‘कमेडी च्याम्पियन’को पहिलो सिजनका विजेता हिमेश पन्त उपाधिपछि कामविहीन भएका थिए। देशकै सबैभन्दा ठूलो रियालिटी शोको उपाधि जितेका हिमेशले बेलाबेला आफूले काम नपाएको गुनासो गर्दै आएका थिए।
उपाधि जितेसँगै सुरु भएको कोरोना महामारीका कारण देश तथा विदेशका कार्यक्रम बन्द भए। कोरोना महामारी पनि फाट्टफुट्ट कार्यक्रम सुरु हुँदा कमेडी च्याम्पियनको अर्को सिजन सम्पन्न भइसकेको थियो। त्यसैले पनि हिमेश कार्यक्रमहरुमा व्यस्त हुन पाएनन्।
कमेडीबाट राहत नपाएका हिमेशले फिल्मबाट भने राहत पाउने देखिएको छ। उनी एकै साता दुई फिल्ममा अनुबन्धित भएका छन्। मिलन चाम्सको निर्देशनमा बन्न लागेको ‘वर एण्ड वधु’मा अनुबन्धित भएका छन्। फिल्ममा उनी कस्तो भूमिकामा देखिने हुन् त्यो भने खुलाइएको छैन।
यस्तै अर्को चलचित्र ‘शमशेर’मा पनि हिमेशले काम गर्ने पक्का भएको छ। यो चलचित्रमा अभिनेता मनिष राउत र गौरव पहारीले पनि शीर्ष भूमिकामा रहेर अभिनय गर्ने छन्। हाल यो चलचित्रको शिर्ष भूमिकामा रहेर अभिनय गर्ने अभिनेत्रीको खोजी भइरहेको निर्माण टिमले जनाएको छ ।
एक्सन जनरामा निर्माण हुने यो चलचित्रमा एभरेष्ट फिल्म एकेडेमी र डी आर डेनिमको ब्यानरको लगानी रहनेछ । यो चलचित्रमा हिमेशसँगै कमेडी च्याम्पियनको पहिलो सिजनकै उप–विजेता सुमन कोइरालाले पनि अभिनय गर्ने छन्।
Shares

प्रतिक्रिया