ad ad

कला


सामाजिक सञ्जालमा बहस : ‘मिस ग्लोबल’ मा यौन हिंसा भएकै हो त?

सामाजिक सञ्जालमा बहस : ‘मिस ग्लोबल’ मा यौन हिंसा भएकै हो त?

नेपालखबर
जेठ ५, २०७९ बिहिबार १५:३०, काठमाडौँ

सामाजिक सञ्जालले बेला–बेला विभिन्नखाले बहस र विवाद सिर्जना गर्दै आएको छ। सञ्जालबाट सुरु भएका बहसमा चिनिएका अनुहारमा पनि हिलो छ्यापिने गरेको छ। यही सञ्जालमा बुधबारबाट एक युवतीले आफू हिंसामा परेको भन्दै बहस सिर्जना गरेकी छिन्। 

टिकटकमा ‘सुसी खान जाने हो’ नामको एकाउन्टबाट एक युवतीले आफूमाथि यौन हिंसा भएको घटना सार्वजनिक गरिन्। उनले बताएअनुसार घटना २०७१ सालको हो। ‘मिस ग्लोबल’ नामक ब्युटी प्याजेन्टमा सहभागी हुन पुगेकी युवतीले त्यही प्रतियोगिताका दौरान आफूमाथि यौन हिंसा भएको बताएकी छिन्। 

युवतीले प्रतियोगिताका आयोजकले नै आफूलाई बलात्कार गरेको बताएकी छिन्। अर्धचेत बनाएर आयोजकले बलात्कार गरेको फोटो तथा भिडियो बनाउन फोटो पत्रकारले साथ दिएको पनि उनले बताएकी छिन्। 

युवतीले आफू यौन हिंसामा परेको खबर सन् २००२ की मिस नेपाललाई समेत जानकारी दिएको बताएकी छिन्। अहिले ती युवतीले दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भैरहेको छ। 

पीडित युवतीले आफ्नो नाम बताएकी छैनन्। तर, सामाजिक सञ्जालका प्रयोगकर्ताले उनको भिडियो फेसबुकमा राखेर न्यायका लागि आवाज उठाएका छन्। अहिले युवतीको उक्त टिकटक एकाउन्ट भने डिलिट भैसकेको छ। तर, उनका भिडियो सामाजिक सञ्जालमा प्रसस्तै भेटिन्छन्।

स्टार कलाकारदेखि सामान्य मानिससम्मले सामाजिक सञ्जालमा उनलाई न्याय दिनुपर्ने बताइरहेका छन्। युवतीको प्रश्न भाइरल हुँदै गर्दा सञ्जालमा दोषीलाई कारबाही गर्न दबाब बढिरहेको छ। 

अभिनेत्री केकी अधिकारी पीडितको पक्षमा उभिएकी छिन्। उनले सेयर गरेको स्टाटसमा जहाँ लेखिएको छ ‘महिला संयन्त्र, पुलिस, अदालत खबरदार! काम सुरु गर। किशोरीले हिम्मतका साथ सार्वजनिक गरेको बलात्कार र यौन शोषणका घटनामा राज्यको सरोकारवाला हरेक अंगहरु जवाफदेही हुनुपर्छ। वर्चस्वशाली व्यक्तिले किशोरीहरु माथि गरेको जघन्य अपराधको छानबिन गर्ने र न्याय दिलाउने उचित संरचना बनाउनुपर्छ। सम्पूर्ण चेतनशील र संवेदनशीलहरु पीडितलाई न्यायपूर्ण सहज जीवनका लागि सहयात्री बन्दा मात्र यो काम हुनसक्छ। हुन त, यो व्यवस्थाले दिने न्यायमा, पूर्ण भरोसा छैन। तर पनि अहिले भएकै संरचनाबाट न्यायको माग गर्ने तत्कालका लागि सहि विकल्प हो। यो पुँजीको खेलमा बनिसकेको तहगत संरचना र त्यसैको आधारमा निश्चित वर्षले निकृष्टतम रुपमा अभ्यास गरेको सबैखाले विशेषाधिकार अन्त्य गर्ने र वास्तविक अर्थमा न्याय र समानताको लडाईनै आज र भोलि पनि अरु किशोरीहरुलाई सहि अर्थमा हिंसा र हिंस्रकबाट बचाउने माार्ग हो।’

सन २०१८ की मिस नेपाल श्रृंखला खतिवडा पनि पीडितको पक्षमा उभिएकी छिन्। उनले ब्युटी प्याजेन्टको नाममा भएको हिंसा बाहिर ल्याएकी युवतीको साथमा रहेको उल्लेख गरेकी छिन्।

पीडित भनिएकी युवतीले आफूमाथिको हिंसापछि ‘डिप्रेस्ड’ भएको र आत्महत्याको प्रयाससमेत गरेको बताएकी थिइन। त्यसपछि श्रृंखलाले उनको केही दोष नगरेको र उनको साथमा आफूहरु रहेको बताएकी छिन्। श्रृंखलाले ती युवतीको आवाजले अन्य पीडितलाई बोल्ने साहस मिलेको भन्दै कानुनले न्याय दिनेमा आफू आशावादी रहेको समेत बताएकी छिन्। 

कानून व्यवसायी सरिता तिवारी लेख्छिन् ‘सुन्दरी प्रतियोगिता भन्ने कर्मकाण्ड कसरी देखाउने दाँत मात्रै हो र यसभित्र कति पत्रैपत्रका शोषण अन्तर्निहित छन्, कठोर विमर्श गर्नुपर्ने भयो। यस प्रसंगमा परम्परागत पितृसत्ता, पुँजिवादी पितृसत्ता र विचार र बौद्धिक पितृसत्ता सबैको निर्मम समीक्षा नगर्ने हो भने अब स्त्रीमुक्ति आन्दोलन या नारीवादी छलफल दुवै बुद्धिविलास मात्रै हुने कुरो स्वीकार गरौं। शोषणका सबै रुप र चरित्र चिनौं। महिलाको राजनीतिक सहभागिता र आर्थिक–सांस्कृतिक मुद्दाका उपरी बहसमा मात्रै होइन श्रम, देह, प्रजनन, यौन र यौनजन्य हिंसा लगायत हरेक विषयमा कठोरतापूर्वक सुक्ष्म र मुखर छलफल नगरी न नारीवादी हुन सम्भव छ न नारीमुक्ति आन्दोलनको कर्ता बन्न।’

सदीक्षा कार्कीले पीडित युवतीको तस्बिर सेयर गर्दै लेखेकी छिन् ‘प्रिय छोरी, तिमी कति पटक लुटियौ, कति पटक चुँडियौ, कति पटक मर्यौ या मरेर बाँच्यौ, यो समाजमा त्यसको हिसाब नखोज, किनकी मुख्य अपराधी तिमी नै हौ किनकी तिमी छोरी भएर जन्म्यौ, छोरी भएर बाँच्ने रहर गर्यौ, अझ ठूलो अपराध तिमीसँग योनी छ।’

यही केसलाई  लिएर पत्रकार समा थापा लेख्छिन् ‘श्रृंखलाबद्ध हिंसामा परे भनेर साहस जुटाएर बोल्दा किन, कसरी, पहिला किन नबोलेको? यसलाई किन नगुहारेको? यो त्यो भनेर प्रश्न तेर्साउनु अर्को हिंसा हो।’

सामाजिक सञ्जालमै अन्शु खनालले लेखेकी छिन् ‘कति लामो समयपछि कति हिम्मत गरेर एउटी केटीले आफूसँग भएका घटनाहरू सेयर गरेकी छन्। ता कि अरू कसैले यस्तो भोग्न नपरोस्, आवाज उठाउने वातावरण बनोस्। तर बिन्ती छ यो पटक पनि त्यहि बेला किन नभनेको, यत्रो वर्षपछि बोल्ने भन्ने जस्ता ननसेन्स कुरा गर्ने गल्ती नगरौँ।’

रुपा सुनार लेख्छिन् ‘हिंस्रकहरूको संरक्षण र पीडितको पीडा अन्देखा गर्नेहरूका कारण पनि हिंस्रकहरू दण्डित हुनुको साटो थप फैलिने अवसर पाएका छन्। महिला अधिकारकै भजन गाएर पेट पाल्ने तर वास्तविक पीडितको पक्षमा चुँइक्क नबोल्ने, परीआए घुमाईफिराई पीडककै संरक्षणमा लाग्ने प्रवृत्ति सबैभन्दा घातक प्रवृत्ति हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .