रोल्पाको रुण्टीगढी गाउँपालिकाले समग्र गाउँपालिकाकै परिचय झल्कने गीत ‘कुहिरोको घुम्टो ओडी’को म्युजिक भिडियो सार्वजनिक गरेको छ।
गीतलाई सोमबार एक कार्यक्रममा विमोचन गरिएको छ। गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले म्युजिक भिडियोको विमोचन गरेका हुन्।
गीतको म्युजिक भिडियोमा गाउँपालिका भित्रका पर्यटकीय स्थल, भेषभूषा, संस्कृतिका दृश्य समावेश गरिएको छ। म्युजिक भिडियोमा स्वर्गद्वारी महाप्रभुको जन्मस्थल रुण्टीगढीदेखि शिवपार्वती गुफालाई समेटिएको छ।
म्युजिक भिडियो सार्वजनिक गर्दै अध्यक्ष बुढाले रुण्टीगढी गाउँपालिकाकै चिनारीका लागि गीतको म्युजिक भिडियो निर्माण गरेको बताए। बुढाले भौतिक विकाससँगै मानवीय चेतनाको विकास पनि आवश्यक रहेको उल्लेख्य गर्दै गाउँपालिकाले निर्माण गरेको गीतले दीर्घकालीनरूपमा समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
गाउँपालिकाका पर्यटन फोकल पर्सन ध्रुवप्रकाश मल्लले लेखेको गीतमा बिबि अनुरागीले संगीत गरेका छन्। प्रवीण वेडवाल र रचना रिमालले गाएको गीतको म्युजिक भिडियोमा ध्रुव प्रकाश मल्ल, आरुसी मगर, लक्ष्मी थापालगायत कलाकारले अभिनय गरेका छन्।
Shares

प्रतिक्रिया