एस के इन्टरटेनमेन्टको प्रस्तुतिमा आयोजना हुन गइरहेको मिसेस एण्ड मिस गुरुङ २०२२, सिजन-३ को पहिलो अडिसन सम्पन्न भएको छ।
राजधानीमा सम्पन्न अडिसनमा काठमाडौं भित्र तथा काठमाडौं बाहिरबाट ४० जना प्रतियोगीहरुको उपस्थिती रहेकाे आयाेजकले जनाएका छन्।
गुरुङ समुदायका अविवाहित र विवाहित महिलाहरुको कला संस्कृति तथा भाषा लगायतको समग्र व्यक्तित्व विकास गर्ने उदेश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा नायक रमेश उप्रेती, कोरियोग्राफर रोजिन शाक्य, नायक आनन्द गुरुङ, मिसेस गुरुङ–२०२१ चिनीमाया गुरुङ, मिसेस गुरुङ–२०२१ फर्स्ट रनरअप पुजा गुरुङ, मिसेस तामाङ–२०२० आकृति तामाङ, मिस इण्डीजिनियस–२०२१ नम्रता तामाङ, मिस गुरुङ–२०२१ सुस्मिता गुरुङ र चलचित्र निर्देशक दिप गुरुङ निर्णायक मण्डलको उपस्थितीमा अडिसन सम्पन्न भएको थियो।
आयाेजकका अनुसार गुरुङ जातिको कला संस्कृति भेषभूषा, रिति-रिवाज एवम् रहन-सहनलाई उजागर गर्दै विवाहित तथा अविवाहित गुरुङसेनी, गृहिणी/व्यवसायिक महिलामार्फत अन्य जन जाति, समाज, राष्ट्र तथा अन्तर्राष्ट्रिय स्तरमा समेत प्रवर्धन र सामाजिकीकरण गर्ने उदेश्यले विगत ३ वर्षदेखि आयोजना गरिँदै आएको मिसेस एण्ड मिस गुरुङ–२०२२ सिजन-३ समग्र जनजातिहरुको प्रतिनिधित्वमूलक सौन्दर्य प्रतियोगिता हो।
उक्त प्रतियोगिताको बिजेताले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडिओ, मिडिया अन्तरर्वार्तामा समेत सहभागिता हुन पाउनेछन्।
प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ एक महिना सम्म विशेष प्रशिक्षण प्रदान गरिने छ। जसमा नेपालका ख्याति प्राप्त चर्चित फेसन कोरियोग्राफर ट्रेनर रोजिन शाक्य बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिइनेछ।
प्रशिक्षणको क्रममा प्रतिस्पर्धीहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागी गराइने भएको छ।
प्रतियोगीहरुले आफूले सिकेको ज्ञानहरुलाई समाजमा प्रतिस्पर्धा गर्न अनि आफ्नो आत्मा विश्वास बढाएर भोलिको दिनमा ट्रेनिङ बाट सिकेको कुराहरुलाइ उपयोग गर्न सक्ने बनाउनु नै मुख्य लक्ष्य रहेको आयोजक शान्ता तामाङ बताउँछिन्।
यस सौन्दर्य प्रतियोगिताले गुरुङ विवाहित नारि, युवा युवतीहरुबीच व्यक्तित्व विकास र आफूसँग भएको प्रतिभा प्रस्फुटन गरि समाजमा एक प्रकारको सकारात्मक सन्देश दिन सफल हुने कुरामा उनी विस्वस्त छिन्।
Shares

प्रतिक्रिया