यस वर्ष ओस्कार अवार्ड विजेता हलिउड अभिनेता विल स्मिथ त्यही ओस्कार अवार्ड वितरण समारोहमा आफूले गरेको एउटा अभद्र व्यवहारका कारण पश्चातापको भुमरीमा परेका छन्। अर्थात् अवार्ड समारोहमा उद्घोषक रहेका हास्य कलाकार क्रिस रकलाई थप्पड हानेको घटनाले उलाई पलपल आत्मग्लानीले सताइरहेको छ।
घटनालगत्तै पुरस्कार थापेपछिको मन्तव्यमा सन्दर्भ उल्लेख नगरी क्षमा मागेका उनले पछि पनि सामाजिक सञ्जालमार्फत रकलाई सम्बोधन गरेर माफी मागेका थिए।
उनै अभिनेता विल स्मिथलाई अझै त्यो घटनाको पछुतो भावले छाडेको छैन। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनले पुनः त्यही घटनाप्रति पश्चाताप गर्दै एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेसबाट राजीनामा दिएका छन्।
‘९४औं संस्करणको ओस्कार अवार्डमा मेरो प्रतिक्रिया पीडादायी र अक्षम्य थियो’, विज्ञप्ति जारी गर्दै अभिनेता स्मिथले भनेका छन्, ‘मैले एकेडेमीको विश्वासलाई धोका दिएँ। मैले अन्य उम्मेदवार र विजेताहरूलाई उत्सव मनाउने अवसरबाट बञ्चित गरेँ।’
यस्तै उनले आगामी दिनमा त्यस्तो हिंसात्मक व्यवहार नगर्ने संकल्पसमेत व्यक्त गरेका छन्।
यसैबीच एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेसले स्मिथको निर्णय उचित भन्दै उनको राजीनामा स्वीकृत गरेको छ। साथै अनुशासनको कारबाही प्रक्रिया अगाडि बढाइएको पनि एकेडेमीले जनाएको छ।
गत शनिबार अमेरिकाको लस एन्जलसस्थित ओस्कार अवार्ड घोषणा समारोहमा प्रस्तोता क्रिस रकले उनकी पत्नीको मुडुलो टाउकोप्रति व्यंग्य गरेका थिए। त्यसपछि रिसाएर उठेका स्मिथले रकलाई स्टेजमै गएर दरिलो झापड लगाएका थिए।
याे पनि : थप्पड काण्ड : ‘विल स्मिथलाई पक्रिन प्रहरी तयार भइसकेको थियो’
Shares

प्रतिक्रिया