कला


अनि राजेश हमालले गाए आममान्छेको कथा बोकेको ‘गाउँले ठिटो’

अनि राजेश हमालले गाए आममान्छेको कथा बोकेको ‘गाउँले ठिटो’

नेपालखबर
फागुन २९, २०७८ आइतबार १४:४८, काठमाडौँ

कथाले मागेको चरित्र अनुसार चलचित्रको पर्दामा अभिनय गर्दा गर्दै राजेश हमालको अनुहारको रंग फेरियो। जीवनको लय फेरियो। चेतना फेरियो। यही बाटोमा उनका रहर पनि फेरिए, उमेरसँगै छुटे। त्यही छुटेको एउटा रहर हो– गायन।

जीवनको कुनै कालखण्डमा छुटेका तर अन्तरहृदयमा लुकेर बसेका रहरले कुनै दिन लय समात्छ भन्ने कुराको बलियो प्रमाण पनि हो हमालको गायन मोह। 

हमालले गत भदौताका ‘मन बुढो भएन’ बोलको गीत गाए। उनले एकदिन संगीतकार दीपक शर्मासँग भनेका थिए, ‘मेरो उमेर सुहाउँदो गीत गाउने इच्छा छ।’ 

शर्माले त्यसपछि तयार पारेका हुन्, ‘मन बुढो भएन’ बोलको गीत। गीतमा हमाललाई गायनमा पछिल्लो समयका गायिका एलिना चौहान र बेनिशा पौडेलले साथ दिए। 

गत साता हमालको एकल स्वरको पहिलो गीत सार्वजनिक भयो। गीत गाएको समयदेखि नै हमालको बुढेसकालको रहर भनेर टिप्पणी गर्नेहरु प्रशस्तै थिए। 

हमालले टिप्पणीहरूमा खासै ध्यान दिएनन्। सामाजिक सञ्जालमा आएका कुरामा हमाल हम्मेसि प्रतिक्रिया दिँदैनन्।

गीत-संगीतको रस पुरानै रहेछ। उनी भन्छन्, ‘स्कुल पढ्दा म धेरै धेरै गाउँथे।’ स्कुल पढ्दा उनका गुरु थिए वरिष्ठ संगीतकार गोपाल योञ्जन। गोपाल योञ्जन हमाललाई अगाडि बोलाएर गीत गाउन लगाइरहन्थे। बारम्बार उनको स्वरको प्रशंसा गर्थे। गुरुले गरेको प्रशंसाबाट हमाल गमक्क पर्थे, हौसिँदै हरेक दिन नयाँ गीत सुनाउँथे। 

यो क्रम लामो समय टिक्न सकेन। उमेर बढ्दै जाँदा उनको सुरिलो स्वर धोद्रो हुँदै गयो। तिम्रो स्वर राम्रो भन्ने साथी पातलिँदै गए। हमाल आफैंलाई आफ्नो स्वर मन पर्न छाड्यो। त्यसपछि छोडेको गायनको सुर समातेर गीत गाउन उनलाई यो समय पनि मुस्किल भयो। 

हमाललाई फिल्ममा जस्तै आमनेपालीको कथा बोकेको गीत गाउने रहर थियो। हमालको स्वरमा गीत रेकर्ड गराउने रहर बोकेर उनको घरमा पुगेका गीतकार गोविन्द भट्टलाई ‘गीतमा आम मानिसको कथा लेख्नु’ भनेर हमालले फर्काए। गीत बोकेर गएपछि  पनि सम्पादन गर्न लगाए। 

एकदिन संगीतकार सन्तोष श्रेष्ठ हार्मोनियम बोकेर उनको घरमा पुगे। सन्तोषसँग बसेर हमालले केही समय रियाज गरे। यो हमालका लागि नौलो अनुभव थियो। 

हमालले कयौँ पटक पर्दामा गीत पनि गाए, हार्मोनियम पनि समाए। वास्तविक जीवनमा भने उनी पहिलो पटक हार्मोनियममा संगीतकारले निकालेको सुरअनुसार लय समात्ने प्रयत्नमा थिए।
भन्छन् ‘यो काम मेरो लागि नौलो थियो। सन्तोषजीले बच्चालाई औषधि खुवाए जसरी संगीतको सुर पिलाउनु भयो। मुस्किलले सुर समातेर गीत गाएको हुँ।’

हमालले यो गीतका लागि सन्तोषसँग मात्रै रियाज गरेनन्, स्टुडियोमा पनि अभ्यास गरे। गीतमा फाइनल भोकल दिएर फर्किएका हमाललाई एकदिन श्रीमती मधु भट्टराईले सोधिन्, ‘गायनको सुरुवात कसरी उठाउनु भएको?’ श्रीमतीको प्रश्नले गिजोलिएका हमालले गीत पुनः रि–रेकर्ड गराउने सोच बनाए। उनी भोलिपल्टै गीत रि–रेकर्ड गराउन गए। संयोग गीत पहिलाको भन्दा राम्रो सुनियो। ‘गाउँले ठिटो’ बोलको उक्त गीत गाएपछि आममान्छेको कथा बोकेको गीत गाउने रहर पूरा भयो। 

दुई युगल गायन र एउटा सोलो गाएका हमालले बाल्यकालबाट मनमा छिपेर बसेको एउटा रहर पुरा गरेका हुन्। उनले गायनमा अरु ठूलो सपना केही देखेका छैनन्। 

जिन्दगीको ऊर्जावान समय चलचित्रको पर्दामा बिताएका हमालको आगामी सपना भने चलचित्रसँगै गाँसिएको छ। उनी चलचित्र निर्देशकका रुपमा पर्दामा देखिने तयारीमा छन्। तर कहिले त? उनीसँग पनि ठ्याक्कै यही समय भन्ने जवाफ छैन। भन्छन्, ‘समयअनुकुल भए छिट्टै आउने छु।’ 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad