ad ad

कला


स्वरसम्राट नारायण गोपालको सम्झना

स्वरसम्राट नारायण गोपालको सम्झना

नेपालखबर
मंसिर १८, २०७६ बुधबार १५:५७,

नेपाली संगीत जगतका चम्किला तारा नारायणगोपाल गुरुवाचार्यको स्वर्गारोहण भएको २९ वर्ष पुगेको छ। नेपाली संगीतको क्षेत्रमा गहिरो प्रभाव छोड्न सफल उनी नेपाली जन जनको मनमा अहिले पनि जीवन्त छन्।

बुबा आशगोपाल गुरुवाचार्य र आमा रामदेवीका कोखबाट उनी विसं १९९६ असोज १८ गते काठमाडौंमा जन्म भएको थियो। उनको विसं २०४७ मंसिर १९ गतेका दिन ५१ वर्षको उमेरमा निधन भयो। बिहीबार उनको २९औँ स्मृति दिवसको अवसरमा नारायणगोपाल संगीत कोषले नको सम्झनामा विभिन्न कार्यक्रमको आयोजना गर्दैछ।

उनका कालजयी गीतले नेपाली गीत–संगीतको स्वरुप नै बदलिदियो। हिन्दी गीतबाट प्रभावित त्यतिबेलाको समयमा उनका एकपछि अर्को गर्दै आएका विभिन्न गीतहरुले दर्शक स्रोताको मन जिते। उनका गीत राष्ट्रिय भावले ओतप्रोत रहेका छन्।

नारायण गोपालका गीतको प्रभाव बढ्न थालेपछि हिन्दी गीतको प्रभाव घटेको जानकारहरु बताउँछन्। उनले विसं २०१७ मा पहिलो गीत रेकर्ड गरेर सांगीतिक यात्रा प्रारम्भ गरेका थिए।

प्रेम र देशभक्ति गीत गाउन रुचाउने उनले शब्द र संगीतलाई निकै ध्यान दिने गरेको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ (रायन) बताउँछन्। ‘परम्परागतरूपमा चलिआएको संगीतमा नारायण गोपालले आधुनिकता भर्ने काम गर्नुभयो’, उनले भने, ‘जति गीत गाउनुभयो सबै उत्तिकै राम्रा छन्।’

नारायण गोपाल पहिलोपटक त्रिचन्द्र कलेजको वार्षिकोत्सवमा साथीहरुको साथ तबलावादकका रूपमा स्टेज चढेका थिए। नारायण गोपालले नराम्रा गीत गाउनलाई अस्वीकृत गरेर शब्द र संगीत उत्कृष्ट भएका गीतहरु मात्र गाउने गरेको उनले बताए।

उनका गीत अहिलेका पुस्तामाझ पनि कर्णप्रिय बन्न सफल रहेका छन्। उनी उत्कृष्ट आधुनिक गीतहरु पस्किएर नेपाली संगीत क्षेत्रमा देखिएको रिक्ततालाई मेटाउन सफल ठहरिए। प्रेमसम्बन्धी गीत गाएर लाखौँ युवा वर्गको रोजाइमा पर्न सफल भए। नारायण गोपालले नेपाली सुगम संगीतको क्षेत्रमा कहिल्यै भुल्न नसकिने गुन लगाएका छन्।

सांगीतिक जीवनमा उनले केही असफलता पनि बहोर्नुपरेको थियो। पहिलोपटक नै स्वर परीक्षामा अनुत्तीर्ण हुनुपरेको थियो भने चलचित्र माइतीघरको गीत गाउन जाँदा गाउन नसकेकर अवीकृत हुनुप¥य । उनले भारतको बडोदामा शास्त्रीय संगीतको अध्ययन पूरा नगरी छाडनुपरेको थियो।

करीब १०० बढी गीतमा आवाज भरेका उनका सबै गीत कालजयी छन्। अहिलेको समयमा पनि उत्तिकै राम्रा मानिन्छन्। नारायण गोपालको घरमा शास्त्रीय संगीतबाहेक आधुनिक गीतमा रम्न मनाही थियो। बुबाले आधुनिक संगीतलाई हलुका रंगिन ठान्थे। पूर्वपश्चिम राजमार्गको निर्माण कार्य चलिरहेका बेला उनले जाग लम्क चम्क हो नौ जवान हो... बोलको गीतमा स्वर दिएर ऊर्जा थपिदिने कार्य गरेका थिए।

उनी गायक संगीतकारका अतिरिक्त इतिहासका जानकार, फुटबल खेलका पारखी, चेस खेलाडी, कुशल भान्से, फोटोग्राफरका रूपमा पनि रहेका जानकारहरु बताउँछन्। उनले मानविकी शास्त्रमा स्नातकोत्तर गरेका थिए।
विसं २०२७ फागुनमा पेमालाका साथ वैवाहिक जीवनमा बाँधिए पनि उनीहरुबाट सन्तान जन्मिएनन्। नारायण गोपालको स्मृति दिवसका दिन संगीत कोषले उनको सम्झनामा निर्माण हुन लागेको भवनको शिलान्यास, स्रष्टा सम्मान र प्रवचन कार्यक्रमको आयोजना गर्न लागेको कोषका प्रशिक्षक राजकुमार श्रेष्ठले बताए।

एउटा मान्छेको मायाले कति, आँखा छोपी नरोऊ भनी, पर्खी बसेँ आउला भनी, यति धेरै माया दिई, यो सम्झिने मन त, अल्झेछ क्यारे पछ्यौरी तिम्रो, म त लालीगुराँस भएछु, ल सुन मेरो रामकहानी, यति चाखो यति मिठो, तिमीलाई म के भनुलगायतका दर्जनौँ अजर अमर गीतमा नारायण गोपालले स्वर भरेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .