गायक, संगीतकारलगायत धेरै जना कलाकारले अमेरिकामा गायक राजेश पायल राईलाई गरिएको आक्रमणको विरोध गरेका छन्। आक्रमणकारीलाई सार्वजनिक गर्न माग गरेका छन्।
नयाँ वर्ष सन् २०२२ सुरु भएको उपलक्ष्यमा गत शनिबार न्युयोर्कमा आयोजित सांगीतिक कार्यक्रममा गीत गाइरहेकै बेला राईलाई एक व्यक्तिले एक्कासि पछाडिबाट गर्धन समात्दै पछार्ने प्रयास गरेका थिए। तर दर्शकको सक्रियताले थप केही हुन पाएन।
आयोजकको कमजोरीका कारण गायक राईलाई स्टेजमै दुर्व्यवहार भएकाे भन्दै कलाकारले घटनाकाे निन्दा गरेका छन्।
गायक प्रमोद खरेलले आइतबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘कार्यक्रम व्यवस्थापनको कमजोरी त देखियो नै, तर हामी नेपाली समुदायका भेला, गोष्ठी, कार्यक्रममाथि नै प्रश्न उठ्नसक्ने यस्ता घटनाले पक्कै पनि राम्रो सन्देश दिँदैन।’
यस्तै हास्य कलाकार केदार घिमिरे, लोक तथा दोहोरी गायक प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले घटनाप्रति खेद व्यक्त गरेका छन्। बिजीले घटनाको सत्यतथ्य बाहिर ल्याउन आयोजकसँग मागसमेत गरेका छन्।
यसैगरी लोकगायक विमल डाँगीले गीत गाइरहेकै बेला स्टेजमै गायकलाई हातपात हुनु आयोजकको कमजोरी भएको भन्दै आक्रोश व्यक्त गरेका छन्। उनले पनि आक्रमणकारी व्यक्तिलाई सार्वजनिक गर्न माग गरेका छन्।
यसैगरी कलाकार उमेश राई ‘फुलन्देकी आमा’, गायक तथा संगीतकार थानेश्वर गौतमलगायत अन्य थुप्रै कलाकारले गायक राईलाई अमेरिकामा भएको दुर्व्यवहारकाे भर्त्सना गरेका छन्।
लोकदोहोरी गायक तथा अन्तर्राष्ट्रिय कलाकार मञ्च (अमेरिका) का अध्यक्ष रामप्रसाद खनालले भने ती व्यक्ति गायक राईकै फ्यान भएकाे बताएका छन्।
उनले भनेका छन्, ‘मैले थाहा पाए र बुझेअनुसार दुर्व्यवहार गर्ने व्यक्ति फ्यान हुन्। सम्मान जनाउन जाँदा अपमानजनक व्यवहार भयो।’
किन भयो गायक राईलाई आक्रमण?
नयाँ वर्ष सन् २०२२ सुरु भएको दिन नेपाली समयानुसार गत शनिबार दिउँसो १२ बजेतिर गायक राजेश पायल राई अमेरिकाको न्युयोर्कमा आयोजित कन्सर्टमा गीत गाइरहेका थिए। दर्शक झुमिरहेका थिए।
त्यही बेला कालो सर्ट र पाइन्ट लगाएका एक अधबैंसे नेपाली एक्कासि स्टेजमा उक्लिए। र, पछाडिबाट गायक राईको गर्धन समात्दै घोक्र्याउन थाले। राईले आफूलाई लड्नबाट जोगाउने प्रयास गरे। अनि दर्शकहरू आएर ती व्यक्तिलाई छुटाएपछि थप हातपात हुनबाट जोगिए।
बुद्ध ट्याक्स एन्ड एकाउन्टिङ नेपाल अमेरिकन कम्युनिटीको आयोजनामा भएको त्यस कार्यक्रममा गायक राईलाई गरिएको आक्रमणको भिडिओ सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमसम्म भाइरल भएको थियो।
आयोजकका अनुसार गायक राईलाई झम्टिने व्यक्ति सोलुखुम्बु खरिखोलवाका पासाङ दावा शेर्पा हुन्। हाल उनी न्युयोर्कमै एक रेस्टुरेन्टमा काम गर्छन्।
उनी मानसिक रोगी भएकाले आफूविरुद्ध आक्रमण गरेको गायक राईले बताएका छन्। गायक राईले उक्त घटना नियोजित नभएर भावावेगका कारण भएको ठानेका छन्। उनका भनाइमा आक्रमणकारी व्यक्ति प्रेममा धोका खाएर विक्षिप्त रहेकाले आफूले गीत गाएपछि भावनामा बगेर गायक राईलाई समात्न पुगेका हुन्।
गायक राईलाई ती व्यक्तिले त्यतिबेला आक्रमण गरेका थिए, जतिबेला उनी ‘अन्जानैमा भूल भयो कि’ भन्ने अन्तरा गाउँदै थिए।
घटनापछि राईले दर्शकलाई निराश हुन दिएनन्। उनले स्टेजमै सम्बोधन गर्दै आफू कहिल्यै हार्न र भाग्न नजानेको व्यक्ति भएकाे बताए। उनले भने, ‘म त्यो देशको माटोले जन्माएको व्यक्ति हो। जुन देशको माटो छुँदा पनि स्वर्ग पुगेको अनुभूति हुन्छ। त्यो देश हो नेपाल।’
Shares

प्रतिक्रिया