कला


कोभिडपछि स्टेजमा फर्किँदै नेपथ्य

कोभिडपछि स्टेजमा फर्किँदै नेपथ्य

नेपालखबर
चैत २४, २०७८ बिहिबार १५:३२, काठमाडौँ

कोरोना महामारीका कारण रोकिएका सांगीतिक कार्यक्रमहरुले बिस्तारै गति समात्न थालेका छन्। कोरोनापछि देशका कुनै पनि स्थानमा नदेखिएको नेपथ्य पनि सांगीतिक प्रस्तुती सहित स्टेज फर्किने तयारीमा छ।  

दुई वर्षको अन्तरालपछि स्टेज फर्किन लागेको नेपथ्यले पूर्वको उज्यालो सहर दमकबाट सांगीतिक यात्राको प्रारम्भ गर्ने भएको छ। 

नेपथ्यले आगामी वैशाख १ गते नयाँ वर्षको दिनबाट सांगीतिक यात्रा प्रारम्भ गर्न लागेको हो। दमकको ‘इँटाभट्टा स्कुल’ सरस्वती माध्यमिक विद्यालयको प्रांगणमा नेपथ्य फेरि एक पटक उभिने भएको छ। यसभन्दा पहिले पनि नेपथ्यले चार हजारभन्दा बढी दर्शकको उपस्थितिमा त्यसै मैदानमा सांगीतिक प्रस्तुती दिइसकेको छ।

नेपथ्यको सांगीतिक प्रस्तुतिका लागि अत्याधुनिक मञ्च बन्ने भएको छ।

‘संगीत प्रेमी दर्शकहरुका निम्ति हामीले यसपाला पनि नेपथ्यलाई उत्तिकै भब्यतापूर्वक उभ्याउने तयारी गरेका छौँ’, ब्यान्डको व्यवस्थापन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘नेपथ्यप्रेमीलाई नयाँपन महशुस गराउने थप जमर्को पनि हुनेछ।’

दुई वर्षपछि स्टेज फर्किन लागेका नेपथ्यका अगुवा अमृत गुरुङ भन्छन्, ‘यसबीच मैले लगभग सम्पूर्ण समय कास्कीको अनकन्टार डाँडामा रहेको आफ्नो गोठमा कृषक भएर बिताएँ। जटिल बन्दै गएको कृषि कर्ममा घोत्लिँदै जाँदा विनाश उन्मुख प्रकृति र संकटग्रस्त मानव जीवन बीचको सम्बन्ध अझ खुल्दै गए।’

नयाँ वर्षकै दिन दमकमा आयोजना हुने नेपथ्यको कन्सर्ट आफ्ना तितो विगतलाई बिसाएर नयाँ दिनको स्वागत गर्ने जमघटका रुपमा पनि महत्वपूर्ण हुने अमृतको विश्वास छ। उनका अनुसार कन्सर्टमा सदा झैँ नेपथ्यका सर्वकालीन हिट गीतहरू प्रस्तुत गर्नुका साथै केही नयाँ प्रस्तुतिको तयारी पनि अघि बढिरहेको छ।

कार्यक्रममा स्थानीय ‘नेपाली टच’ र ‘धुब्रतारा स्पोर्टिङ क्लब’ले सहयात्रा गर्ने भएको छ। यो कन्सर्टको टिकट बिक्रीका निम्ति दमकबाहेक काँकडभिट्टा, बिर्तामोड, उर्लाबारी, इटहरी, पथरी, लेटाङ, धरान, बिराटनगर, गौरादह र दुधेमा समेत विक्री केन्द्र राखिएका छन्।

स्थानीय आयोजकका अनुसार टिकटको मूल्य एक हजार रुपैयाँ राखिएको छ। अनलाइन टिकट को निम्ति  (लिंक) मार्फत व्यवस्था गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad