‘आवाज’ हो। ‘आवाज’ गीत बजारमा ल्याउन सोफिलाई २ वर्ष लाग्यो। गीत बनाउन लागेको समयको पनि लामो कहानी छ। गीतमा गरेको लगानी उठ्ने सम्भावना निकै कम छ। त्यो कममा पर्ने गीत अर्कै खालका छन्। त्यसैले गीतका लागि उनमा लगानी गर्ने म्युजिक कम्पनी छैनन्। उनी म्युजिक कम्पनीले खोजी गर्ने हिट गायिका होइनन्। उनी हिट हुन गायनमा आएकी पनि होइनन्।

उनलाई त केवल परिवर्तनका लागि थोरै भए पनि माध्यम बन्न सकौं भन्ने हुटहुटी छ। उनी विद्रोहका लागि गायनमा आएकी गायिका हुन्। 

कलेजकी प्रोफेसर सोफियालाई गीत रेकर्डदेखि म्युजिक भिडिओ निर्माणसम्मको खर्च जुटाउन गाह्रो भयो। त्यसैले गीत निस्कनै समय लाग्यो। आफ्नो हितका लागि, अधिकारका लागि महिलाले आवाज दिनुपर्ने कुरा सोफियाले गीतमार्फत अभिव्यक्त गरेकी छन्। आफ्नो अधिकारको वकालत हरेक महिलाले आफ्नै आवाजमार्फत गर्नुपर्ने बताउँछिन् सोफिया। 

आफूविरुद्ध हुने अन्याय, शोषण, हिंसा र षड्यन्त्र महिलाले नै महसुस नगर्दासम्म परिस्थिति नबदलिने बताउँदै आफूले गीतमार्फत सन्देश दिन खोजेको सोफियाले बताइन। भन्छिन्, ‘गीतले के गर्न सक्छ र भन्ने लाग्न सक्छ। तर ठूलो तरंग ल्याउन सक्छ।’ 

महिलाहरूले उल्लासका साथ मनाउने पर्व तीजको अवसर पारेर यो गीत सार्वजनिक गर्नुको पनि अर्थ रहेको सोफिया बताउँछिन्। भन्छिन्, ‘म आफ्ना गीतहरूबाट महिला मुक्तिका लागि सधैं संघर्ष र विद्रोह गर्नेछु।’

सोफियाको उक्त गीतमा हरि लम्सालले संगीत भरेका छन्। गीतको भिडिओ ‘ग्राफिकल’ शैलीमा तयार पारिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .