संगीतकार महेश खड्काले संगीत चोरेको भनेर आफूमाथि लागेकाे आरोप निराधार रहेको बताएका छन्।
शुक्रवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा संगीतकार खड्काले संगीत चोरी गरेको भनेर संगीतकार वसन्त सापकोटाले आफूमाथि लगाएको आरोप निराधार रहेको बताएका हुन्।
उनले बौद्धिक सम्पतिको चोरीको विषयमा कानूनी उपचार खोज्ने धेरै कानूनी उपाय छोडेर संगीतकार सापकोटाले मिडियाबाजी गरेर आफ्नो प्रतिष्ठामा आँच पुर्याएको आरोप लगाए।
गायक प्रमोद खरेल र बाल गायिका रुक्साना लिम्बूले गाएको ‘नोगेन’ बोलको गीतको संगीत केही अंश चोरेको आरोप अर्का संगीतकार वसन्त सापकोटाले लगाएका छन्।
संगीतकार सापकोटाले आफूले संगीत भरेको नेपाली चलचित्र ‘सिलसिला’को सागरसरी चोखो माया भन्ने गीतको धेरै अंश चोरी भएको एक सार्वजनिक कार्यक्रममा आरोप लगाएपछि संगीतकार खड्काले प्रमाणित गरेर देखाउन चुनौती दिए।
सार्वजनिक आरोप प्रत्यारोपमा उत्रिएका दुवै संगीतकार महेश खड्का र बसन्त सापकोटा आफ्नो प्रतिलिपि अधिकारको लागि कानूनी उपचारमा भने गएका छैनन्।
पछिल्लो समय नेपाली गीत संगीत र शब्द चोरीको आरोप प्रत्यारोपको शिलशिला चलेको छ। केही दिन अघि गायिका रचना रिमालले अन्जु पन्तले गाएको गीत ‘न बिर्सें तिमीलाई, न पाएँ तिमीलाई’ गाएपछि गायिका रिमाल विवादमा आएकी थिइन्। यस्तै, गायक दुर्गेश थापा ‘पैसा’ नामको गीतमा प्रयोग भएको शब्दको कारण निकै आलोचित बन्नुपरेको थियो।
Shares

प्रतिक्रिया